
काठमाडौं । दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका शंकराचार्यले ‘धार्मिक विजय यात्रा नेपाल–२०२६’ को अवसरमा सोमबार चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन तथा पूजा–अर्चना गरेका छन् ।
शंकराचार्यसहितका पाहुनाहरूलाई चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकाल तथा संस्थापकहरू र सञ्चालक समितिसहितका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
भ्रमणका अवसरमा शंकराचार्यले चन्द्रागिरि हिल्सलाई पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्यका रूपमा प्रशंसा गरे । साथै, चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिर परिसरमा अत्यन्तै अलौकिक अनुभूति भएको बताए ।
यहाँको वातावरण, संस्कृति र प्राकृतिक सुन्दरताले सबैलाई आकर्षित गर्ने उल्लेख गर्दै उनले चन्द्रागिरिको सौन्दर्यको प्रशंसा गरे ।
भ्रमण टोलीले हरियालीले ढाकिएका डाँडाकाँडा, चिसो तथा शान्त मौसम र काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्दै केबलकार यात्रा अत्यन्तै स्मरणीय अनुभव भएको प्रतिक्रिया दिएको थियो ।





प्रतिक्रिया