भदौ २४ को घटना दबाउन खोजे सरकारलाई महँगो पर्ने गगन थापाको चेतावनी


विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २४ गते भएको हिंसात्मक घटनालाई सरकारले ढाकछोप गर्न खोजेको आरोप लगाउँदै त्यसलाई कुनै पनि हालतमा स्वीकार नगर्ने बताएका छन्।

शनिबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उनले सरकारको नियतमाथि प्रश्न उठाएका हुन्।

सभापति थापाले भदौ २४ को विध्वंशकारी घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकारले आफैँले गरेको प्रतिबद्धता अनुसार अविलम्ब ‘न्यायिक आयोग’ गठन गर्न माग गरे। घटनाको छानबिन गर्नुको साटो सरकार ढाकछोपमा लागेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

‘भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गरिनुपर्छ र सोही आधारमा दोषीलाई कारबाही हुनुपर्छ,’ थापाले भने।

मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक हुन नदिन सरकारले दबाब दिएको चर्चाप्रति संकेत गर्दै उनले त्यस्तो कार्य नगर्न र संवैधानिक निकायलाई स्वतन्त्र छाड्न आग्रह गरे।

सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै थापाले वर्तमान सरकारले कार्यपालिका मार्फत व्यवस्थापिका र न्यायपालिकालाई नियन्त्रणमा राख्न खोजेको दाबी गरे।

‘राज्यका शक्ति पृथकीकरणको सिद्धान्त विपरीत सरकारले न्यायपालिका र व्यवस्थापिकामाथि हस्तक्षेप गर्ने प्रयास गरिरहेको छ, जुन लोकतन्त्रका लागि घातक छ,’ उनले थपे।

पार्टीको आन्तरिक राजनीतिका बारेमा बोल्दै थापाले मुलुकको जटिल अवस्थालाई मध्यनजर गर्दै पार्टीभित्रका असहमति र विमतिहरूलाई संवादमार्फत समाधान गर्न आफू तयार रहेको बताए।

उनले केन्द्रीय समिति बाहिर रहेका सबै पक्षलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै पार्टीको विधि र विधान विपरीत कोही पनि जान नहुनेमा जोड दिए।