जीप दुर्घटना हुँदा फास्ट् ट्रयाकमा कार्यरत इन्जिनियरको मृत्यु

49
Shares

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु भएको छ ।

काठमाडौं दक्षिणकालीबाट करिब ३५ किलामिटर दक्षिण मकवानपुरको माण्डु हाइड्रोपावरबाट इपातर्फ जाँदै गरेको सवारी दुर्घटना हुँदा निजगढ–काठमाडौं द्रुतमार्गमा कार्यरत इन्जिनियर सूर्य यादव र सवारी चालक बोधराज बुढाथोकीको निधन भएको हो ।

जीप अनियन्त्रित भई सडकबाट करिब १०० फिट तल खस्दा त्यसमा सवार बारा जिल्ला पचरौता नपा–७ का इन्जिनियर यादव र सिन्धुली जिल्ला कमलामाई नपा–९ का चालक बुढाथोकीको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रहरीका अनुसार जीप दुर्घटना भएको जानकारी पाउनासाथ निजगढ–काठमाडौँ द्रुतमार्गको बेस क्याम्पमा खटिएका नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएमा चिकित्सकले दुवै जनाको मृत्युको घोषणा गरेको हो ।