महासंघमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न ५ लाख र कोषाध्यक्षका उम्मेदवारले ३ लाख तिर्नुपर्ने, आजै नतिजा

245
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि आज(शुक्रबार) चुनाव हुँदै छ ।

महासंघको कार्यकारिणी समितिको दोस्रो बैठकमा निर्वाचन कार्यक्रम तय गरिएको हो।

महासंघद्वारा सार्वजनिक कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण प्रक्रिया आजै पूरा गरिने छ ।

जसअनुसार अपराह्न १:०० बजे मतदाता नामावली प्रकाशन गरिनेछ भने १:१५ सम्म दाबी विरोध र अन्तिम नामावली प्रकाशनको काम सकिनेछ ।

यस्तो छ निर्वाचनको कार्यतालिका:

मनोनयन दर्ता: दिउँसो १:२० देखि १:४५ बजेसम्म ।

उम्मेदवारको नामावली प्रकाशन र दाबी विरोध: दिउँसो १:५० देखि २:०० बजेसम्म।

उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन: दिउँसो २:०५ देखि २:१५ बजेसम्म।

मतदान: दिउँसो २:३० देखि ३:३० बजेसम्म।

नतिजा घोषणा: मतदान सकिएलगत्तै मत गणना गरी निर्वाचन परिणाम सार्वजनिक गरिनेछ।

निर्वाचन कार्यक्रम टेकुस्थित महासंघको सचिवालयमा हुने छ ।

मनोनयन शुल्क ५ लाख र ३ लाख

निर्वाचनमा उम्मेदवारी दिनका लागि शुल्क समेत निर्धारण गरिएको छ। वरिष्ठ उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गर्दा ५ लाख रुपैयाँ र कोषाध्यक्ष पदका लागि ३ लाख रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।

महासंघको विधान बमोजिम योग्यता पुगेका कार्यकारिणी समिति सदस्यहरूले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गर्न सक्नेछन् । कार्यसमितिको बैठकको अवस्था हेरेर निर्वाचन कार्यक्रमको समयमा केही फेरबदल हुन सक्ने समेत सूचनामा उल्लेख छ।