डलर अर्बपतिहरूको सूचीमा मेस्सी, बने दोस्रो फुटबलर

1.3k
Shares


एजेन्सी । अर्जेन्टिनाका फुटबल लेजेन्ड लियोनेल मेस्सी आधिकारिक रूपमा अर्बपतिहरूको क्लबमा सामेल भएका छन् ।

ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार, उनी आफ्ना चिरपरिचित प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोपछि यो उपलब्धि हासिल गर्ने इतिहासकै दोस्रो फुटबलर बनेका छन् ।

ब्लूमबर्गको एक विश्लेषण अनुसार, ३८ वर्षीय अर्जेन्टिनी लेजेन्डले सन् २००७ देखि तलब र बोनसमा ७० करोड डलरभन्दा बढी कमाएका छन् ।

कर, बजारको उतारचढाव र लगानी तथा विज्ञापनको विस्तृत पोर्टफोलियोबाट प्राप्त प्रतिफललाई गणना गरेपछि ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सले मेस्सीको कुल सम्पत्ति १ अर्ब डल र (१ खर्ब ५३ अर्ब रुपैयाँ) को आँकडाभन्दा माथि राखेको छ ।

यस कोशेढुंगाले इन्टर मायामीका कप्तानलाई अल–नासर स्टार रोनाल्डोसँगै उभ्याएको छ । रोनाल्डो सन् २०२३ मा साउदी क्लब अल–नासरमा आबद्ध भएपछि अर्बपति बन्ने पहिलो फुटबलर बनेका थिए ।

रोनाल्डोको विश्वव्यापी छवि आक्रामक मार्केटिङ रणनीतिद्वारा सञ्चालित भए पनि मेस्सीको अर्बपति बन्ने यात्रा क्रमिक प्रक्रिया हो। यो मुख्यतया पारिवारिक मार्गदर्शन र अमेरिका तथा युरोपभरिका सावधानीपूर्वक छानिएका साझेदारीहरू मार्फत आकार लिएको छ ।

यसैबीच उत्तर अमेरिकी फुटबल संस्कृति र सामान्य जनमानसमा मेस्सीको प्रभावले नयाँ उचाइ छोएको छ । गोल डट्कमका अनुसार, फिफा विश्वकप विजेता यी फुटबलरलाई सडकको नामकरणमार्फत सम्मान गरिएको छ ।

अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्न लागेको सन् २०२६ फिफा विश्वकपको अगाडि न्यु जर्सीको एक स्थानीय टाउनशिपले सडकको एक खण्डलाई लियो मेस्सी वे नामकरण गरेको छ ।

सन् २०२२ मा कतारमा आफ्नो देशलाई विश्वकपको उपाधि दिलाउने यी अर्जेन्टिनी सुपरस्टारको नाम अब अमेरिकाको भूगोलमा कोरिएको छ । हाल उनी मेजर लिग फुटबल इन्टर मायामीको प्रतिनिधित्व गर्छन् । त्यो उनको कार्यस्थल पनि हो ।

सन् २०२३ मा मेस्सी इन्टर मायामीमा आबद्ध भएदेखि अमेरिकामा फुटबलको परिदृश्य बदलिएको छ । त्यहाँ दर्शकहरूको उपस्थितिको कीर्तिमान तोडिएको छ र युरोपेली फुटबलका धेरै स्टारहरू एमएलएसमा खेल्न खोजिरहेका छन् ।

आगामी विश्वकपको संस्करणमा अर्जेन्टिना समूह जेमा छ । त्यसमा अस्ट्रिया, जोर्डन र अल्जेरिया पनि छन् । अर्जेन्टिनाको पहिलो खेल जुन १६ मा क्यान्सास सिटीमा अल्जेरिया विरुद्ध हुनेछ ।