चीनमा भेडा गोठाला बन्न शहरी युवाको चासो, तलब १ लाख ८० हजार रुपैयाँ

189
Shares

एजेन्सी । चीनको मंगोलियासँग जोडिएको दुर्गम घाँसे मैदानमा भेडा चराउने गोठालोका लागि खोलिएको एउटा विज्ञापन सामाजिक सञ्जालमा यसरी भाइरल होला भन्ने फार्म मालिक जुओ स्याओयोङले कल्पनासम्म गरेका थिएनन् ।

तर, अप्रिलको अन्त्यतिर उनले हालेको यो सामान्य विज्ञापनले चीनको वर्तमान बेरोजगारी र श्रम बजारको एउटा निकै गम्भीर र तीतो यथार्थलाई सतहमा ल्याइदिएको छ ।

जम्मा दुईजना गोठालोका लागि खुलाइएको उक्त विज्ञापनमा ७०० भन्दा बढीले निवेदन दिए । निवेदन दिनेहरूमा शाङ्हाई र चोङकिङ जस्ता ठूला शहरका ह्वाइट कलर (अफिसमा काम गर्ने) कर्मचारीदेखि कारखानाका मजदुर र विश्वविद्यालयका स्नातकहरू समेत थिए ।

चीनको सामाजिक सञ्जाल वेइबोमा यो विज्ञापनलाई केही घण्टामै ५ करोड ९० लाखपटक हेरियो र २१ हजारभन्दा बढी फरक–फरक बहसहरू सुरु भए ।

फार्म मालिक जुओ भन्छन्, ‘मैले यो विज्ञापन यसरी भाइरल होला भन्ने सोचेको थिइनँ । निवेदन दिनेमध्ये १० प्रतिशत त भर्खरै विश्वविद्यालय सकेका युवाहरू छन् । अरू धेरैजसो ऋणमा डुबेका, कारखानाको कठिन कामले थाकेका वा कार्यस्थलको राजनीतिबाट वाक्क भएकाहरू छन् । यसले के देखाउँछ भने सामान्य मानिसहरूलाई अहिले रोजगारी पाउन निकै कठिन भइरहेको छ ।’

चीनमा बेरोजगारी दर आधिकारिक रूपमा ५ प्रतिशतको हाराहारीमा देखिए पनि अल्प–रोजगारी भने तीव्र रूपमा बढिरहेको छ । विगत एक दशकदेखि निजी क्षेत्रको आम्दानी देशको आर्थिक वृद्धिदरको तुलनामा निकै सुस्त छ ।

कामदारहरू बिहान ९ देखि राति ९ बजेसम्म र हप्ताको ६ दिन काम गर्नुपर्ने ‘९९६’ संस्कृतिका कारण मानसिक र शारीरिक रूपमा थाकिसकेका छन् ।

आगामी महिनाहरूमा यो स्थिति अझै बिग्रने अनुमान गरिएको छ । यसै वर्षको गर्मी महिनामा कीर्तिमानी १ करोड २७ लाख स्नातकहरू जागिरको खोजीमा निस्कँदैछन् ।

अर्कोतर्फ, कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगले पनि मानिसको रोजगारी खोसिरहेको छ ।

आईएनजीका चीनका प्रमुख अर्थशास्त्री लिन सोङका अनुसार, शहरी क्षेत्रका जागिरहरू अब दुर्लभ र कम आकर्षक बन्दै गएका छन् । कारखानाहरूले विश्व बजारमा आफ्नो हिस्सा टिकाइराख्न नाफा घटाएर काम गरिरहेका छन् जसको प्रत्यक्ष दबाब कामदारहरूमाथि परिरहेको छ ।

यस्तै दबाबले थिचिएका २१ वर्षीय जेम्स गुओले यो गोठालोको जागिरका लागि आवेदन दिएका छन् । उनी जहाजका कन्टेनर बनाउने कारखानामा काम गर्दा वाक्क भइसकेका थिए ।

‘तपाईंलाई थाहा छैन दिनको १३ घण्टाभन्दा बढी काम गर्नु कति पीडादायी हुन्छ,’ उनले भने, ‘हातमा ठेला उठिसकेका छन्, शौचालय जाने समेत फुर्सद हुँदैन । म अब यो सहन सक्दिनँ ।’

जुओले खोजेका गोठालाहरूले गर्मी महिनामा करिब २ हजार हेक्टर मैदानमा ३ हजार भेडा चराउनुपर्छ । जाडो महिनामा तापक्रम माइनस ३० डिग्री सेल्सियससम्म झर्दा उनीहरूले भित्रै बसेर भेडालाई खुवाउने र सफा गर्ने जस्ता कठिन काम गर्नुपर्छ ।

यो कामको बदलामा जुओले प्रतिव्यक्ति मासिक ८ हजार युआन (१ लाख ८० हजार) तलब अफर गरेका छन् । यो चीनको निजी कम्पनीहरूमा काम गर्ने शहरी कामदारको औसत तलब (करिब ६ हजार) भन्दा निकै बढी हो । साथै, गोठालाहरूले बस्ने ठाउँ र खाद्यान्न पनि निःशुल्क पाउँछन् ।

चीन बजार अनुसन्धान समूहका प्रबन्ध निर्देशक शन रेनका अनुसार, ठूला विश्वविद्यालयबाट स्नातकोत्तर गरेकाहरूले पनि शाङ्हाई जस्ता शहरमा ८ हजार युआनकै हाराहारीमा तलब पाउँछन् ।

तर, त्यो पैसा एउटा सानो कोठाको भाडा तिर्न र आधारभूत आवश्यकता पूरा गर्दैमा सकिन्छ । त्यसैले धेरैका लागि गोठालो बनेर पैसा बचाउनु एउटा उत्तम विकल्प देखिएको छ ।

निवेदन दिनेहरूमध्ये आधाभन्दा बढी सन् १९९० को दशकमा जन्मिएका युवाहरू छन् । उनीहरू चिनियाँ श्रम बजारमा चलेको ३५ वर्षको श्रापबाट त्रसित छन् । चीनमा धेरैजसो रोजगारदाताहरूले ३५ वर्ष कटेका व्यक्तिलाई काममा राख्न रुचाउँदैनन् ।

२८ वर्षीया ऊ ई–कमर्स क्षेत्रमा काम गर्छिन् र महिनाको १० हजार युआन कमाउँछिन् । तैपनि उनलाई यो गोठालोको जागिरले आकर्षित गर्याे । उनी भन्छिन्, ‘म यो शहरी जीवन र मानिसहरूको झन्झटबाट टाढा जान चाहन्छु । संसारबाट अलग भएर शान्त जीवन बिताउन पाए हुन्थ्यो भन्ने लाग्छ ।’

अन्ततः फार्म मालिक जुओले अनुभवी चारजना गोठालाहरू नियुक्त गरे । ती सबै सन् १९८० को दशकमा जन्मिएका विवाहित जोडीहरू हुन् जसले पहिले पनि फार्ममा काम गरिसकेका छन् । उनले अविवाहित वा शहरमा हुर्किएका युवाहरूलाई यो काम नदिने निर्णय गरे ।

‘हाम्रो ठाउँमा वर्षभरि कुनै मान्छेको अनुहार देख्न पाइँदैन,’ जुओले भने, ‘यस्तो एक्लोपन शहरका युवाहरूले सहन सक्छन् कि सक्दैनन्, मलाई थाहा छैन । यो जागिर पर्यटन होइन, निकै कठोर संघर्ष हो ।’