
एजेन्सी । इरानको अर्ध–आधिकारिक समाचार एजेन्सी तस्निमका अनुसार, हर्मुज जलयोजकबाट आवतजावत गर्ने जहाजहरूको संख्या आगामी ३० दिनभित्र युद्धपूर्वको अवस्थामा फर्किनेछ । इरानी अधिकारीहरूले फेब्रुअरी २८ मा द्वन्द्व सुरु हुनुअघिको स्तरमा ढुवानी पुनः सुरु हुने अपेक्षा गरेका छन् ।
फेब्रुअरीमा युद्ध सुरु भएदेखि इरानले यस रणनीतिक जलमार्गमा लगाएको प्रतिबन्ध र बढेको नियन्त्रणका कारण ढुवानीमा भारी गिरावट आएको थियो । द्वन्द्व सुरु हुनुअघि यस जलयोजकबाट दैनिक करिब १२५ देखि १४० जहाजहरू पार हुन्थे तर युद्धपछि यो संख्या निकै कम भएको थियो ।
यसै समयमा अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा जाने र आउने जहाजहरूलाई लक्षित गरी जलसैनिक नाकाबन्दी लगाएको थियो जसले इरानको तेल निर्यातमा ठूलो अवरोध पुर्याएको थियो ।
चार दिने भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको वार्तामा एउटा ठूलो सफलता मिल्न लागेको र हर्मुज जलयोजकका बारेमा छिट्टै शुभ समाचार आउने संकेत गरेका छन् ।
भारतका विदेशमन्त्री एस जयशंकरसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै रुबियोले आगामी केही घण्टामा विश्वले शुभ समाचार पाउन सक्ने बताए यद्यपि उनले वार्ता अझै पूर्ण रूपमा टुंगिन बाँकी रहेको भन्दै सतर्क रहन आग्रह गरे ।
रुबियोले भने, ‘विगत ४८ घण्टामा भएको छलफलले एक सम्झौताको रूपरेखा तयार गरेको छ । यो सफल भयो भने हर्मुज जलयोजक कुनै महसुल बिना पूर्ण रूपमा खुला रहनेछ र इरानको विगतको आणविक हतियारको महत्त्वाकांक्षासँग सम्बन्धित मुख्य विषयहरूलाई पनि सम्बोधन गरिनेछ ।’
कुनै पनि व्यवस्थाका लागि इरानको पूर्ण स्वीकृति र कार्यान्वयन आवश्यक हुने उनले थपे । रुबियोले आजै केही समयपछि थप सकारात्मक विकासक्रमहरू सार्वजनिक हुन सक्ने आशा व्यक्त गरे ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि वाशिङटन र तेहरान युद्ध अन्त्य गर्न र हर्मुज जलयोजक पुनः खोल्नका लागि एउटा सम्झौतालाई अन्तिम रूप दिन लागेको घोषणा गरेका छन् ।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले यस उदीयमान सम्झौताले सो जलमार्गलाई पुनः खोल्ने भनेका छन् । फेब्रुअरीमा अमेरिका र इजरायलले इरान विरुद्ध सैन्य कारबाही सुरु गरेदेखि हर्मुज विश्वव्यापी ऊर्जा संकटको केन्द्र बनेको थियो ।
ट्रम्पले लेखेका छन्, ‘सम्झौताका अन्तिम पक्ष र विवरणहरूमा अहिले छलफल भइरहेको छ र छिट्टै यसको घोषणा गरिनेछ ।’





प्रतिक्रिया