
एजेन्सी । उड म्याकेन्जीले हालैको प्रतिवेदनले हर्मुज जलयोजक बन्द भइरहेमा विश्वव्यापी कच्चा तेलको मूल्य सबैभन्दा खराब अवस्थामा प्रति ब्यारल २०० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।
फेब्रुअरीमा इरान युद्ध सुरु भएदेखि नै विश्वव्यापी ऊर्जा बजार तनावमा छ । तेलको मूल्यमा भएको वृद्धिका कारण विश्वभर उच्च मुद्रास्फीति र ब्याजदर बढ्ने चिन्ता थपिएको छ ।
उड म्याकेन्जीको रिपोर्टले हर्मुज जलयोजक खुल्ने समयसीमा र त्यसले तेल र ग्यास आपूर्ति, मूल्य र विश्व अर्थतन्त्रमा पार्ने प्रभावका आधारमा तीनवटा सम्भावित परिदृश्यहरू उल्लेख गरेको छ ।
पहिलो हो, द्रुत शान्ति परिदृश्य । यो सबैभन्दा सकारात्मक परिदृश्य हो । युद्धरत पक्षहरूबीच जुन महिनासम्ममा सहमति भएमा विश्व अर्थतन्त्रले तत्काल राहत पाउनेछ । यस अवस्थामा ब्रेन्ट कच्चा तेलको मूल्य सन् २०२६ को अन्त्यसम्ममा प्रति ब्यारल ८० डलर र सन् २०२७ मा ६५ डलरसम्म झर्न सक्छ ।
दोस्रो हो, ग्रीष्मकालीन सम्झौता परिदृश्य । यस परिदृश्यमा वार्ता ढिलो ग्रीष्मकालसम्म लम्बिने र जलयोजक धेरै हदसम्म बन्द रहने अनुमान गरिएको छ । तेल र एलएनजीको अभाव सन् २०२६ को तेस्रो त्रैमासिकसम्म कायम रहनेछ जसले सन् २०२६ को उत्तरार्धमा विश्वव्यापी आर्थिक मन्दीको जोखिम निम्त्याउन सक्छ ।
तेस्रो हो, सबैभन्दा खराब अवस्था परिदृश्य । सन् २०२६ को अन्त्यसम्म हर्मुज जलयोजक बन्द रहेमा तेलको मूल्य २०० डलर प्रति ब्यारल पुग्न सक्छ । तेलको माग दैनिक ६० लाख ब्यारलले घटे पनि आपूर्तिका कारण मूल्य उच्च रहनेछ । यसले सन् २०२६ मा विश्व अर्थतन्त्रलाई ०.४ प्रतिशतसम्म संकुचित पार्न सक्छ ।
रिपोर्टका अनुसार, हाल दैनिक १ करोड १० लाख ब्यारलभन्दा बढी खाडी क्षेत्रको कच्चा तेल र कन्डेन्सेट उत्पादनमा कटौती भएको छ । साथै, विश्वव्यापी आपूर्तिको २० प्रतिशत हिस्सा ओगट्ने वार्षिक ८ करोड टन एलएनजी आपूर्ति पनि प्रभावित भएको छ ।
उड म्याकेन्जीका अर्थशास्त्र प्रमुख पिटर मार्टिनले भनेका छन्, ‘हर्मुज जलयोजक विश्व ऊर्जा बजारको सबैभन्दा महत्त्वपूर्ण नाका हो । यो लामो समय बन्द हुनु ऊर्जा संकट मात्र नभई औद्योगिक गतिविधि, व्यापार प्रवाह र विश्वव्यापी आर्थिक वृद्धिमा ठूलो धक्का हुनेछ ।’
लामो समयसम्म अवरोध कायम रहेमा एसिया र युरोपका देशहरूले खनिज इन्धनको प्रयोग घटाएर विद्युतीकरण र वैकल्पिक ऊर्जा स्रोतहरूमा जोड दिनेछन् । यसैबीच आपूर्तिको विविधीकरण खोजिरहेका देशहरूका कारण अमेरिकी एलएनजी निर्यातकहरूलाई भने फाइदा पुग्ने रिपोर्टले औंल्याएको छ ।





प्रतिक्रिया