सिंगापुर बेभरेज नेपालले बेच्यो दिनमा १८ लाख रुपैयाँभन्दा बढीको निम्बु पानी सहितका पेय पदार्थ

1.4k
Shares

काठमाडौं । निम्बुपानीसहित अन्य ब्रान्डको पेय पदार्थ उत्पादन गर्ने सिंगापुर बेभरेज नेपालले चालु आर्थिक वर्षको साढे ८ महिनाको अवधिमा ४६ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ ।

यस हिसाबमा उक्त कम्पनीले औसतमा दैनिक करिब १८ लाख ७ हजार ८४३ रुपैयाँ बराबरको व्यापार गरेको देखिन्छ ।

गत आवमा ७८ करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा ६४ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ६१ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको व्यापार २२ प्रतिशतले बढेको छ । कम्पनीले कारोबार गरेकोमध्ये ७५ प्रतिशत हिस्सा सफ्ट ड्रिङ्कको सेग्मेन्टबाट भएको छ । कम्पनीले गत आवमा १०.५७ प्रतिशत नाफा कमाएको थियो । चालु आवको साढे ८ महिनाको अवधिमा ७.३० प्रतिशत नाफा कमाएको छ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले विभिन्न प्रकारका पेय पदार्थ उत्पादन गर्दै आएको छ । रामकृष्ण शर्मा र आशिष शर्माले व्यवस्थापन गर्दै आएको कम्पनीले जेम्स, जेरु र निम्बु पानी ब्रान्डको पेय पदार्थ उत्पादन गर्दै आएको छ ।

कम्पनीमा राम कृष्ण शर्मा, डा. आशिष शर्मा, अनिता शर्मा र निधि शर्माको बराबर हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।