अमेरिकी ड्रोन खसालेको इरानको दाबी, पश्चिम एसिया तनाव उत्कर्षमा

217
Shares

एजेन्सी । इरान र अमेरिकाबीच जारी सैन्य तनावले नयाँ र गम्भीर मोड लिएको छ ।

इरानको शक्तिशाली अर्धसैनिक बल इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेको भन्दै अमेरिकी सेनाको अत्याधुनिक ’एमक्यू–९ ड्रोन खसालेको र एफ–३५ लडाकु विमानमाथि सफल प्रहार गरेको दाबी गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराका अनुसार, इरानी सेनाले आफ्नो आकाशमा अनधिकृत रूपमा प्रवेश गरेका यी अमेरिकी युद्ध साधनहरूलाई लक्षित गरी आक्रमण गरेको हो । यो घटना ठ्याक्कै कुन समयमा भएको हो भन्नेबारे इरानले स्पष्ट खुलाएको छैन ।

इरानी अधिकारीहरूले यस कदमलाई आफ्नो सार्वभौमिकताको रक्षाका रूपमा व्याख्या गर्दै अमेरिकाले युद्धविराम उल्लंघन गरेमा त्यसको कडा र वैधानिक जवाफ दिने अधिकार आफूहरूसँग सुरक्षित रहेको चेतावनी दिएका छन् ।

यसैबीच इरानका सर्वोच्च नेता मोज्तबा खामेनेईले एक विशेष सम्बोधनमार्फत इरान र यसका सहयोगी शक्तिहरूको विजय भएको घोषणा गरेका छन् । उनले अबका दिनमा पश्चिम एसियाका शक्तिहरू अमेरिकी सैन्य अड्डाहरूका लागि ढाल बनेर नबस्ने स्पष्ट पारेका छन् ।

खामेनेईका अनुसार, यस क्षेत्रमा अमेरिकाका लागि अब कुनै पनि सुरक्षित आश्रयस्थल बाँकी रहने छैन ।

खामेनेईले लेबननसहितको प्रतिरोधको अक्षले अमेरिकी र इजरायली शक्तिहरूलाई उचित पाठ सिकाएको दाबी गरे । उनले इरानी प्रोक्सी शक्तिहरूको सक्रियताले क्षेत्रमा नयाँ सन्तुलन कायम गरेको बताउँदै अन्य इस्लामिक राष्ट्रहरूलाई साझा हितका लागि एकजुट हुन आह्वान समेत गरेका छन् ।

इरानको यो दाबी आउनुअघि अमेरिकी सेनाको सेन्ट्रल कमान्डले दक्षिणी इरानका विभिन्न स्थानमा आत्मरक्षाका लागि भन्दै हवाई आक्रमण गरेको थियो । अमेरिकी सेनाका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार, इरानी सेनाबाट आफ्ना सैनिकहरूमाथि हुन सक्ने सम्भावित खतरालाई रोक्न यो कारबाही गरिएको हो ।

अमेरिकाले इरानका ती स्थानहरूलाई लक्षित गरेको थियो जहाँबाट मिसाइल प्रक्षेपणको तयारी भइरहेको थियो । साथै, समुद्रमा खानी बिछ्याउन प्रयोग गरिने इरानी डुंगाहरूमाथि पनि अमेरिकी सेनाले प्रहार गरेको छ । अमेरिकाले यसलाई पूर्ण रूपमा बचाउको कदम भने पनि यसले क्षेत्रमा जारी युद्धको आगोलाई थप बल पुर्याएको छ ।

दुई देशबीचको यो बढ्दो आक्रमकताले गत चैत २६ देखि सुरु भएको अत्यन्तै कमजोर युद्धविरामलाई संकटमा पारेको छ । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि कूटनीतिक वार्ताहरू भइरहे पनि सैन्य मुठभेडले ती प्रयासहरूलाई असफल बनाउने देखिएको छ ।

विशेषगरी, ऊर्जा आपूर्तिको मुख्य मार्गमा भएको अवरोधले विश्व अर्थतन्त्र नै संकटमा परेका बेला यो नयाँ सैन्य तनावले तेलको बजारमा थप अस्थिरता निम्त्याउने निश्चित छ ।

शान्ति प्रक्रियामा अर्को ठूलो अवरोधका रूपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पछिल्लो अभिव्यक्ति आएको छ । नेतन्याहूले लेबननमा इरान समर्थित हिजबुल्लाहलाई सखाप पार्ने प्रतिज्ञा गरेपछि माहोल थप बिग्रिएको हो ।

अर्कोतर्फ, इरानले कुनै पनि शान्ति सम्झौता हुनका लागि लेबनानमा भइरहेको युद्धलाई पनि सोही प्याकेजमा समेट्नुपर्ने अडान राख्दै आएको छ ।

इरानले अमेरिकी ड्रोन खसालेको दाबी र अमेरिकाले इरानी अखडामा गरेको आक्रमणले पश्चिम एसियामा एउटा ठूलो युद्धको संकेत गरेको छ । एकातिर कतारको दोहामा शान्ति वार्ताका लागि कूटनीतिक प्रयासहरू भइरहेका छन् भने अर्कोतिर युद्धमैदानमा दुवै पक्ष एकअर्कालाई सिध्याउने रणनीतिमा लागेका छन् ।