ओलीलाई अष्टलक्ष्मी शाक्यको सुझाव: नेतृत्व नछाडेर अहिले पनि दम्भ, घमण्ड नदेखाउनुस्, राजीनामा दिनुस्


काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि तपाईँले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच देखाएको भन्दै त्यस्तो नगर्न आग्रह गरेकी छन्।

पार्टीको पूर्वउपाध्यक्षसमेत रहेकी शाक्यले युवाहरूको भावनाअनुसार पार्टी नेतृत्व छाड्न आग्रह गरेकी छन्। फागनु २१ को चुनावमा एमालेले हार बेहोरेपछि अहिले पदाधिकार तहकै नेतृत्वबाट ओलीलाई पार्टी अध्यक्ष छाड्न आग्रह भइरहेको छ।

तर ओलीले नेतृत्व छाड्ने कुनै संकेत गरेका छैनन्। यही विषयलाई लिएर शाक्य शनिबार सामानजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै सार रहुन्जेल एमाले पार्टीको अध्यक्ष भइराख्ने ओलीको सोच गलत गलत भएको बताएकी छन्।

‘यतिबेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचन पश्चात गौरवपूर्ण इतिहास बोकेको नेकपा एमाले आज यो कमजोर स्थितिमा पुगेको छ। पुनस् नेकपा एमालेलाई आन्दोलनको नेतृत्वमा पुर्याउन सकिन्छ’, उनले लेखेकी छन् ‘अहिले पनि तपाईँले देखाउनुभएको दम्भ, घमण्ड र गुटगत सोच म उस्तै देख्छु। बलिदानको रगतले जन्मेको पार्टी हो एमाले। लाखौं कार्यकर्ताहरूको त्याग र सङ्घर्षबाट अगाडि बढेको पार्टी हो एमाले। यो पार्टी तपाईं को मात्र पेवा होइन। एमाले तपाईँको गुटको कम्पनी पनि होइन।’

शाक्यले अबको बैठकबाट पदबाट राजीनमा दिनसमेत सुझाएकी छन्।

‘अहिले एक्काइसौँ शताब्दीमा छौं हामी। आजको समयको माग विचार ‘सामूहिकता’ सङ्घर्ष र इमानबाट पार्टी नेतृत्व गर्ने बेला हो। अव युवा पुस्तालाई विश्वास गरेर नेतृत्व पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ’, उनले भनेकी छन् ‘कमरेडले यही बैठकबाट स सम्मान अध्यक्ष पदबाट विदा लिनु राम्रो हुन्छ।’

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पुनगर्ठनको पक्षमा बलियो अडान लिएका छन् ।

शुक्रबारको सचिवालय बैठकमा शुरुमै बोलेका पौडेलले आजको राजनीतिक स्थिति सिर्जना हुनुमा नेतृत्वको कमजोरी औल्याएका छन् ।

विशेषगरी ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनुलाई उनले गल्ती भनेका छन् ।

अब त्यही व्यवस्था कायम राखेर पुनगर्ठनमा जानुपर्ने प्रस्ताव राखेका थिए । विगतका कमजोरी औल्याउने क्रममा पौडेलले २३ भदौको दिन समेत सम्झिएका थिए ।

जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा युवाहरुको मृत्यु भइसकेपछि प्रधानमन्त्री पदबाट ओलीले राजीनामा नदिएर गल्ती भएको पौडेलको निष्कर्ष थियो ।

‘२३ गते बेलुकी राजीनामा दिएको भए आज राजनीति यहाँ आइपुग्थेन,’ पौडेलले भनेका थिए ।