इरान युद्धका कारण एआईको केन्द्र बन्ने खाडी मुलुकहरूको महत्त्वाकांक्षा धरापमा

77
Shares

एजेन्सी । कृृत्रिम बुद्धिमत्ता (एआई) को विश्वव्यापी केन्द्र बन्ने खाडी देशहरूको महत्त्वाकांक्षा अहिले ठूलो परीक्षाको घडीमा छ ।

पश्चिम एसियामा लम्बिएको द्वन्द्वका कारण ऊर्जा सुरक्षा, पूर्वाधारको मजबुती र लगानीकर्ताको मनोबलमाथि प्रश्न उठ्न थालेका छन् ।

गत फेब्रुअरीमा युद्ध सुरु हुनुअघि संयुक्त अरब अमिरात (यूएई), साउदी अरब र कतार एआई क्रान्तिको केन्द्र बन्ने होडमा थिए । सस्तो ऊर्जा र रणनीतिक भौगोलिक अवस्थाको फाइदा उठाउँदै उनीहरूले विश्वका ठूला प्रविधि कम्पनीहरूलाई त्यहाँ विशाल डेटा सेन्टर बनाउन आकर्षित गरिरहेका थिए ।

तर, युद्ध सुरु भएपछि यूएईमा रहेका अमेजनका दुईवटा डेटा सेन्टरहरू आक्रमणको निशानामा परे । युद्ध सुरु भएको तीन महिना पुग्न लाग्दा पनि कच्चा तेलको मूल्य प्रति ब्यारल १०० डलर आसपास छ र महत्त्वपूर्ण व्यापारिक मार्ग स्ट्रेट अफ हर्मुज अझै बन्द छ ।

एटलान्टिक काउन्सिलको जियोटेक सेन्टरकी सहनिर्देशक त्रिशा रेका अनुसार, पहिले जोखिम व्यवस्थापन भन्नाले साइबर सुरक्षा र डिजिटल अवरोधलाई मात्र बुझिन्थ्यो । तर, अहिले ड्रोन आक्रमण जस्ता भौतिक खतराहरू डेटा सेन्टरका लागि प्रमुख चुनौती बनेका छन् ।

‘यसले एआई पूर्वाधारलाई शाब्दिक रूपमै युद्धको अग्रपंक्तिमा पुर्याएको छ,’ उनले भनिन् ।

यही जोखिमका कारण केही कम्पनीहरूले लगानीको निर्णय रोकेका छन् वा ढिलाइ गरिरहेका छन् । ओकट्रीको स्वामित्वमा रहेको प्योर डेटा सेन्टर ग्रुपले खाडी क्षेत्रमा आफ्नो लगानीको निर्णय तत्कालका लागि स्थगित गरेको छ ।

खाडी बजारको मुख्य आकर्षण सस्तो बिजुली थियो । तर, युद्धपछि ऊर्जा बजारमा आएको हलचलले गर्दा सस्तो ऊर्जाको ग्यारेन्टी अब रहेन । तेलको मूल्य बढेसँगै यूएईमा उपभोक्ताका लागि ग्यासको मूल्य ३० प्रतिशतले बढेको छ । यसले धेरै बिजुली खपत गर्ने डेटा सेन्टरहरूको सञ्चालन लागत बढाउने निश्चित छ ।

विज्ञहरूका अनुसार, अब बन्ने डेटा सेन्टरहरूलाई अझ सुरक्षित बनाउन तिनीहरूलाई जमिनमुनि निर्माण गर्नुपर्ने वा ड्रोन विरोधी प्रविधि जडान गर्नुपर्ने हुन सक्छ । यसले गर्दा पूर्वाधार निर्माण महँगो र समय बढी लाग्ने देखिन्छ ।

चुनौतीका बावजुद खाडी देशका प्रमुख एआई खेलाडीहरू पछि हट्ने संकेतमा छैनन् । यूएईको जी४२ ले आफ्नो दिशा नबदलिएको र एआई भविष्यमा बिजुली जस्तै आधारभूत आवश्यकता बन्ने दाबी गरेको छ ।

साउदी अरबको ह्युमेन कम्पनीका सीईओ तारेक अमिनले साउदीको विशाल भूगोल र ऊर्जा स्रोत रणनीतिक फाइदाको रूपमा रहेको बताए । साउदीले डेटा सेन्टर मात्र नभई पूर्ण एआई स्ट्याक (पूर्वाधारदेखि एप्लिकेसनसम्म) निर्माण गरिरहेको उनले जानकारी दिए ।

साउदी अरबले आफ्नो भिजन २०३० अन्तर्गत एआई र डेटा पूर्वाधारमा अर्बौं डलर लगानी गर्ने योजना बनाएको छ जसमा त्यहाँको करिब १० खर्ब डलरको पब्लिक इन्भेस्टमेन्ट फन्डको साथ रहेको छ । कतारले पनि कतार इन्भेस्टमेन्ट अथोरिटी मार्फत यस क्षेत्रमा भारी लगानी गरिरहेको छ ।

वर्तमान द्वन्द्वले खाडी क्षेत्रको दीर्घकालीन स्थिरताको भ्रमलाई चिरेको छ तर धेरै लगानीकर्ताहरू अझै पनि यस क्षेत्रको भविष्यप्रति आशावादी छन् । केकेआरकी तारा डेभिसका अनुसार, छोटो अवधिको अस्थिरता भए पनि एआईको यो खेल दशकौंसम्म चल्नेछ ।

क्षेत्रीय शक्तिहरूले अब आफ्ना डेटा सेन्टरहरूलाई केवल भवनका रूपमा मात्र होइन, तेलका पाइपलाइन जस्तै रणनीतिक सम्पत्तिका रूपमा रक्षा गर्नुपर्ने चुनौती सामना गरिरहेका छन् ।