
एजेन्सी । प्रणालीमाथि प्रहार गर्नेहरूका विरुद्ध उनले दिएको टिप्पणीको व्यंग्यात्मक प्रतिक्रियास्वरूप स्थापना गरिएको कक्रोच जनता पार्टीको बारेमा सामाजिक सञ्जालमा भइरहेको चर्चाका बीच भारतका प्रधानन्यायाधीश सूर्यकान्तले सोमबार एक अधिवक्तालाई यस विषयलाई भावुक भएर नलिन आग्रह गरेका छन् ।
सार्वजनिक सरोकारको मुद्दा दायर गर्दै ती अधिवक्ताले प्रधानन्यायाधीशको स्पष्टीकरणका बावजुद न्यायपालिकाको छवि बिगार्न दुर्भावनापूर्ण भाष्य प्रयोग भइरहेको बताए । उक्त निवेदनले इजलासमा भएका संवादहरूलाई व्यावसायिक प्रयोजनका लागि प्रयोग नगर्न निर्देशन माग गरेको छ ।
अर्को छुट्टै निवेदनले भने कक्रोच जनता पार्टीसँग सम्बन्धित गतिविधिहरूको अनुसन्धान गर्न माग गरेको छ ।
अधिवक्ताले भने, ‘सम्माननीय प्रधानन्यायाधीशको स्पष्टीकरणपछि पनि भ्रामक र दुर्भावनापूर्ण भाष्य फैलाइँदैछ ।’
प्रधानन्यायाधीशले जवाफ दिए, ‘यसलाई यति धेरै भावुक भएर नलिनुहोस् ।’ प्रधानन्यायाधीशले ती निवेदनहरूमाथि तत्काल सुनुवाइ गर्न गरिएको अनुरोधलाई अस्वीकार गरिदिए ।
यसअघि मे १५ मा अदालतमा प्रधानन्यायाधीशले दिएको टिप्पणीले विवाद निम्त्याएको थियो र ’ककरोज जनता पार्टी’ को नाममा अनलाइन अभियान सुरु भएको थियो ।
प्रधानन्यायाधीशले दिल्ली उच्च अदालतमा ’वरिष्ठ अधिवक्ता’ को पदवीका लागि निर्देशन माग गर्दै निवेदन दिने एक अधिवक्तालाई झपारेका थिए । त्यस पदवीका लागि ती अधिवक्ता स्वयम् इच्छुक थिए ।
प्रधानन्यायाधीशले उक्त पदवीका लागि लागिपर्नु उचित देखिन्छ कि देखिँदैन भनी प्रश्न गरेका थिए । उनले भनेका थिए, ‘समाजमा प्रणालीमाथि प्रहार गर्ने परजीवीहरू पहिलेदेखि नै छन् र तपाईं उनीहरूसँग हात मिलाउन चाहनुहुन्छ ? साङ्ला (कक्रोच) जस्ता केही युवाहरू छन् जसले कुनै रोजगारी पाउँदैनन् वा पेशामा कुनै स्थान पाउँदैनन् । तिनीहरूमध्ये कोही मिडिया, कोही सामाजिक सञ्जाल, कोही सूचनाको हकका अभियन्ता र अन्य अभियन्ता बन्छन् र सबैलाई आक्रमण गर्न थाल्छन् ।’
उक्त टिप्पणीले खैलाबैला मच्चाएपछि प्रधानन्यायाधीशले आफूले युवाहरूको आलोचना गरेको भन्नु पूर्णतया निराधार रहेको स्पष्ट पारेका थिए । ‘मैले विशेषगरी ती व्यक्तिहरूको आलोचना गरेको थिएँ जो नक्कली र फर्जी डिग्रीको सहयोगमा कानून जस्ता पेशामा प्रवेश गरेका छन् । त्यस्ता व्यक्तिहरू मिडिया, सामाजिक सञ्जाल र अन्य मर्यादित पेशामा पनि छिरेका छन् र उनीहरू परजीवी जस्तै हुन् । मैले देशका युवाहरूको आलोचना गरें भन्नु पूर्णतया निराधार छ । म हाम्रा वर्तमान र भविष्यका मानव संसाधनप्रति गर्व मात्र गर्दिनँ, बरु भारतका प्रत्येक युवाले मलाई प्रेरित गर्छन्,’ उनले भने ।
हाल अमेरिकामा रहेका महाराष्ट्रका ३० वर्षीय अभिजीत दिपकेले प्रधानन्यायाधीशको टिप्पणीको प्रतिक्रियास्वरूप ‘साङ्ला’ हरूका लागि एउटा प्लेटफर्मको घोषणा गरे । यसले अनलाइनमा एउटा ट्रेन्ड सुरु गर्यो ।
तर, बिहीबार भारतमा कक्रोच जनता पार्टीको एक्स अकाउन्ट रोक्का गरियो । इन्डियन एक्सप्रेसका अनुसार, इन्टेलिजेन्स ब्युरोले राष्ट्रिय सुरक्षाको चिन्ता औंल्याउँदै दिएको जानकारीपछि इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको निर्देशनमा यो कारबाही गरिएको हो ।
लगत्तै दिपकेले एक्समा ककरोच इज ब्याक नामको नयाँ ह्यान्डल घोषणा गर्दै मानिसहरूलाई त्यसमा जोडिन आग्रह गरेका छन् ।









प्रतिक्रिया