शेखर गोल्छाको बयान: हिमालयन रिको रकम दुरुपयोगमा संलग्न छैन, मैले कुनै लाभ लिएको छैन

392
Shares

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सबाट भृकुटी स्टक ब्रोकिङ कम्पनी (ब्रोकर नं. ५५) लाई दिइएको अर्बौं रुपैयाँको अनाधिकृत पेश्की र त्यसको दुरुपयोगका सम्बन्धमा कम्पनीका तत्कालीन सञ्चालक समिति अध्यक्ष शेखर गोल्छाले आफ्नो बचाउ गर्दै बयान दिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई गोल्छाले दिएको बयानअनुसार उनले उक्त विवादास्पद लगानीमा आफ्नो संलग्नता नरहेको र सम्पूर्ण जिम्मेवारी कम्पनीको व्यवस्थापन तथा सम्बन्धित समितिको हुने बताएका हुन् ।

हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको २०८२ माघ २५ सम्मको विवरण अनुसार भृकुटी स्टक ब्रोकिङ कम्पनीबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ ३ पैसा असुल गर्न बाँकी देखिएको छ ।

उक्त रकम ब्रोकरमार्फत सेटलमेन्ट खातामा पठाई दीपक भट्ट लगायतका व्यक्तिको नाममा सेयर खरिद गर्न प्रयोग गरिएको खुलेको छ । यस विषयमा गोल्छाले आफूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बयान दिने क्रममा मात्र यस्तो विवरण थाहा भएको दाबी गरेका छन् ।

गोल्छाले बयानका क्रममा आफू कार्यकारी अध्यक्ष नभई बोर्डको अध्यक्षता मात्र गर्ने सञ्चालक रहेको जिकिर गरेका छन् । उनले भनेका छन्, ‘अग्रिम पेश्की दिने सम्बन्धमा इन्भेस्टमेन्ट, रिस्क म्यानेजमेन्ट एन्ड फाइनान्सियल सोल्भेन्सी कमिटी’ले निर्णय गर्ने गर्दछ । यस समितिले गरेका कुनै पनि निर्णय मसमक्ष पेस भएका छैनन् ।’

उनले कम्पनीको दैनिक प्रशासन, व्यवस्थापन र कानुनी परिपालनाको पूर्णजिम्मेवारी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल र विभागीय प्रमुखहरूको हुने उल्लेख गरेका छन् । आफू दैनिक प्रशासनमा संलग्न नहुने भएकाले व्यवस्थापनले कानुन विपरीत काम गर्दैन भन्ने विश्वासमा रहेको उनको भनाइ छ ।

अनुसन्धानका क्रममा सञ्चालक समितिको ७९औं बैठक २०८२ पुस २० को निर्णयमा गरिएको दस्तखत गोल्छाले आफ्नै भएको स्वीकार गरेका छन् । तर, उक्त बैठकमा विगतमा जस्तै लगानी समितिले गरेका कार्यहरूलाई विश्वासका आधारमा एकमुष्ट अनुमोदन गरिएको उनले स्पष्ट पारेका छन् ।

‘बैठक पश्चात् मात्र लगानी समितिले लगानी गरेको रकम उठ्न बाँकी रहेको थाहा भयो, त्यसलगत्तै सञ्चालक समितिले उक्त रकम उठाउन व्यवस्थापनलाई लिखित निर्देशन दिएको हो,’ प्रहरीसँगको बयानमा गोल्छाले भनेका छन् ।

गोल्छाले उक्त रकम ब्रोकरलाई प्रयोग गर्न दिएबापत आफू, आफ्नो परिवार वा आफ्नो स्वामित्वमा रहेका कुनै पनि कम्पनीले कुनै किसिमको लाभ नलिएको दाबी गरेका छन् । हिमालयन रि-इन्स्योरेन्समा आफ्नो व्यक्तिगत सेयर नरहेको र लगानी रहेको कम्पनीको करिब २ प्रतिशत मात्र सेयर रहेको उनले खुलाएका छन् ।

ब्रोकर कम्पनीले प्रयोग गरेको उक्त ठूलो राशीको साँवा र ब्याजसहित फिर्ता पाउनुपर्ने गोल्छाको अडान छ । करिब दुई महिना अगाडि मात्र अध्यक्ष पदबाट राजीनामा दिएका गोल्छाले व्यावसायिक र दक्ष व्यवस्थापन टोलीले गरेको काममा बोर्डले भरोसा गरेको तर पछि मात्र गडबडी थाहा पाएको उल्लेख गरेका छन् ।

