
एजेन्सी । विश्वकै बहुमूल्य सेमिकन्डक्टर कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङले कर्मचारी कटौतीका कारण कृत्रिम बुद्धिमत्ता (एआई) लाई देखाउने कम्पनीका प्रमुखहरूको कडा आलोचना गरेका छन् । उनले यस्तो तर्कलाई अल्छीपनको पराकाष्ठा भनेका छन् ।
सिंगापुरको च्यानल न्यूजएसियासँगको अन्तर्वार्तामा ह्वाङले रोजगारी कटौती र एआईलाई जोड्ने भाष्य निकै कमजोर रहेको बताए । उनले एआई प्रविधि भर्खरै मात्र विश्व बजारमा आएको अवस्थामा कम्पनीहरूले यसकै कारण जागिर खोसिएको भन्नु तर्कसंगत नहुने उल्लेख गरे ।
जेनेरेटिभ एआई उपकरणहरू कार्यस्थलमा वास्तवमै उपयोगी र उत्पादक हुन थालेको ६ महिना मात्र भएको तर कतिपय सीईओहरूले दुई वर्षअघि देखि नै कर्मचारी निकाल्दै यसको दोष एआईलाई दिइरहेकोमा ह्वाङले अचम्म माने । यो कुरा कुनै पनि हालतमा मेल नखाने उनको तर्क छ ।
उनका अनुसार, कतिपय कर्पोरेट नेतृत्वले आफूलाई स्मार्ट र प्रविधिमैत्री देखाउनका लागि मात्र कर्मचारी कटौतीको कारण एआईलाई बनाउने गरेका छन् । यस्तो प्रवृत्तिलाई आफूले निकै घृणा गर्ने बताउँदै उनले यसले सर्वसाधारणमा अनावश्यक डर पैदा गरिरहेको र यो नेतृत्वको गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरे ।
अहिले विश्वभरिका प्रविधि कम्पनीहरूमा भइरहेको पुनःसंरचना र कर्मचारी कटौतीले कामदारहरूमाझ अटोमेसनले मानिसको ठाउँ लिने चिन्ता बढाएको छ । तर ह्वाङले भने नेतृत्व तहले यसबारे सन्तुलित र सकारात्मक धारणा राख्नुपर्नेमा जोड दिएका छन् ।
प्रविधिको सम्भावनाका बारेमा कुरा गर्दा सुरक्षाका उपायहरू, सरकारी नीतिहरू र औद्योगिक मापदण्डहरूका बारेमा पनि उत्तिकै चर्चा हुनुपर्ने उनको भनाइ छ ।
उनले भविष्यप्रति आशावादी हुनुपर्ने बताउँदै मानिसहरूलाई यस प्रविधिको हिस्सा बन्न मन लाग्ने गरी सकारात्मक कथाहरू सुनाउन आवश्यक रहेको उल्लेख गरे ।
विश्वको चिप बजारमा एनभिडियाको दबदबा रहेका बेला ह्वाङको यो पछिल्लो टिप्पणीले कर्पोरेट जगतमा नयाँ तरंग पैदा गरेको छ ।









प्रतिक्रिया