इरान युद्ध अन्त्य गर्न अमेरिकालाई पाकिस्तानमाथि आशा

91
Shares

एजेन्सी । अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्य गर्ने दिशामा प्रगति हुने आशा व्यक्त गरेका छन् । त्यसमा उनले सम्झौताका लागि प्रयासहरू अगाडि बढाउन पाकिस्तानी मध्यस्थकर्ताहरूतर्फ हेरिरहेका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पका अघिल्ला टिप्पणीहरूले युद्धको स्थायी अन्त्यका लागि हप्तौंदेखि जारी उतारचढावपूर्ण वार्ता सम्झौता र पुनः आक्रमणको सिमानामा डगमगाइरहेको संकेत गरेका थिए ।

रुबियोले बिहीबार पत्रकारहरूलाई भने, ‘मलाई विश्वास छ, पाकिस्तानीहरू आज तेहरान जानेछन् । आशा छ, यसले यस प्रक्रियालाई थप अगाडि बढाउनेछ ।’

अप्रिल ८ को युद्धविरामले अमेरिका र इजरायलद्वारा केही हप्ताअघि सुरु गरिएको युद्धलाई रोकेको थियो तर इस्लामाबादमा आयोजित ऐतिहासिक प्रत्यक्ष वार्ता लगायतका वार्ता प्रयासहरू अहिलेसम्म स्थायी सम्झौता ल्याउन असफल भएका छन् ।

पाकिस्तानका शक्तिशाली सेना प्रमुख असिम मुनिरको नजिक मानिने आन्तरिक मामिला मन्त्री मोहसिन नक्वीले बुधबार एक हप्ताभित्र दोस्रोपटक इरानको भ्रमण गरे ।

इस्ना समाचार एजेन्सी लगायतका इरानी सञ्चारमाध्यमहरूले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै मुनिर आफैं बिहीबार तेहरान जान सक्ने रिपोर्ट गरेका थिए । तर, पाकिस्तानी अधिकारीहरूले सेना प्रमुखको कुनै पनि भ्रमण योजनाबारे टिप्पणी गरेका छैनन् ।

यद्यपि, बेइजिङले शनिबार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ चीन जाने घोषणा गरेको छ । चीन पनि युद्ध अन्त्यका लागि मध्यस्थता प्रयासमा संलग्न रहँदै आएको छ ।

खाडी क्षेत्रमा खुला युद्ध र आक्रमणहरू घटे पनि यस गतिरोधले विश्व अर्थतन्त्रमा दबाब दिइरहेको छ ।

पाकिस्तानले फेब्रुअरी २८ मा युद्ध सुरु भएयता अप्रिलमा अमेरिकी र इरानी अधिकारीहरूबीच भएको एक मात्र प्रत्यक्ष वार्ताको आयोजना गरेको थियो जसमा मुनिरले मध्यस्थता गर्न मद्दत गरेका थिए ।

तर, तेहरानले वाशिङटनमाथि अत्यधिक माग राखेको आरोप लगाएपछि ती वार्ताहरू अन्ततः असफल भए ।

त्यसयता दुवै पक्षले धेरै प्रस्तावहरू आदानप्रदान गरेका छन् जबकि पुनः द्वन्द्व हुने खतरा कायमै छ ।

ट्रम्पले बुधबार पत्रकारहरूलाई भने, ‘यो सम्झौताको बिल्कुलै नजिक छ, मेरो विश्वास गर्नुहोस् । हामीले सही जवाफ पाएनौं भने स्थिति छिट्टै बिग्रनेछ । हामी सबै तयार छौं ।’

उनले सम्झौता धेरै छिटो वा केही दिनमा हुन सक्ने बताए तर तेहरानले शतप्रतिशत राम्रो जवाफ दिनुपर्ने चेतावनी दिए ।

रुबियोले इरान विरुद्धको युद्धमा सहयोग गर्न अस्वीकार गरेको भन्दै नेटो सहयोगीहरूको पनि आलोचना गरे ।

उनले भने, ‘ट्रम्पले उनीहरूलाई सेना परिचालन गर्न वा लडाकु विमानहरू पठाउन भन्नुभएको छैन । तर, उनीहरू केही पनि गर्न अस्वीकार गर्छन् । हामी यस कुराबाट धेरै दुखी थियौं ।’

