
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन आज हुँदैछ । दुवै पदका लागि ३/३ जना प्रत्यासी रहेका छन् ।
वरिष्ठ उपाध्यक्षका लागि यसअघि वरिष्ठ उपाध्यक्षमै अञ्जन श्रेष्ठसँग चुनाव हारेका व्यवसायी रामचन्द्र संघाई र निवर्तमान उपाध्यक्षद्वय हेमराज ढकाल र सुरकृष्ण वैद्य प्रतिस्पर्धा गर्दैछन् ।
हालै सम्पन्न निर्वाचनमा अञ्जन श्रेष्ठको प्यानलबाट एसोसिएट उपाध्यक्ष चुनाव जितेका प्रबलजंग पाण्डेको समर्थनमा संघाई वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका हुन् ।
उपाध्यक्षको चुनाव जित्न अञ्जन श्रेष्ठको प्यानलको भरपूर उपयोग गरेका प्रबलजंग पाण्डेले निर्वाचन सकिएको ३ साता नबित्दै वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा संस्थापनभन्दा फरक उम्मेदवार उठाएर नयाँ गुट निर्माण गरेका छन् ।
‘अञ्जनजीको फेरो नसमातेको भए प्रबलजी आफैँले उपाध्यक्षमा चुनाव हार्नुहुन्थ्यो,’ महासंघका एक कार्यकारिणी सदस्यले क्लिकमाण्डुसँग भने, ‘चुनाव जितेको ३ साता नबित्दै प्रबलजीले अञ्जनजीलाई धोका दिएर आफ्नै गुट बनाउनुभएको छ । वरिष्ठ उपाध्यक्षमा उहाँको गुट सबैभन्दा कमजोर छ ।’
ती कार्यकारिणी सदस्यका अनुसार अध्यक्ष अञ्जन श्रेष्ठ र निवर्तमान अध्यक्ष चन्द्र ढकालले समर्थन गरेका उम्मेदवारबीच नै वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा हुनेछ । अञ्जनको समर्थन सुरकृष्ण वैद्य र चन्द्रको समर्थन हेमराज ढकाललाई छ ।
गत वैशाख २१ र २२ गते भएको महासंघको ६०औँ वार्षिक साधारणसभाले अञ्जन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । साधारणसभामा ७० प्रतिशतभन्दा बढी अञ्जनले समर्थन गरेका उम्मेदवारहरू विजयी भएका थिए । जसअनुसार कार्यसमितिमा हुने वरिष्ठ उपाध्यक्षको चुनावमा अञ्जन समूहका उम्मेदवार निकै बलियो स्थानमा रहेको बताइन्छ ।
त्यस्तै निवर्तमान अध्यक्ष चन्द्र ढकाल र पूर्वअध्यक्ष चण्डीराज ढकालको समर्थन रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारले अञ्जनले अघि सारेका उम्मेदवारलाई कडा टक्कर दिने महासंघका एक पदाधिकारीले जानकारी दिए ।
‘आज हुने चुनावमा सुरकृष्ण र हेमराजजीबीच कडा टक्कर हुँदैछ,’ ती पदाधिकारीले भने, ‘संघाईजी तेस्रो हुने निश्चित छ ।’
जिल्ला नगर र वस्तुगतमा निकै कमजोर रहेका संघाई एसोसिएटमा भने सुरकृष्ण र हेमराजसँग प्रतिस्पर्धामा आउने ती पदाधिकारीको भनाइ छ ।
उपाध्यक्ष पाण्डेले आफ्नो नयाँ गुट बनाएर महासंघको राजनीतिमा आफूलाई खेलाडी भएको देखाउन खोजे पनि उनको असली हैसियत चुनावी परिणामबाट थाहा हुने उनले बताए ।
‘महासंघ अध्यक्षात्मक प्रणालीमा सञ्चालन हुने भएकाले अध्यक्षले अघि सारेका उम्मेदवार स्वाभाविक रूपमा बलियो दाबेदार हुने देखिन्छ,’ अर्का एक कार्यकारिणी सदस्यले भने, ‘हेमराजजीको मेहनत अनि चन्द्र र चण्डीराजजस्ता शक्तिशाली खेलाडीको समर्थनले हेमराजजी पनि उत्तिकै बलियो हुनुहुन्छ । प्रबलजीजस्ता कच्चा व्यक्तिको बुइ चढेका संघाईजी प्रतिस्पर्धामै आउनुहुन्न जस्तो लाग्छ ।’
प्रबलका अत्यन्तै नजिकका साथी मानिने निवर्तमान कोषाध्यक्ष भरत आचार्यको समर्थन पनि हेमराज ढकाललाई रहेको छ ।
कोषाध्यक्षको चुनावमा पनि त्रिपक्षीय भिडन्त हुने भएको छ । कोषाध्यक्षमा भने अम्बिकाप्रसाद पौडेल, मनिषलाल श्रेष्ठ र भक्त हमाल प्रतिस्पर्धा गर्दैछन् ।
कोषाध्यक्षमा भने अरू दुई उम्मेदवारको तुलनामा अम्बिका पौडेल निकै बलियो रहेको महासंघको राजनीतिलाई बुझ्नेहरू बताउँछन् । ‘जुनसुकै गुटको भए पनि अम्बिकाजीको लोकप्रियता अरू उम्मेदवारको भन्दा निकै माथि छ,’ एक कार्यकारिणी सदस्यले भने ।
यस्तो छ चुनावी कार्यतालिका






प्रतिक्रिया