शुद्ध नेपाली स्वादका सफ्ट ड्रिंक्स जिरु र निम्बुपानी ल्याएका आशीषले  थप्दैछन् २० नयाँ उत्पादन



झापा । झापाका आशीष शर्मा दुवईमा स्नातकोत्तर गरेसँगै बहुराष्ट्रिय कम्पनीबाट राम्रो जागिरको अफर आयो । तर, जागिर उनको प्राथमिकता थिएन । दुवईमा जागिर गर्नुभन्दा देशमै केही गर्नुपर्छ भन्ने मनमा थियो ।

केही गर्ने भन्ने सोचसहित नेपाल आएका शर्माले यहाँ विभिन्न रिसर्च गरे ।

‘नेपालमा सफ्ट ड्रिंक्समा खास केही भएको रहेनछ,’ शर्माको अध्ययनले देखायो ।

उनले निर्णय गरे नेपाली स्वादको पेय पदार्थ उत्पादन गर्ने । नेपाल आएसँगै सन् २०१६ को अन्ततिर सिंगापुर वेभरेज कम्पनी दर्ता गरे । जुन कम्पनीले अहिले विभिन्न किसिमका पेय पदार्थ उत्पादन गरिरहेको छ ।

बुबाले पनि झापामा सानो व्यवसाय गरिरहेका थिए । पछि चिया प्रशोधन व्यवसाय पनि गरे ।

‘बुबाले जहिले पनि स्वदेशमै केही गर्नुपर्छ भनिरहनुहुन्थ्यो । त्यसले गर्दा पनि म यस क्षेत्रमा आएको हुँ,’ शर्माले क्लिकमाण्डूसँग भन्छन्, ‘हामीसँग केही अनुभव थिएन । तर, हाम्रो भित्री इच्छाले डोहोर्याउँदै यहाँसम्म आएका छौं ।’

उनले उत्पादन गरेका पेय पदार्थमध्ये जिरु र निम्बुपानीले लोकप्रिय छन् ।

शर्मासँग झापाको धाइजनमा साढे ५ विगाह जग्गा छ । त्यसका २ विगाहामा कारखाना फैलिएको छ । हामी उनलाई भेट्न जाँदा कारखाना आंशिकरुपमा चलिरहेको थियो ।

‘अहिले पूर्णरुपमा मेसिनहरु चलिरहेका छैनन्,’ कारखाना देखाउँदै शर्माले भने, ‘कति मेसिन बारिहबाट आउँदैछन् भने अरु केही प्रडक्टको तयारी भइरहेको छ ।’

अहिले ११ वटा उत्पादन छन् । त्यसमध्ये बजारमा ८ वटा उपलब्ध रहेको शर्माले बताए । जिरु र लिम्बु पानीबाहेक बजारमा मनसुन ड्यु, क्लब कोला, राइट लेवल, फ्यान्सी, टर्निक वाटर, क्लब सोडाजस्ता उत्पादन छन् ।

सिंगापुर वेभरेज स्थापना भएको पाँच वर्ष भएको छ । मनसुन ड्यु उनीहरुले निकालेको पहिलो प्रोडक्ट हो । दुई वर्षअघिमात्र जिरुको उत्पादन शुरु गरेका थिए ।

जसमध्ये उपभोक्ताले धेरै मनपराएको जीरु र निम्बु पानी भएको शर्माले बताए ।

‘हामीले धेरै रिसर्च गरेर जिरु र निम्बु पानीजस्तो उत्पादन ल्याएका हौं,’ उनले भने, ‘जसले नेपाली स्वादलाई झल्काउँछ ।’

जिरु शुद्ध नेपाली स्वादको पेय पदार्थ भएको शर्माको भनाइ छ । यसमा खासगरी दुई सामग्रीको संयोजन छ- जिरा र बिरे नुन ।

‘जिरा र बिरे नुनलाई संयुक्त समिश्रण गरेर जीरु बनाएका छौं,’ शर्माले भने, ‘यो शुद्ध नेपाली स्वादको पेय पदार्थ हो ।’

जिरा र बिरे नुनको मिश्रण भएकाले पनि यसको नाम जिरु राखेको उनी बताउँछन् ।

९० प्रतिशत पानीमो मात्रा छ भने कमन साल्ट पनि यसमा प्रयोग गरिएको छ । त्यस्तै, निम्बुपानीमा लेमन, पानी, सुगर मिसाइएको छ ।

आफूले उत्पादन गरेको जिरु अष्ट्रेलिया, अमेरिका, बेलायतमा पनि पुगेको उनले बताए । बाहिरबाट पनि राम्रो प्रतिक्रिया आएको छ ।

