भीरबाट टेम्पो खसालेको आरोपमा १२ जना पक्राउ


काठमाडौं । भीरबाट टेम्पो खसाल्ने १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वन कार्यलय कैलालीका कर्मचारीले गोदावरीमा एउटा टेम्पो धकेलेर भीरबाट खसालका थिए । सो दृश्य सामाजिक सञ्जालमा भाइरल छ ।

घटना शनिबारको हो । गोदावरी–४ को गाईमारे क्षेत्रमा बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरूले भीरबाट धकेलेर खसालिदिएका थिए । धामीले घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडास्थित सडक छेउमा टेम्पोमा सामान लिएर बेच्ने गर्थिन् ।

तर चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा उनको टेम्पो भीरबाट खसालियो । डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरुले उनीमाथि पनि वन अतिक्रमण गर्ने गरेको दाबी गर्दै टेम्पो भीरबाट खसालिदिए ।

सो भिडियो सामाजिक संजालमा भाइरल भयो । भिडियो सार्वजनिक भएपछि सर्वसाधारणदेखि सांसदहरूसम्मले घटनामा वन कर्मचारीहरूको व्यवहारको आलोचना गरे ।

चौतर्फी आलोचना भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले १२ कर्मचारीलाई नियन्त्रणमा लिएको हो ।

घटनाबारे आवश्यक सोधपुछका लागि डिभिजन वन कार्यालय कैलाली र सब–डिभिजन वन कार्यालय अत्तरियाका ११ कर्मचारीलाई बोलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

वन कार्यालयले भने सो टेम्पो वन तथा राजमार्ग क्षेत्र अतिक्रमण गरेर राखिएको र पटक–पटक हटाउन आग्रह गरिए पनि अटेर गरेपछि अतिक्रमण हटाउने अभियानका क्रममा हटाइएको जनाएको छ ।

डिभिजन वन कार्यालय कैलालीले घटनापछि विज्ञप्ति जारी गर्दै कर्मचारीहरूले जानाजान वा नियोजित रूपमा टेम्पोलाई भीरबाट नखसालेको स्पष्टीकरण दिएको थियो । कार्यालयका अनुसार सामाजिक सञ्जालमा प्रचार भएजस्तो बल प्रयोग गरेर नष्ट गर्ने उद्देश्य थिएन ।

उता टेम्पो धनि धामीले भने वन कर्मचारीहरूले आफ्नो जीविकोपार्जनको माध्यम बलपूर्वक नष्ट गरेको आरोप लगाएकी छन् । उनले कानुनी प्रक्रिया पूरा नगरी आफ्नो सम्पत्ति क्षति पुर्‍याइएको भन्दै न्यायको माग गरेकी छन् ।