
एजेन्सी । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भारतीय अमेरिकीहरूलाई लक्षित गरी गरिएका रंगभेदी टिप्पणीहरूका बारेमा व्यक्त गरिएका चिन्ताहरूमाथि आइतबार प्रतिक्रिया दिँदै त्यस्ता टिप्पणीहरूलाई गम्भीरतापूर्वक लिनुपर्ने तर तिनले अमेरिकाको व्यापक चरित्रलाई प्रतिनिधित्व नगर्ने बताएका छन् । उनले अमेरिकालाई आप्रवासीहरूद्वारा समृद्ध बनेको र सबैलाई स्वागत गर्ने राष्ट्रको रूपमा वर्णन गरे ।
आफ्नो चार दिने भारत भ्रमणका क्रममा विदेशमन्त्री एस जयशंकरसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै रुबियोलाई अमेरिकामा भारतीय अमेरिकीहरू विरुद्ध लक्षित रंगभेदी टिप्पणीहरूको बारेमा सोधिएको थियो ।
‘म ती टिप्पणीहरूलाई निकै गम्भीरतापूर्वक लिन्छु । म विश्वस्त छु, अनलाइन र अन्य ठाउँहरूमा त्यस्ता टिप्पणी गर्ने मानिसहरू छन् किनभने संसारको हरेक देशमा मूर्ख मानिसहरू हुन्छन् । मलाई पक्का थाहा छ, यहाँ (भारतमा) पनि मूर्खहरू छन् र अमेरिकामा पनि मूर्ख मानिसहरू छन् जसले सधैं यस्ता वाहियात टिप्पणीहरू गरिरहन्छन्,’ अमेरिकामा भारतीय अमेरिकीहरू विरुद्धको रंगभेदी टिप्पणीबारे सोधिएको प्रश्नमा रुबियोले भने ।
त्यस्ता टिप्पणीहरूले देश निर्माणमा आप्रवासीहरूले निर्वाह गरेको भूमिकालाई ओझेलमा पार्नु नहुने अमेरिकाका विदेशमन्त्रीले बताए । ‘अमेरिका सबैलाई स्वागत गर्ने देश हो । संसारभरिबाट हाम्रो देशमा आउने मानिसहरूले हाम्रो राष्ट्रलाई समृद्ध बनाएका छन्,’ उनले भने ।
अमेरिकी अर्थतन्त्रमा भारतीयहरूको योगदानलाई स्वीकार गर्दै रुबियोले भारतीय कम्पनीहरूले अमेरिकामा २० अर्ब डलरभन्दा बढी लगानी गरेको बताए । ‘म अमेरिकी अर्थतन्त्रमा भारतीयहरूले गरेको योगदानलाई सराहना गर्छु । भारतीय कम्पनीहरूले अमेरिकी अर्थतन्त्रमा २० अर्ब डलरभन्दा बढी लगानी गरेका छन् । हामी त्यो संख्या अझ बढिरहोस् भन्ने चाहन्छौं,’ उनले भने ।
रुबियोले ट्रम्प प्रशासनको आप्रवासन सुधारहरू भारतलाई लक्षित गरी ल्याइएका होइनन् र ती विश्वभर लागू भइरहेका छन् भन्ने कुरामा जोड दिए । ‘अहिले भइरहेका परिवर्तन वा अमेरिकाको आप्रवासन प्रणालीको आधुनिकीकरण भारत–केन्द्रित छैनन् । यो विश्वव्यापी हो र यसलाई संसारभर लागू गरिँदैछ,’ उनले भने ।
उनले हालैका वर्षमा आप्रवासन संकटको सामना गरेपछि अमेरिकाले आफ्नो आप्रवासन प्रणालीलाई आधुनिकीकरण गरिरहेको बताए । ‘हामीले अमेरिकामा आप्रवासन संकट झेलेका छौं । यो भारतका कारणले भएको होइन तर समग्रमा विगत केही वर्षहरूमा २ करोडभन्दा बढी मानिस अवैध रूपमा अमेरिका प्रवेश गरेका छन् र हामीले त्यस चुनौतीलाई सम्बोधन गर्नुपरेको छ,’ रुबियोले भने ।
साथै, उनले अमेरिका आप्रवासनका लागि सधैं खुला रहेको र यसबाट फाइदा लिइरहेको कुरा दोहोर्याए । ‘मेरो विश्वासमा अमेरिका आप्रवासनका लागि विश्वकै सबैभन्दा स्वागतयोग्य देश हो । प्रत्येक वर्ष करिब १० लाख मानिसहरू अमेरिकाको स्थायी बासिन्दा बन्छन् र ठूलो योगदान पुर्याउँछन्,’ उनले भने ।
अमेरिकाले लामो समयदेखि रोकिएको आफ्नो आप्रवासन व्यवस्थापन सुधारको काम अहिले गरिरहेको विदेशमन्त्रीले बताए । ‘त्यसैले हाम्रो देशमा कति मानिस आउने, को आउने र कहिले आउने भन्ने कुरा छनोट गर्ने प्रणालीलाई अमेरिकाले अहिले सुधार गरिरहेको छ,’ रुबियोले भने ।
रुबियोले जारी परिवर्तनहरू आप्रवासन प्रणालीको व्यापक पुनःसंरचनाको हिस्सा भएको र यो भारत लगायत कुनै पनि विशेष देशप्रति लक्षित नभएको अडान राखेका छन् ।





प्रतिक्रिया