इरान युद्ध हार्दैछन् ट्रम्प ?

84
Shares

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरान विरुद्धका लगभग हरेक लडाइँ जितेका हुन सक्छन् तर इस्लामिक गणतन्त्रमाथि आक्रमण गरेको तीन महिनापछि अहिले उनीसामु एउटा ठूलो प्रश्न खडा भएको छः के उनी युद्ध हार्दैछन् ?

स्ट्रेट अफ हर्मुजमा इरानको पकड, आणविक सम्झौतामा लचकता नदेखाउने उसको अडान र त्यहाँको धार्मिक शासन व्यवस्था लगभग यथावत रहेकाले ट्रम्पले अमेरिकी सेनाको रणनीतिक सफलतालाई भूराजनीतिक जीतमा बदल्न सक्छन् भन्ने कुरामा शंका बढ्दै गएको छ ।

उनको पूर्ण विजयको बारम्बारको दाबी खोक्रो साबित भइरहेको केही विश्लेषकहरू बताउँछन् । अहिले दुवै पक्ष अनिश्चित कूटनीति र ट्रम्पले बारम्बार दिने आक्रमणका धम्कीहरूको बीचमा अल्झिएका छन् । यसले गर्दा यस क्षेत्रभरि इरानी प्रतिशोधको खतरा बढेको छ ।

ट्रम्प अहिले यस्तो जोखिममा छन् जहाँ अमेरिका र यसका खाडीका अरब सहयोगीहरू द्वन्द्वबाट थप कमजोर भएर निस्कन सक्छन् जबकि इरान सैन्य र आर्थिक रूपमा जर्जर भए पनि विश्वको २० प्रतिशत तेल र ग्यास आपूर्ति ठप्प पार्न सक्ने क्षमता देखाएर थप शक्तिशाली साबित हुन सक्छ ।

यो संकट अझै समाप्त भएको छैन र केही विज्ञहरूका अनुसार वार्ता ट्रम्पको पक्षमा भयो भने उनले अझै पनि सम्मानजनक रूपमा बाहिरिने बाटो फेला पार्न सक्ने सम्भावना बाँकी नै छ ।

तर, अरू कतिपयले ट्रम्पका लागि युद्धपछिको नतिजा भयावह हुने भविष्यवाणी गरेका छन् ।

‘तीन महिना भइसक्यो र ट्रम्पका लागि छोटो अवधिको खेल जस्तो देखिने गरी डिजाइन गरिएको यो युद्ध अब दीर्घकालीन रणनीतिक असफलतामा परिणत हुँदैछ,’ रिपब्लिकन र डेमोक्रेटिक प्रशासनका पूर्व वार्ताकार आरोन डेभिड मिलरले भने ।

ट्रम्पका लागि यो कुरा महत्त्वपूर्ण छ, विशेषगरी उनलाई पराजितको रूपमा हेरिएको खण्डमा । त्यो शब्द उनले प्रायः आफ्ना विरोधीहरूलाई गाली गर्न प्रयोग गर्छन् । इरान संकटमा उनी विश्वको सबैभन्दा शक्तिशाली सेनाको कमान्डर–इन–चिफ भएर पनि एक मध्यम स्तरको शक्तिसँग जुधिरहेका छन् जसले आफू नै हावी रहेको विश्वास गरिरहेको छ ।

विश्लेषकहरूका अनुसार, यस कठिन परिस्थितिमा ट्रम्पले आफ्नो अधिकतमवादी अडानबाट पछि हट्ने वा सन् २०१५ को ओबामाकालीन आणविक सम्झौताको पुनरावृत्ति जस्तो देखिने कुनै पनि सम्झौतालाई अस्वीकार गर्ने सम्भावना बढी छ ।

अमेरिकाले अपरेशन एपिक फ्युरीमा आफ्ना सबै सैन्य उद्देश्यहरू पूरा गरेको वा उछिनेको ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले बताइन् । ‘राष्ट्रपति ट्रम्पसँग सबै विकल्पहरू सुरक्षित छन् र उनी बुद्धिमानीपूर्वक अगाडि बढिरहेका छन्,’ उनले थपिन् ।

ट्रम्पले दोस्रो कार्यकालका लागि अनावश्यक सैन्य हस्तक्षेप नगर्ने वाचाका साथ चुनावी अभियान चलाएका थिए तर उनले अमेरिकालाई यस्तो झमेलामा फसाएका छन् जसले उनको विदेशनीति र विदेशमा रहेको साखलाई स्थायी क्षति पुर्याउन सक्छ ।

नोभेम्बरको मध्यावधि निर्वाचनअघि यो अलोकप्रिय युद्ध सुरु गरेपछि उनले स्वदेशमा महँगो ग्यास मूल्य र न्यून लोकप्रियताको दबाब सामना गरिरहेका छन् । उनको रिपब्लिकन पार्टीले कांग्रेसमा नियन्त्रण कायम राख्न संघर्ष गरिरहेको छ ।

फलस्वरूप, युद्धविराम भएको ६ हप्ताभन्दा बढी भइसक्दा पनि ट्रम्पसामु दुईवटा मात्र विकल्प रहेको केही विश्लेषकहरू विश्वास गर्छन् । कि त त्रुटिपूर्ण सम्झौता स्वीकार गर्ने कि त सैन्य तनाव बढाएर अझ लामो संकटको जोखिम मोल्ने । कूटनीति असफल भएमा उनले कडा तर सीमित आक्रमणहरू गर्ने, त्यसलाई अन्तिम विजयको रूपमा व्याख्या गर्ने र अघि बढ्ने विकल्प पनि हुनसक्छ ।

