
काठमाडौं । मार्शल आर्टद्वारा एकता, चलचित्रको उज्यालोद्वारा सम्बन्ध भन्ने मूल नाराका साथ काठमाडौंमा ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ सुरु भएको छ।
चिनियाँ परम्परागत मार्सल आर्ट (वुसिया) संस्कृति र आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिलाई जोड्ने उद्देश्यले आयोजित यो प्रदर्शनीले नेपाल र चीनका चलचित्रकर्मी तथा विद्यार्थीबीच अन्तरसांस्कृतिक संवादको नयाँ ढोका खोलेको छ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सँगको सहकार्यमा आयोजित यस कार्यक्रममा एआई फिल्म कार्यशाला विशेष आकर्षणको रूपमा रह्यो। चाइना मिडिया ग्रुपका एआईजीसी अनुसन्धानकर्ता पिटर प्यानले कार्यशालामा एआईमार्फत स्थिर तस्बिरलाई जीवन्त भिडियोमा रूपान्तरण गर्ने प्रक्रियाबारे प्रशिक्षण दिएका थिए। सो अवसरमा एआई चलचित्र परियोजना लियाओ झाइ २०७९ को ट्रेलरमार्फत प्रविधिले परम्परागत कथावाचनलाई कसरी नयाँ जीवन दिन सक्छ भन्ने देखाइएको थियो।
प्रदर्शनीमा चीन, नेपाल र भारतका सांस्कृतिक तत्वहरू समेटिएको एआई एनिमेटेड भिडियो समेत प्रस्तुत गरियो। छलफलका क्रममा दुवै देशका चलचित्रविद्हरूले विश्वव्यापीकरणको युगमा परम्परागत सौन्दर्यलाई आधुनिक प्रविधिमार्फत विश्वबजारमा लैजाने सम्भावनाबारे विचार आदानप्रदान गरे।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष चिनियाँ वुसिया चलचित्र “ब्लेड्स अफ द गार्डियन्स : विन्ड राइजेस इन द डेजर्ट” को प्रदर्शन रह्यो। मरुभूमिको कठिन यात्रा र वीरताको कथामा आधारित यस चलचित्रले दर्शकलाई मन्त्रमुग्ध पारेको थियो।
चलचित्र प्रदर्शनपछि आयोजित ‘निर्मातासँग संवाद’ कार्यक्रममा निर्माता लिउ दीले मरुभूमिमा गरिएका छायाङ्कन, मोसन क्याप्चर र भर्चुअल उत्पादन प्रविधिको नवीन प्रयोगबारे जानकारी दिए।
त्रिभुवन विश्वविद्यालय परिसरमा आयोजित यस प्रदर्शनीमा विद्यार्थी र प्राध्यापकहरूको ठूलो उपस्थिति थियो। कार्यक्रमस्थलमा आयोजित ‘वुसिया फेयर’ ले सहभागीहरूलाई चिनियाँ मार्सल आर्ट्सका सामग्री र सांस्कृतिक उत्पादनहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने अवसर प्रदान गरेको थियो।
सहभागी विद्यार्थी तथा चलचित्रकर्मीहरूले चिनियाँ चलचित्रमा प्रयोग गरिएको आधुनिक इमेजिङ प्रविधि र परम्परागत मूल्यको संयोजन नेपाली कथावाचनका लागि समेत प्रेरणादायी हुने प्रतिक्रिया दिएका छन्। यो प्रदर्शनी केवल चलचित्र प्रदर्शनमा मात्र सीमित नभई दुई देशबीचको मित्रता र वैचारिक आदानप्रदानको एउटा बलियो कडी बनेको छ।









प्रतिक्रिया