यस विषयमा अनुसन्धान गर्न प्रहरीले गत बैशाख १० गते गोल्छालाई पक्राउ गरेको थियो । सर्वोच्च अदालतको परमादेशपछि गोल्छा हजिरी जमानीमा रिहा भइसकेका छन् ।

यस्तो छ गोल्छँले सोआईबीमा दिएको बयान

म हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमा स्थापनाकालदेखि नै सञ्चालक अध्यक्ष रहेको थिएँ। हाल अन्दाजी दुई महिना अगाडि मैले राजीनामा दिएको छु। हिमालयन रिइन्स्योरेन्स कम्पनी लि. प्रबन्धपत्र र नियमावलीमा उल्लेख भएअनुसार पुनर्बिमाको लागि खोलिएको हो। हिमालयन रिइन्स्योरेन्स कम्पनी लि. मा मेरो व्यक्तिगत शेयर रहेको छैन, मेरो लगानी रहेको कम्पनीको लगभग २ प्रतिशत जति शेयर रहेको छ ।

नेपाल बिमा प्राधिकरणको च.नं. ६२१५, मिति २०८३/०१/०८ गतेको पत्र र च.नं. ६२४०, मिति २०८३/०१/०९ गतेको पत्रसाथ प्राप्त नेपाल बिमा प्राधिकरणका उपनिर्देशक पदम प्रसाद सोडारीको संयोजकत्वमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमा गरिएको आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदन, चैत ३, २०८२ र बैशाख २०८३ समेत देखाउँदा देखेँ। उक्त प्रतिवेदनको व्यहोरा हाल आएर थाहा पाएँ ।

उक्त प्रतिवेदनमा उल्लेख भएअनुसार हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिलाई अग्रिम पेश्की रकम दिएको भन्ने सम्बन्धमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको इन्भेस्टमेन्ट, रिस्क म्यानेजमेन्ट एन्ड फाइनान्सियल सोल्भेन्सी कमिटी ले हेर्ने गर्दछ। यसरी इन्भेस्टमेन्ट, रिस्क म्यानेजमेन्ट एन्ड फाइनान्सियल सोल्भेन्सी कमिटी ले अग्रिम रूपमा पेश्की रकम दिने सम्बन्धमा भएका कुनै पनि निर्णय मसमक्ष पेश भएको छैन ।

यसरी इन्भेस्टमेन्ट, रिस्क म्यानेजमेन्ट एन्ड फाइनान्सियल सोल्भेन्सी कमिटी ले आफूखुसी अग्रिम पेश्की रकम दिएको सम्बन्धमा पछि थाहा पाएपछि हिमालयन रिइन्स्योरेन्स लिमिटेडको बोर्ड बैठकमा सो पेश्की रकमको सम्बन्धमा छलफल भई अग्रिम रूपमा दिएको पेश्की रकम उठाउनका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने भनी निर्णय भएको छ। सो बैठकको निर्णय नं. र मिति हाल मलाई याद भएन ।

सो बैठकको निर्णय आवश्यक परेमा पेश गर्नेछु । म हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कार्यकारी अध्यक्ष होइन। मैले बोर्डको अध्यक्षता मात्र गरेको हुँ । कुनै पनि कम्पनीको निर्णय सम्बन्धित समिति मार्फत हुन्छ। यसबारे कम्पनीको वार्षिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख हुन्छ । म अध्यक्षको हैसियतले गत आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनलाई अनुमोदन गरेको छैन ।

मैले इन्भेस्टमेन्ट, रिस्क म्यानेजमेन्ट एन्ड फाइनान्सियल सोल्भेन्सी कमिटी को भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिलाई अग्रिम पेश्की रकम दिने वा लगानी गर्ने सम्बन्धमा भएको कुनै पनि निर्णयलाई अनुमोदन गरेको छैन । यो सम्बन्धमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललाई थाहा छ। अग्रिम पेश्की रकम दिने सम्बन्धमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको इन्भेस्टमेन्ट, रिस्क म्यानेजमेन्ट एन्ड फाइनान्सियल सोल्भेन्सी कमिटी को बैठकबाट निर्णय हुने कुरा कम्पनीको आन्तरिक प्रक्रिया हो । म कम्पनीको दैनिक प्रशासनमा संलग्न नहुने भएकाले यस निर्णयमा म संलग्न छैन । कम्पनीको सम्पूर्ण प्रशासन तथा व्यवस्थापनको जिम्मा प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरूको हुन्छ ।

