
काठमाडौं । अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले आर्थिक विधेयकमा भएका केही प्राविधिक त्रुटिहरूलाई सच्याउने कामलाई अनावश्यक रूपमा विवादित बनाइएको बताएका छन् । संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले भन्सार दरमा देखिएका केही व्यावहारिक र प्राविधिक त्रुटीलाई सच्याउनु कुनै ‘राजद्रोह’ वा ‘देशद्रोह’ नभएको बताए ।
भन्सार दरमा भएको परिवर्तनका बारेमा स्पष्ट पार्दै डा. वाग्लेले प्लास्टिक वा कपडाले बेरिएको सुड्केसमा ३० प्रतिशत भन्सार रहेको भ्याक्सिन र रगत बोक्ने क्यारियर पनि त्यही क्याटगोरीमा परेका रहेको बताए । भ्याक्सिन र रगत बोक्ने जस्तो संवेदनशील सामग्रीको भन्सार घटाएर १५ प्रतिशत बनाउँदा प्राविधिक कारणले सुड्केसको पनि घटेको भन्दै त्यो त्रुटि सच्याएर पहिलेकै विन्दुमा पुर्याउन मात्र खोजिएको बताए । ‘आर्थिक विधेयकका सामान्य त्रुटीलाई सच्याउँदा ‘तिललाई पहाड बनाएर’ मेरो छवि धुमिल्याउन खोजिएको छ । यसमा खेद व्यक्त गर्दछु,’ अर्थमन्त्री वाग्लेले भने ।
विद्युतीय गाडीको करका सम्बन्धमा बोल्दै उनले ५० लाख रुपैयाँसम्मका गाडीलाई मध्यमवर्गीय र युवाहरूले प्रयोग गर्ने साधनका रूपमा हेरिनुपर्ने बताए । क्लिन इनर्जीको खपत बढाउन ५० लाखसम्मका ईभीलाई विलासी नमान्ने र मूल्य नबढ्ने गरी कर निर्धारण गरिएको उनको दाबी छ।
‘भ्याट १३ प्रतिशत र सबै विद्युतीय गाडीमा भन्सार समग्रमा २० प्रतिशत कायम गर्दा सडक निर्माण दस्तुरमा भने ५० लाखसम्मको इभीको मूल्य नबढोस् भनेर सडक निर्माण दस्तुरलाई केही घटाइएको हो,’ अर्थमन्त्ती वाग्लेले भने, ‘५० लाखसम्म बिक्री मूल्य हुने र भन्सारमा २० लाखसम्म विजक मूल्य भएका ईभीको सडक निर्माण दस्तुर ५ प्रतिशतलाई २.५ प्रतिशत गरौं भनेर छुटेको फुटनोट थपिएको मात्र हो । ईभीलाई सस्तो र सुलभ बनाउनकै लागि यो सच्याइएको हो ।’ मन्त्रालयमा बजेट निर्माणका क्रममा छलफल भएर छुटेको फुटनोटलाई सच्याइएको उनले बताए ।
अर्थ मन्त्रालयको नेतृत्वको हैसियतले कर्मचारीबाट भएका प्राविधिक त्रुटिको जिम्मेवारी आफूले लिने भन्दै डा. वाग्लेले जेठ १७ गते नै यी विषयहरू आर्थिक विधेयकमा सच्याएर संसद् सचिवालयमा पठाइ सकिएको बताए । ‘मैले संसद्लाई जानकारी दिएपछि मात्रै यो विषय सार्वजनिक भएको हो, तर, पत्रपत्रिकाले यसलाई अतिरञ्जित गरेर अर्थमन्त्रीले पटक–पटक विधेयक संशोधन गरिरहेको भन्दै भ्रम छरे,’ उनले भने ।









प्रतिक्रिया