चीन र युरोपबीच ‘विमान युद्ध’: एयरबसको डेलिभरी रोकेर बेइजिङले दबाब दिँदै

427
Shares

एजेन्सी । चीनले युरोपेली विमान निर्माता कम्पनी एयरबसका विमानहरूको डेलिभरीमा जानीजानी ढिलाइ गरिरहेको छ ।

ब्लुमबर्ग न्युजका अनुसार, चीनमा निर्मित कोम्याक विमानलाई युरोपेली नियामकहरूले प्रमाणीकरण गर्न ढिलाइ गरेपछि त्यसको बदला लिन चीनले एयरबसलाई रोकेको हो ।

चीनको नागरिक उड्डयन प्रशासनले विगत केही महिनादेखि एयरबसका विमानहरूलाई देशमा प्रवेश गर्न र व्यावसायिक सेवामा आउन आवश्यक पर्ने अन्तिम स्वीकृति दिएको छैन । यस प्रशासनिक अवरोधका कारण एयरबसको सन् २००९ पछिकै सबैभन्दा कम त्रैमासिक डेलिभरी भएको रिपोर्टमा उल्लेख छ ।

एयरबसका प्रमुख कार्यकारी अधिकृत गुइलाउम फाउरीले गत महिना झण्डै २० वटा विमान चीन पठाउन ठिक्क परे पनि प्रशासनिक विषयका कारण रोकिएको बताएका थिए । यस्तै, कम्पनीका मुख्य आर्थिक अधिकारी थोमस टोयफरले विमानहरू पूर्ण रूपमा तयार भएर पनि डेलिभरी हुन नसक्दा कम्पनीको झण्डै ५ अर्ब युरो बराबरको मौज्दात थुप्रिएको जानकारी दिए । यो अघिल्लो वर्षको तुलनामा निकै बढी हो ।

चीनले युरोपेली उड्डयन सुरक्षा एजेन्सीमाथि दबाब बढाउन यो रणनीति अपनाएको देखिन्छ । चिनियाँ कम्पनी कोम्याकले बनाएको सी९१९ जेटलाई युरोपले प्रमाणीकरण गरिदिएमा चीनले पहिलोपटक आफ्ना विमानहरू पश्चिमी देशका एयरलाइन्सहरूलाई बेच्ने बाटो खुल्नेछ ।

हाल युरोपेली र अन्य पश्चिमी मुलुकका विमान कम्पनीहरूले चिनियाँ जेट उडाउन पाउँदैनन् । सी९१९ विमानले सिधै एयरबसको ए३२० र बोइङको ७३७ जस्ता लोकप्रिय विमानहरूसँग प्रतिस्पर्धा गर्नेछ ।

युरोपेली नियामक ईएएसएले सी९१९ को प्रमाणीकरणका लागि परीक्षण उडानहरू भइरहेको र चिनियाँ अधिकारीहरूसँग सहकार्य भइरहेको जनाएको छ । तर, यो प्रक्रिया कहिले सकिन्छ भन्ने बारेमा उसले कुनै निश्चित समयसीमा तोक्न अस्वीकार गरेको छ ।

तर, एयरबसका सीईओ फाउरीले अप्रिल २८ मा लगानीकर्ताहरूसँगको छलफलमा यो समस्या समाधान भइसकेको दाबी गरेका छन् । उनले रोकिएका विमानहरू सन् २०२६ को दोस्रो त्रैमासिकमा चीन पठाइने आशा व्यक्त गरेका छन् ।

यस विवादले विश्वका दुई ठूला अर्थतन्त्र र उड्डयन शक्तिहरूबीचको व्यापारिक सम्बन्ध कति संवेदनशील छ भन्ने कुरालाई पुनः उजागर गरेको छ ।