अर्को सम्भावना यस्तो पनि छ । ट्रम्पले विषय परिवर्तन गर्न र सजिलो जीत हात पार्न क्युबामा ध्यान केन्द्रित गर्न सक्छन् । त्यसो भयो भने उनले हवानाको चुनौतीलाई गलत अनुमान गरेको ठहरिन सक्छ जसरी उनले इरान अपरेसनलाई भेनेजुएलाको राष्ट्रपतिलाई पक्राउ गरेको अपरेसन जस्तै सहज हुने ठानेका थिए ।

तर, ट्रम्पका समर्थकहरू पनि कम छैनन् । ट्रम्पको पहिलो कार्यकालका वरिष्ठ सल्लाहकार अलेक्जेन्डर ग्रेले राष्ट्रपति इरान अभियानमा असफल भएको कुरा अस्वीकार गरे । उनले इरानी सैन्य क्षमतामा पुगेको ठूलो क्षति नै रणनीतिक सफलता भएको र यस युद्धले खाडी मुलुकहरूलाई चीनबाट टाढा र अमेरिकासँग नजिक ल्याएको तर्क गरे ।

तर, परिस्थिति आफ्नो नियन्त्रणमा नरहेकोमा ट्रम्पको निराशाका संकेतहरू देखिएका छन् । उनले आफ्ना आलोचकहरूमाथि आक्रमण गरेका छन् र समाचार मिडियालाई देशद्रोहको आरोप लगाएका छन् ।

यो द्वन्द्व ट्रम्पले सुरुमा तोकेको ६ हप्ताको समयसीमा भन्दा दोब्बर लामो भइसकेको छ । फेब्रुअरी २८ मा इजरायलसँग मिलेर युद्ध सुरु गरेदेखि उनको राजनीतिक आधारले उनलाई साथ दिए पनि रिपब्लिकन सांसदहरूको समर्थनमा भने दरार देखिन थालेको छ ।

सुरुवातमा हवाई आक्रमणहरूले इरानको ब्यालिस्टिक मिसाइल भण्डारलाई नष्ट गर्यो, उसको जलसेनालाई डुबायो र धेरै शीर्ष नेताहरूलाई मार्न सफल भयो । तर, तेहरानले जलसन्धि अवरुद्ध गरेर जवाफ दियो जसले ऊर्जाको मूल्य आकाशियो । ट्रम्पले इरानका बन्दरगाहहरू नाकाबन्दी गर्ने आदेश दिए पनि त्यसले तेहरानलाई झुकाउन सकेन ।

ट्रम्पले युद्धमा जानुका आफ्ना उद्देश्यहरू इरानको आणविक हतियारको बाटो बन्द गर्ने र यस क्षेत्रमा उसको खतरा समाप्त गर्ने बताएका थिए । तर, यी लक्ष्यहरू पूरा भएको कुनै संकेत छैन ।

पूर्व गुप्तचर अधिकारी जोनाथन पानिकोफका अनुसार, इरानले ठूलो क्षति भोगे पनि अमेरिकी आक्रमणबाट जोगिनु र खाडीको ढुवानी मार्गमा आफ्नो नियन्त्रण देखाउन सक्नुलाई नै उसले आफ्नो सफलता मानेको छ । इरानले ट्रम्पको भन्दा बढी आर्थिक पीडा सहन सक्ने र उनलाई उछिन्न सक्ने आत्मविश्वास देखाएको छ ।

ट्रम्पको मुख्य उद्देश्य इरानको निःशस्त्रीकरण हो र त्यो पनि पूरा भएको छैन । इरानले आफ्नो आणविक कार्यक्रम रोक्न खासै इच्छा देखाएको छैन । उच्च संवर्धित युरेनियम अझै पनि भूमिगत रूपमा सुरक्षित रहेको विश्वास गरिन्छ ।

अर्को जटिलता के छ भने इरानका सर्वोच्च नेताले हतियार बनाउन मिल्ने युरेनियम विदेश पठाउन नपाउने निर्देशन दिएका छन् । केही विश्लेषकहरूले यस युद्धले इरानलाई उत्तर कोरियाले जस्तै आफूलाई सुरक्षित राख्न आणविक हतियार बनाउन झनै प्रेरित गर्ने बताएका छन् ।

यसका साथै ट्रम्पले अहिले पहिलेका भन्दा पनि कट्टरपन्थी नयाँ इरानी नेताहरूसँग सामना गरिरहनु परेको छ । उनीहरूका छिमेकीहरूका लागि इरानी मिसाइल र ड्रोनहरू अझै पनि खतराको रूपमा रहेका छन् ।

युरोपेली सहयोगीहरूसँगको सम्बन्धमा आएको गिरावट र चीन तथा रुसले अमेरिकी सैन्य कमजोरीहरूबाट सिकिरहेका पाठहरूले ट्रम्पका लागि चुनौती झनै थपेको छ ।

यो नतिजा भियतनाम र अफगानिस्तानको भन्दा पनि ठूलो अमेरिकी असफलता हुने ब्रूकिङ्स इन्स्टिच्युसनका रोबर्ट कागानले लेखेका छन् । उनले आफ्नो टिप्पणी चेकमेट इन इरानमा लेखेका छन्, ‘अब पुरानै स्थितिमा फर्कने कुनै बाटो छैन र अमेरिकी विजयले पुर्याएको क्षतिलाई कहिल्यै भर्न सकिने छैन ।’