‘सिंगापुर वेभरेजले सफ्ट ड्रिंक्समा नेपाललाई प्राउड चाही पक्का बनाउँछ,’ उनी भन्छन् ।

केही प्रडक्ट बजारमा ल्याउने तयारीमा छ कम्पनी ।

‘अब बजारमा २० भन्दा धेरै उत्पादन आउँदै छन्,’ शर्माले भने ।

उद्योगमा अहिलेसम्म ४० करोडभन्दा धेरै लगानी भइसकेको र लगानी वृद्धि भइरहेको उनी बताउँछन् । रिसर्च एण्ड डेभलपमेन्टमा धेरै खर्च भइरहेको बताए । उद्योगले प्रतिदिन १० देख १५ हजार केस उत्पादन गरिरहेको छ ।

नेपालको सबैभन्दा ठूलो सम्पत्ति भनेको पानी हो । तर, यस क्षेत्रमा नेपालमा केही पनि भएको रहेनछ भन्ने उनीहरुले देखे । पेय पदार्थको बजार बहुराष्ट्रिय कम्पनीले एकलौटी ओगटेका छन् ।

नेपालीले गर्व गर्ने खालको पेय पदार्थ उत्पादन गर्ने भनेर यसमा हात हालेको उनको भनाइ छ । जसले मुलुकको आर्थिक समृद्धिमा केही सहयोग गरोस् भन्ने उनी चाहन्छन् । ३५० जनालाई रोजगारी दिएको उनी बताउँछन् । सिंगापुर वेभरेज गर्ने निर्णय भएपछि राम्रो जग्गाको खोजीमा थिए । जहाँ राम्रो पानीको स्रोत पनि होस् ।

‘यहाँको पानी उच्चगुणस्तरको छ,’ उनी भन्छन्, ‘यो ठाउँ खोज्नकै लागि ३ वर्ष लाग्यो ।’

काठमाडौं, पश्चिम क्षेत्र, पूर्वभेगमा पनि पानी परीक्षण गरे । तर, यहाँको जस्तो पानी अन्य ठाउँमा देखिएन । सफ्ट ड्रिंक्सको लागि उच्चस्तरको उपयुक्त पानी चाहिन्थ्यो । आफ्नै बोरिङ छ । पेय पदार्थको लागि त्यही पानी प्रयोग गर्छन् ।

मुलुकमा सफ्ट डिं«क्सको बजार निकै ठूलो छ । बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु शहरदेखि गाउँगाउँसम्म पुगेका छन् ।

सफ्ट ड्रिंक्सको यति ठूलो बजार हुँदाहुँदै पनि नेपालको आफ्नै स्वादका पेय पदार्थ अभाव थियो । यही अभावलाई पूरा गर्न सिंगापुर वेभरेज कम्पनी स्थापना भएको शर्माले बताए ।

‘हामीले नेपालको उत्पादन भनेर केही दिन चाहन्छौं,’ शर्मा भन्छन्, ‘जसले मल्टिनेसनल कम्पनीसँग प्रतिस्पर्धा गर्न सकोस् । नेपाली स्वादलाई यसले झल्काओस् ।’

मल्टिनेसनल कम्पनीका उत्पादनसामु यसलाई स्थापित गर्न चुनौती छ । तर, आफ्नो प्यासननै यसमा भएकाले चुनौती सामना गर्नसक्ने उनी बताउँछन् ।

‘गर्न गाह्रो छ तर असम्भव भन्ने केही छैन,’ उनी भन्छन्, ‘नेपाली कम्पनी मल्टिनेसनल हुन नसक्लान् र नेपालभित्रको ठूलो कम्पनी बन्न त सक्छौं नी !’

अहिले नेपालको सफ्ट ड्रिंक्सको बजार २० अर्ब रुपैयाँ हाराहारीको रहेको उनको अनुमान छ । जनु अधिकांश हिस्सा बुहराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीले ओगटेका छन् ।

सफ्ट ड्रिक्समा स्वास्थको विषय जहिले पनि जोडिन्छ । यस्ता पेय पदार्थमा १२ देखि १५ प्रतिशत सुगर हुने भएकाले पूर्णस्वस्थकर हुन्छ भन्ने नसकिने शर्मा बताउँछन् ।

‘हामीले सकेसम्म सुगरको मात्रा कम प्रयोग गर्ने प्रयास गरिरहेका छौं,’ शर्मा भन्छन् ।


सन्तोष न्यौपाने