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको मिति २०८२/१०/२५ सम्मको विवरणबाट भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिसँग हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले रु. २,७३,३३,१५,१६०.०३ लिन बाँकी देखिएको हुँदा सो रकम जसले प्रयोग गरेको छ, उसबाट ब्याजसहित फिर्ता पाउनुपर्छ । सो रकम भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिलाई प्रयोग गर्न दिएबापत मैले, मेरो परिवार तथा मेरो स्वामित्वमा रहेका कुनै पनि कम्पनीले कुनै पनि किसिमको लाभ लिएको छैन ।

कम्पनीले लगानी गर्ने सम्बन्धी निर्णय कम्पनीको व्यवस्थापन तथा सम्बन्धित विभाग इन्भेस्टमेन्ट, रिस्क म्यानेजमेन्ट एन्ड फाइनान्सियल सोल्भेन्सी कमिटी ले गर्ने भएकाले सो सम्बन्धमा मलाई जानकारी छैन । कम्पनी सञ्चालनका लागि क्षमतावान र सम्बन्धित विषयमा विज्ञ तथा जानकार कर्मचारीहरू नियुक्त गरिएको हुन्छ । सो नियम कानुनको सम्बन्धमा कम्पनीको व्यवस्थापनमा सक्रिय व्यक्तिहरूले बुझ्नुपर्ने हो । कानुन विपरीत कुनै काम गर्नु हुँदैन भन्ने मेरो मान्यता हो। मैले यस्तो कुनै अनाधिकृत निर्णयलाई अनुमोदन गरेको छैन ।

५५ नम्बर ब्रोकिङ कम्पनीले हिमालयन रिइन्स्योरेन्सबाट प्राप्त गरेको रकम खातामार्फत प्राप्त गरी उक्त रकम भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिको ग्लोबल आइएमई बैंक मा भएको सेटलमेन्ट खाता नं. ०७५०१०१०००१२६७ मा हस्तान्तरण गरी उक्त रकमबाट दीपक भट्ट समेतको नाममा शेयर खरिद गरेको भन्ने कुरा मलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट बयान लिने क्रममा मात्र जानकारी भएको हो । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको मिति २०८२/०९/२० गतेको सञ्चालक समितिको बैठक (बैठक नं. ७९) मा भएका निर्णयहरू देखाउँदा देखेँ ।

उक्त बैठकको निर्णयमा शेखर गोल्छा भनी गरेको दस्तखत मेरो आफ्नै हो । हेरी, चिनी, सनाखत समेत गरिदिएँ । सञ्चालक समितिले पहिले नै लगानी समिति तथा अन्य समितिलाई कम्पनीको हितमा काम गर्न भनी अधिकार प्रत्यायोजन गरेको थियो। लगानी समिति तथा अन्य समितिले कम्पनीको हितमा काम गरेको छ भनी सञ्चालक समिति विश्वस्त र ढुक्क रहेको थियो । सोही आधारमा विगतमा जस्तै लगानी समिति तथा अन्य समितिहरूले गरेका कार्यलाई एकमुष्ट अनुमोदन गर्ने भनी निर्णय गरिएको हो। तर सो बैठकपश्चात मात्र लगानी समितिले लगानी गरेको रकम उठ्न बाँकी रहेको भनी थाहा भएको हो ।

सञ्चालक समितिको बैठकको निर्णय गरेपछि मात्र लगानी समितिले लगानी गरेको रकम अन्य प्रयोजनमा लगानी भएको कुरा थाहा हुनासाथ सञ्चालक समितिले उक्त रकम उठाउनका लागि कानुनबमोजिम प्रक्रिया गर्न भनी व्यवस्थापनलाई लिखित रूपमा निर्देशन दिएको हो । म सञ्चालक समितिको अध्यक्ष रहेको, सञ्चालक समितिले व्यवस्थापनको दैनिक प्रशासनमा हस्तक्षेप गर्न नहुने व्यवस्था रहेको, त्यसैले दक्ष र सक्षम व्यवस्थापन तथा कर्मचारी नियुक्ति गरिएको छ ।

यी सबै नियुक्ति बिमा प्राधिकरणको प्रमाणीकरणपछि मात्र भएको हो। आफ्नो कार्यव्यस्तताले समय दिन नसकिने भएकाले व्यावसायिक तथा दक्ष व्यवस्थापनको टोली नियुक्त गरी उक्त टोलीले व्यावसायिक काम गर्ने वातावरण मिलाई आफूले कुनै गैरकानुनी काम नगरेको र व्यवस्थापनले समेत गैरकानुनी काम गरेको छैन भनी विश्वास रहेको छ भन्ने समेत व्यहोराको कागज।