इरानमाथि आक्रमण भएमा सशक्त जवाफ दिने भन्दै मुख्य वार्ताकार मोहम्मद बगेर गालिबाफले बुधबार वाशिङटनलाई चेतावनी दिएपछि तेहरान पुनः सशस्त्र द्वन्द्वको सम्भावनाप्रति सतर्क अवस्थामा थियो ।

गालिबाफले भने, ‘शत्रुका गतिविधिहरू, चाहे ती खुला हुन् वा गोप्य, ले के देखाउँछ भने आर्थिक र राजनीतिक दबाबका बावजुद उसले आफ्नो सैन्य उद्देश्य त्यागेको छैन र नयाँ युद्ध सुरु गर्न खोजिरहेको छ ।’

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले वाशिङटनबाट प्राप्त बुँदाहरूलाई इस्लामिक गणतन्त्रले अध्ययन गरिरहेको बताए । साथै उनले विदेशमा रोक्का गरिएका सम्पत्ति फुकुवा गर्न र अमेरिकी जलसैनिक नाकाबन्दी अन्त्य गर्न तेहरानको माग दोहोर्याए ।

इरानविरुद्ध कडा टिप्पणी गरे पनि ऊर्जाको मूल्य बढेका कारण ट्रम्प स्वदेशमा राजनीतिक दबाबमा छन् ।

युद्धविरामले लडाइँ त रोक्यो तर हर्मुज जलयोजक खुल्न सकेको छैन जुन महत्त्वपूर्ण जलमार्गले सामान्यतया विश्वको करिब पाँचौं हिस्सा तेल र तरल प्राकृतिक ग्यास ओसार्छ ।

वार्तामा हर्मुजको भविष्य प्रमुख अडचनको रूपमा रहेको छ । युद्धअघिको तेल सञ्चिति सकिँदै जाँदा विश्व अर्थतन्त्रले थप कष्ट भोग्नुपर्ने डर बढ्दै गएको छ ।

इरानले आफूमाथिको आक्रमणको बदलामा हर्मुजमा नाकाबन्दी लगाएको थियो । हालैका हप्ताहरूमा उसले टोल सिस्टम (शुल्क प्रणाली) लागू गर्दै थोरै संख्यामा मात्र जहाजहरूलाई जान दिएको छ ।

हर्मुजको निरीक्षण गर्ने इरानको नयाँ निकायले आफ्नो नियन्त्रण क्षेत्र संयुक्त अरब अमिरात (यूएई) को पानीसम्म फैलिएको बताएपछि अबु धाबीले यसको कडा विरोध गरेको छ ।

अमेरिकी–इजरायली आक्रमणको जवाफमा तेहरानले खाडी देशहरूमा मिसाइल र ड्रोन प्रहार गरेपछि इरान र संयुक्त अरब अमिरातबीचको सम्बन्ध गम्भीर रूपमा बिग्रिएको छ ।

हर्मुजले विश्वव्यापी मल आपूर्तिको करिब एक तिहाइ हिस्सा बोक्छ जसका कारण यो बन्द रहिरहेमा खाद्य पदार्थको मूल्य बढ्ने र अभाव हुने चिन्ता थपिएको छ ।

युद्धको अर्को मोर्चामा इजरायली आक्रमणले बिहीबार दक्षिण लेबननको एक अस्पतालमा क्षति पुर्याएको लेबनानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

अप्रिल १७ मा युद्धविराम सुरु भएयता इजरायलले दक्षिण लेबननमा आक्रमण, संरचना भत्काउने र बस्ती खाली गर्ने आदेश जारी राखेको छ । उसले हिजबुल्लाहलाई निशाना बनाएको बताएको छ । त्यसले पनि आफ्ना आक्रमणहरू जारी राखेको छ ।

लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार, मार्च २ देखि यता इजरायली आक्रमणमा लेबननमा कम्तीमा ३ हजार ८९ जनाको मृत्यु भएको छ ।

अमेरिकी–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदला लिन इजरायलमाथि रकेट प्रहार गरेपछि हिजबुल्लाहले लेबननलाई मध्यपूर्वको युद्धमा धकेलेको थियो ।

अमेरिकाले बिहीबार हिजबुल्लाहसँग सम्बन्धित नौ व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ । तिनलाई लेबननको शान्ति प्रक्रियामा बाधा पुर्याएको आरोप लगाइएको छ ।