
एजेन्सी । अमेरिकी अर्बपति इलोन मस्कको रकेट तथा स्याटेलाइट निर्माता कम्पनी स्पेसएक्स जुन महिनामा सेयर बजारमा आउने तयारीमा छ ।
वाल स्ट्रिटमा यसलाई ब्लकबस्टर आईपीओको रूपमा हेरिएको छ ।
तर, पछिल्ला केही वर्षका ठूला आईपीओहरूको इतिहास हेर्ने हो भने सर्वसाधारण लगानीकर्ताका लागि यो त्यति उत्साहजनक नहुन पनि सक्छ ।
समाचार एजेन्सी रोयटर्सले पछिल्लो पाँच वर्षमा उच्च मूल्यांकन भएका ५० वटा ठूला आईपीओहरूको विश्लेषण गरेको छ । उक्त अध्ययनका अनुसार, ७५ प्रतिशत समय लगानीकर्ताहरूले यी चम्किला कम्पनीको सेयर किन्नुभन्दा एस एन्ड पी ५०० जस्ता बजारको औसत सूचकमा लगानी गरेको भए धेरै नाफा कमाउने देखिएको छ ।
रोयटर्सको तथ्यांक अनुसार, कुनै लगानीकर्ताले पछिल्ला पाँच वर्षका सबै ठूला आईपीओहरूमा लगानी गरेको भए मे २१ सम्ममा उसलाई औसत २७ प्रतिशत मात्र नाफा हुन्थ्यो । तर, सोही अवधिमा एस एन्ड पी ५०० मा लगानी गरेको भए औसत ५३ प्रतिशत नाफा हुने थियो ।
अझ रोचक कुरा त के छ भने यो विश्लेषण आईपीओ निष्काशन मूल्यमा आधारित छ । सर्वसाधारण लगानीकर्ताले प्रायः उक्त मूल्यमा सेयर पाउँदैनन् । पहिलो दिनको कारोबार सुरु भएपछि बजारबाट सेयर किन्नेहरूको अवस्था त झनै नाजुक देखिएको छ ।
ट्रिपल डी ट्रेडिङका प्रोप्राइटरी ट्रेडर डेनिस डिक भन्छन्, ‘तपाईं सुरुवाती चरणमा वा आईपीओ आउनुअघि नै छिर्न सक्नुहुन्न भने यस्ता कम्पनीबाट पैसा बनाउन निकै गाह्रो छ ।’
स्पेसएक्सले एसपीसीएक्स संकेतमा सेयर कारोबार गर्ने तयारी गरेको छ । संस्थापक इलोन मस्कले रोबिनहुड र सोफी जस्ता प्लेटफर्ममार्फत सर्वसाधारणलाई पनि सस्तो मूल्यमा सेयर उपलब्ध गराउने योजना बनाएका छन् ।
यस कम्पनीको मूल्यांकन १.७५ ट्रिलियन डलर पुग्ने लक्ष्य राखिएको छ जुन वाल स्ट्रिटको इतिहासमै सबैभन्दा ठूलो सूचीकरण हुनेछ । तर, उच्च मूल्यांकन नै नाफाको ग्यारेन्टी भने होइन ।
युनिभर्सिटी अफ फ्लोरिडाका प्राध्यापक जे रिटरका अनुसार, बिक्रीको तुलनामा मूल्य धेरै भएका कम्पनीहरू पछि समस्यामा पर्ने गरेका छन् ।
स्पेसएक्सको प्राइस–टु–सेल्स अनुपात करिब १०० पुग्ने देखिएको छ जबकि अहिलेको चर्चित एआई कम्पनी एनभिडियाको यो अनुपात २४ मात्र छ । अझ विचारणीय पक्ष त के छ भने स्पेसएक्सले गत वर्ष ५ अर्ब डलर घाटा बेहोरेको थियो ।
‘लगानीकर्ताहरू भविष्य निकै चम्किलो छ भनेर महँगो मूल्य तिर्न तयार हुन्छन् तर कतिपय अवस्थामा सोचेजस्तो हुँदैन,’ रिटरले चेतावनी दिए ।
पछिल्ला केही वर्षका आईपीओमध्ये एआई क्षेत्रका कम्पनीहरूले भने राम्रो प्रदर्शन गरेका छन् । एस्टेरा ल्याब्सले सन् २०२४ को आईपीओपछि ७०० प्रतिशत र आर्म होल्डिङ्सले ४०० प्रतिशतभन्दा बढीको फड्को मारेका छन् ।
तर, निराशाजनक प्रदर्शन गर्नेहरूको सूची लामो छ ।
रिभियनः सन् २०२१ मा आएको यो इलेक्ट्रिक कार निर्माताको सेयर हालसम्म ८२ प्रतिशतले घटिसकेको छ । कम्पनीले अझै पनि हरेक कार उत्पादनमा घाटा बेहोर्दै आएको छ ।
दीदी ग्लोबलः चिनियाँ राइड–हेलिङ कम्पनी दीदीको सेयर ७४ प्रतिशतले घटेको छ र यसलाई न्युयोर्क स्टक एक्सचेन्जबाट हटाइसकिएको छ ।
फिग्माः एआईको डरका कारण यो सफ्टवेयर कम्पनीको सेयर आईपीओ मूल्यभन्दा ३५ प्रतिशत तल झरेको छ ।
अलिबाबाः २०१४ को विश्वकै ठूलो आईपीओ भए पनि यसले एस एन्ड पी ५०० लाई उछिन्न सकेको छैन । अलिबाबाको मूल्य दोब्बर हुँदा बजारको औसत वृद्धि ३०० प्रतिशतभन्दा बढी भएको छ ।
यसरी, इलोन मस्कको स्पेसएक्स जतिसुकै चर्चित भए पनि इतिहास र तथ्यांकले भने लगानीकर्तालाई संयम अपनाउन र कम्पनीको वास्तविक वित्तीय स्वास्थ्य हेरेर मात्र लगानी गर्न सुझाव दिइरहेको छ ।





प्रतिक्रिया