अमेरिकाका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई ट्रम्पको कठोर आप्रवासन नीति अपनाउन दबाब

147
Shares

एजेन्सी । अमेरिकाको गृह सुरक्षा विभागले ट्रम्प प्रशासनको आप्रवासन नीतिहरू पालना नगर्ने शहरका विमानस्थलहरूमा भन्सार प्रशोधन सेवाहरू कटौती गर्ने विचार गरिरहेको छ ।

यस प्रस्तावले जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थल र वाशिङटन डलेस अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका केही व्यस्त विमानस्थलहरूको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा अवरोध पुर्याउन सक्छ ।

यस योजनामा राहदानी जाँच र अन्तर्राष्ट्रिय यात्रीहरूको सामान निरीक्षणका लागि जिम्मेवार अमेरिकी भन्सार तथा सीमा सुरक्षा कर्मचारीहरूलाई फिर्ता बोलाउने कुरा समावेश छ । उद्योग प्रतिनिधिहरूका अनुसार, कर्मचारीको संख्या घट्यो भने एयरलाइन्सहरूले उडानहरू रद्द गर्नुपर्ने वा उडान मार्ग परिवर्तन गर्नुपर्ने हुनसक्छ ।

एयरलाइन्स फर अमेरिकाले प्रमुख अमेरिकी विमान कम्पनीहरूको प्रतिनिधित्व गर्छ । यस कदमले एयरलाइन्स र यात्रीहरूका लागि परिचालन समस्या निम्त्याउन सक्ने चेतावनी उसले दिएको छ ।

समूहले एक विज्ञप्तिमा भनेको छ, ‘प्रमुख विमानस्थलहरूमा सीबीपी कर्मचारी कटौती गर्दा एयरलाइन र पर्यटन उद्योगमा विनाशकारी असर पर्नेछ जसले वाहकहरू, यात्रीहरू र अन्तर्राष्ट्रिय कार्गो प्रवाहमा ठूलो अवरोध सिर्जना गर्नेछ ।’

ब्लूमबर्गको रिपोर्ट अनुसार, गृह सुरक्षा सचिव मार्कवेन मुलिनले मे १३ मा यूएस ट्राभल एसोसिएसनद्वारा आयोजित बैठकमा यस प्रस्तावबारे छलफल गरेका थिए । उक्त बैठकमा एयरलाइन र होटल क्षेत्रका कार्यकारीहरूको उपस्थिति रहेको बताइएको छ ।

छलफलका बारेमा जानकारी भएका दुई व्यक्तिहरूका अनुसार, ओरेगनको पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थल कर्मचारी कटौतीबाट प्रभावित हुने पहिलो विमानस्थलहरूमध्ये एक हुन सक्छ । अर्का एक व्यक्तिले न्यूयोर्कको जेएफके विमानस्थल पनि कटौतीको सूचीमा रहेको बताएका छन् ।

यूएस ट्राभल एसोसिएसनले विभागसँग यात्रा सम्बन्धी विषयमा छलफल भइरहेको पुष्टि गरेको छ । एसोसिएसनले भनेको छ, ‘आन्तरिक र अन्तर्राष्ट्रिय आगमन यात्रा दुवैका सन्दर्भमा हामी सबै तहका सरकारहरूलाई वैध यात्रीहरूको स्वतन्त्र र कुशल प्रवाहलाई प्रोत्साहन गर्ने नीतिहरू अपनाउन आग्रह गर्दछौं ।’

क्रिस्टी नोएम पछि मार्चमा गृह सुरक्षा सचिव बनेका मुलिनले गत महिना फक्स न्युजसँगको अन्तर्वार्तामा सार्वजनिक रूपमा यो धारणा राखेका थिए । प्रशासनको आप्रवासन नीतिहरू पालना नगर्ने शहरहरूले विभागबाट सेवाहरू प्राप्त गर्न नहुने उनले भनेका थिए ।

यस प्रस्तावका बारेमा सोधिएको प्रश्नमा गृह सुरक्षा विभागका प्रतिनिधिले फक्स न्यूजमा मुलिनले दिएको पुरानो टिप्पणीलाई नै उद्धृत गरेका छन् ।

उद्योगका कार्यकारी र अधिकारीहरूले प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरूमा भन्सार सञ्चालनमा गरिने कटौतीले विश्वव्यापी यात्री ट्राफिक र अमेरिकामा कार्गोको आवागमनलाई असर गर्न सक्ने बताएका छन् । जेएफके जस्ता विमानस्थलहरू साना शहरहरूमा उडान भर्ने यात्रीहरूका लागि प्रमुख ट्रान्सफर हबको रूपमा काम गर्छन् जसले उड्डयन सञ्जालभर व्यापक अवरोधको चिन्ता बढाएको छ ।

यातायात सचिव सीन डफीलाई बिहीबार संसदीय सुनुवाइका क्रममा यस विषयमा प्रश्न सोधिएको थियो । उनले आफू मुलिनको टिप्पणीबारे जानकार नरहेको र उनीसँग यस विषयमा प्रत्यक्ष छलफल गर्न चाहेको बताए ।

साथै डफीले भने, ‘हाम्रो राजनीतिसँग सहमत नहुने राज्यमा हामीले हवाई यात्रा बन्द गर्नु हुँदैन ।’ उनले प्रशासनहरू परिवर्तन भइरहने र यस्तो नीति भविष्यको सरकारले निरन्तरता नदिने सम्भावना रहेको पनि उल्लेख गरे ।