
एजेन्सी । मेटाले आफ्नो भिडियो सम्पादन एप ‘एडिट्स’मा महत्वपूर्ण अपडेटहरूको घोषणा गर्दै यसलाई अझ शक्तिशाली बनाउने तयारी गरेको छ।
मेटाले यस एपको डेस्कटप संस्करण र नयाँ एआई असिस्टेन्ट सार्वजनिक गर्ने जानकारी दिएको हो।
गत वर्ष टिकटकको ‘क्यापकट’ सँग प्रतिस्पर्धा गर्न ल्याइएको यो एपलाई मेटाले अझ सशक्त बनाउँदै सिर्जनाकर्ताहरूलाई इन्स्टाग्राम र फेसबुकमै टिकाइराख्ने रणनीति लिएको देखिन्छ।
एपमा थपिने नयाँ एआई असिस्टेन्टले सिर्जनाकर्ताहरूलाई उनीहरूको सामग्रीको प्रभावकारिता बुझ्न र नयाँ कन्टेन्ट आइडियाहरू सोच्न मद्दत गर्नेछ।
यसले इन्स्टाग्रामको डेटा, जस्तै भिडियो भ्युज र दर्शकहरूले कति समयसम्म भिडियो हेरे भन्ने कुराको विश्लेषण गरेर कुन सामग्रीले राम्रो काम गरिरहेको छ भन्ने जानकारी दिनेछ। साथै, यसले ट्रेन्डिङ अडियो र भिडियोका नयाँ आइडियाहरू पनि सुझाउनेछ। यस प्रकारको एआई एकीकृत भएपछि सिर्जनाकर्ताहरूले कन्टेन्ट आइडियाका लागि च्याटजीपीटी जस्ता बाहिरी टुलहरू प्रयोग गरिरहनु पर्ने छैन।
त्यस्तै, मेटाले ‘एडिट्स’ को डेस्कटप संस्करण ल्याएर प्रयोगकर्ताहरूलाई ठूलो स्क्रिनमा भिडियो सम्पादन गर्ने सुविधा प्रदान गर्ने भएको छ। यसले जटिल भिडियो सम्पादनमा थप सटिकता र नियन्त्रण प्रदान गर्नेछ।
प्रयोगकर्ताहरूले आफ्नो मोबाइल र डेस्कटपका कामहरू सहजै सिंक गर्न सक्नेछन्। यो कदमले क्यापकटसँगको प्रतिस्पर्धालाई अझ तीव्र बनाउने अपेक्षा गरिएको छ, किनभने क्यापकटको डेस्कटप संस्करण पहिलेदेखि नै बजारमा लोकप्रिय छ।
यी आगामी फिचरका अतिरिक्त मेटाले केही दिन अघिदेखि नै केही नयाँ सुविधाहरू पनि सार्वजनिक गरेको छ। जसमा ‘बेटा ट्याब’ प्रमुख रहेको छ, जसले प्रयोगकर्तालाई विकासको चरणमा रहेका नयाँ सुविधाहरू पहिले नै चलाउन र प्रतिक्रिया दिन अनुमति दिनेछ।
यसका साथै, सिर्जनाकर्ताहरूले अब आफ्नो दर्शकहरूको विस्तृत विवरण र उनीहरू कुन समयमा सबैभन्दा बढी सक्रिय हुन्छन् भन्ने जस्ता महत्वपूर्ण तथ्याङ्कहरू पनि हेर्न पाउनेछन्।
प्रयोगकर्ताको सहजताका लागि एपभित्रै निश्चित विषयहरू खोजेर अन्य सिर्जनाकर्ताहरूले बनाएका ट्रेन्डिङ रिल्स र टेम्प्लेटहरू पत्ता लगाउने सुविधा पनि थपिएको छ। अब सिर्जनाकर्ताहरूले एउटै भिडियोका विभिन्न संस्करणहरू बनाएर कुनले राम्रो प्रदर्शन गर्छ भनेर जाँच्न पनि सक्नेछन्।
मेटाका अनुसार ‘एडिट्स’ एप प्रयोग गरेर बनाइएका भिडियोहरू अन्यको तुलनामा १० प्रतिशत बढी ‘सेभ’ र २ प्रतिशत बढी ‘रिसेयर’ हुने गरेका छन्, जसले गर्दा यस एपको प्रयोगले प्रयोगकर्ताको संलग्नता बढ्ने देखिएको छ।
हाल एआई असिस्टेन्ट र डेस्कटप संस्करण परीक्षणकै क्रममा रहे तापनि अन्य सुविधाहरू विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ। आईओएस र एन्ड्रोइडमा निःशुल्क उपलब्ध यो एपमार्फत मेटाले टिकटक र युट्युबसँगको प्रतिस्पर्धालाई थप उचाइमा पुर्याउने लक्ष्य राखेको छ।









प्रतिक्रिया