
एजेन्सी । विश्वको सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादकमध्येको एक कतार इनर्जीले आफ्नो ग्यास ढुवानीमा देखिएको अवरोधलाई आगामी भदौको अन्त्यसम्म लम्ब्याएको छ ।
यस घोषणाले ऊर्जा संकट झेलिरहेका एसियाली र युरोपेली मुलुकहरूलाई थप चिन्तित बनाएको छ ।
कतार इनर्जीको प्रमुख ग्राहक इटालेली कम्पनी एडिसनका अनुसार, खाडी मुलुक कतारबाट हुने एलएनजी ढुवानी कम्तीमा पनि साउनको अन्तिम वा भदौको पहिलो हप्तासम्म इटलीको एड्रियाटिक एलएनजी टर्मिनलमा पुग्ने छैन ।
यसअघि नै फोर्स मज्योर (विशेष परिस्थितिमा सम्झौता पालना गर्न नसक्ने अवस्था) घोषणा गरेको कतारले त्यसको समय सीमा पुनः बढाएको हो ।
यस निर्णयले इटलीलाई सबैभन्दा बढी असर गरेको छ । कतारबाट इटलीका लागि तय भएका १७ वटा एलएनजी ढुवानी रद्द भएका छन् । यो परिमाण एडिसन र कतार इनर्जीबीच भएको कुल वार्षिक सम्झौताको एकतिहाइ (लगभग २.२ अर्ब क्युबिक मिटर) हिस्सा हो ।
यति ठूलो परिमाणमा ग्यास आपूर्ति रोकिँदा इटलीको औद्योगिक र घरेलु ऊर्जा क्षेत्रमा गम्भीर प्रभाव पर्ने देखिएको छ ।
कतारबाट हुने निर्यात रोकिनुमा मुख्य दुईवटा कारण रहेका छन् । पहिलो, हर्मुज जलयोजक बन्द हुनु हो । अमेरिका र इजरायलसँगको युद्धका कारण इरानले रणनीतिक महत्त्वको हर्मुज जलयोजक बन्द गरिदिएको छ । कतारको समुद्री व्यापारिक मार्ग यही जलयोजक भएर जाने भएकाले इरानको अनुमतिविना जहाजहरू अगाडि बढ्न सकेका छैनन् ।
दोस्रो, रास लफानमा क्षति हो । गत फागुनको सुरुवातमै कतारको प्रमुख ऊर्जा पूर्वाधार रास लफानमा भएका आक्रमणले त्यहाँका दुईवटा ठूला प्लान्टहरूमा गम्भीर क्षति गरेको थियो । यसले उत्पादन क्षमतामै ह्रास ल्याएको छ ।
आफ्नो व्यापारिक स्वार्थ र अन्तर्राष्ट्रिय छवि जोगाउन कतारले अहिले इरान र अमेरिकाबीच मध्यस्थताको भूमिका खेलिरहेको छ । हाल दोहामा अमेरिका र इरानबीच उच्चस्तरीय शान्ति वार्ता भइरहेको छ । कतारले यस वार्तालाई सफल बनाएर जतिसक्दो चाँडो आफ्नो ग्यास निर्यात सुचारु गर्न चाहेको छ ।
कतारी ग्यासको अभाव भएपछि इटलीको एडिसन लगायतका धेरै कम्पनीहरूले अहिले वैकल्पिक आपूर्तिकर्ताको खोजी गरिरहेका छन् । यसका लागि विश्व बजारमा अब अमेरिका र रुस गरी दुईवटा मात्र विकल्प बाँकी छन् ।
अमेरिका अहिले एलएनजीको उदाउँदो महाशक्तिका रूपमा देखिए पनि इरानसँगको टकराव र वार्तामा उसको कडा अडानले गर्दा आपूर्ति कति सहज हुन्छ भन्नेमा शंका छ । अर्कोतर्फ, युरोपेली संघले रुसी एलएनजीमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।
तर, विश्वव्यापी रूपमा ग्यासको चरम अभाव भएकाले रुसले युरोपको सट्टा एसियामा सजिलै नयाँ ग्राहक भेट्ने र यस संकटबाट फाइदा उठाउने देखिएको छ ।
विज्ञहरूले यस घटनालाई विश्वव्यापी ऊर्जा आपूर्तिको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो र गम्भीर अवरोधका रूपमा व्याख्या गरेका छन् । ढुवानी पुनः सुरु नभएसम्म विश्व बजारमा ग्यासको मूल्य अझै बढ्ने अनुमान गरिएको छ ।









प्रतिक्रिया