काब्रा ग्रुपको फर्माकेमले एकै वर्ष गर्‍यो साढे ४ अर्ब रुपैयाँको कारोबार

133
Shares

काठमाडौं । फर्माकेम प्रालिले एकै वर्ष साढे ४ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ४६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।

सन् २०२४ मा ४ अर्ब ८ करोड १० लाख रुपैयाँ व्यापार गरेको कम्पनीले सन् २०२३ मा ३ अर्ब ६३ करोड ९० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब २० करोड १० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ७७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो।

कम्पनीको कारोबार सन् २०२४ को तुलनामा गत आवमा ९ प्रतिशतले वृद्धि भएको छ । सन् १९८८ मा स्थापना भएको यस कम्पनीले विभिन्न प्रकारका औषधि आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले जेनेरिक तथा दीर्घकालीन रोगसम्बन्धी औषधिहरूको कारोबार गर्दै आएको हो ।

कम्पनीले मुख्य रूपमा भारतका उत्पादक तथा आपूर्तिकर्ताहरूबाट औषधि खरिद गरी आफ्नो डिलर तथा वितरकहरूको सञ्जालमार्फत नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

हरिनारायण काब्राको ५० प्रतिशत, राजेन्द्रकुमार काब्राको ४९ प्रतिशत र आत्माराम काब्राको १ प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ७६ करोड रुपैयाँको रेटिङ गराएको छ ।