स्विट्जरल्यान्डलाई पछि पार्दै हङकङ बन्यो सीमापार सम्पत्ति व्यवस्थापनको केन्द्र

84
Shares

एजेन्सी । हङकङले स्विट्जरल्यान्डलाई पछि पार्दै सीमापार सम्पत्ति व्यवस्थापनका लागि विश्वकै सबैभन्दा ठूलो केन्द्र बन्न सफल भएको छ ।

बोस्टन कन्सल्टिङ ग्रुपले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, पहिलोपटक कुनै एसियाली शहरले युरोपको सेफ–हेभन मानिने स्विट्जरल्यान्डलाई पछि पारेको छ । एसियाका सम्पत्ति केन्द्रहरू युरोपको तुलनामा तीव्र गतिमा बढिरहेकाले हङकङको यो अग्रता अब उल्टिने सम्भावना कम देखिएको छ ।

बीसीजीको रिपोर्टका अनुसार, मुख्यभूमि चीनबाट भित्रिएको सम्पत्ति र सन् २०२५ मा हङकङको सेयर बजारमा आएको आईपीओको लहरले हङकङलाई २०.९५ खर्ब डलरको विशाल अफशोर केन्द्र बनाएको छ ।

यसै अवधिमा स्विट्जरल्यान्डको यस्तो सम्पत्ति २०.९४ खर्ब डलर रहेको छ । प्रतिवेदनका लेखकहरूका अनुसार, हङकङले विश्व बजारका लागि चीनको प्रवेशद्वारको रूपमा आफ्नो भूमिकालाई झन् मजबुत बनाएको छ यद्यपि एउटै देशमा बढी केन्द्रित हुनुले हङकङको भविष्य मुख्यभूमि चीनको आर्थिक र नियामक विकाससँग कसिलो रूपमा जोडिएको छ ।

आगामी दिनमा पनि हङकङ र सिंगापुर दुवै केन्द्रहरू सन् २०३० सम्म वार्षिक करिब ९ प्रतिशतको दरले बढ्ने प्रक्षेपण गरिएको छ । यसको तुलनामा स्विट्जरल्यान्डको वृद्धिदर सोही अवधिमा औसत ६ प्रतिशत मात्र रहने अनुमान छ ।

वृद्धिदर केही सुस्त भए पनि स्विट्जरल्यान्डको विविधीकरण एउटा ठूलो शक्ति हुन सक्छ किनकि यसले विश्वका सबै क्षेत्रबाट ग्राहकहरू आकर्षित गर्छ । एसियाली हबहरू धेरै हदसम्म चीनको वृद्धिमा निर्भर छन् भने स्विट्जरल्यान्डले आफ्नो साखका कारण विश्वव्यापी लगानी तान्ने क्षमता राख्छ ।

प्रतिवेदनका अनुसार, भूराजनीतिक अनिश्चितताले गर्दा स्विट्जरल्यान्डको भूमिका अझै महत्त्वपूर्ण बनेको छ । पश्चिम एसिया जस्ता अस्थिर क्षेत्रहरूबाट सुरक्षित लगानीका लागि स्विट्जरल्यान्डमा पुँजी भित्रिने क्रम जारी छ ।

बैंकर र वित्तीय सल्लाहकारहरूले जनाएअनुसार, खाडी क्षेत्रमा जारी द्वन्द्वका कारण धनी व्यक्तिहरूले आफ्नो सम्पत्ति स्विट्जरल्यान्डतर्फ सारिरहेका छन् । अहिलेको समयमा ग्राहकको नजिक हुनु निकै महत्त्वपूर्ण भएको छ जसका कारण विश्वमा दुईवटा प्रमुख वित्तीय ध्रुवहरू निर्माण भइरहेका छन् ।

प्रतिवेदनका सहलेखक माइकल कालिचका अनुसार, एसियाका लागि सिंगापुर र हङकङ मुख्य केन्द्र बनेका छन् भने पश्चिमी क्षेत्रका लागि स्विट्जरल्यान्ड, बेलायत र अमेरिका केन्द्रका रूपमा रहेका छन् । ग्राहकसँगको सामीप्यलाई ध्यानमा राख्दै स्विस बैंकहरूले पनि अन्य प्रमुख केन्द्रहरूमा आफ्नो उपस्थिति बलियो बनाएका छन् । उदाहरणका लागि, हङकङ र सिंगापुर दुवै ठाउँमा सम्पत्ति व्यवस्थापनका क्षेत्रमा स्विस बैंक यूबीएस नै पहिलो नम्बरमा रहेको छ ।