बैंकिङ प्रणालीबाट थप १०० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

35
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता प्रशोधन गर्ने भएको छ । शुक्रबार बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल गर्दै छ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जेठ ८ गते दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल आह्वान गरेको हो । केन्द्रीय बैंकले ६१ दिनको अवधिका लागि यो निक्षेप संकलन गर्न लागेको हो ।

६१ दिन अवधिको निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी २०८१ साउन ६ गते हुनेछ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोलमा सहभागी हुन पाउनेछन् ।

सहभागी बैंकहरूले ब्याजदरमा बोलकबोल गर्नुपर्नेछ भने बहु–ब्याजदरमा पनि बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल प्रस्ताव गर्न पाइनेछ ।

राष्ट्र बैंकले प्रकाशित गरेको सूचनाअनुसार, यसरी संकलन गरिएको निक्षेप रकमलाई सम्बन्धित बैंकहरूले अनिवार्य नगद मौज्दातमा गणना गर्न पाउने छैनन् । तर, यसलाई वैधानिक तरलता अनुपात र तरलता अनुपातमा भने गणना गर्न पाइनेछ ।

यस उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिनेछ । बोलकबोल स्वीकृत भएका बैंकहरूको खातामा पर्याप्त मौज्दात नभएमा उनीहरूलाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन प्रतिबन्ध लगाइने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

बजारमा अधिक तरलता भएर ब्याजदर निकै तल झर्न थालेपछि राष्ट्र बैंकले निरन्तर रूपमा बजारबाट पैसा खिच्दै आएको छ। यो निक्षेपको सावाँ र ब्याज आगामी साउन ६ गते भुक्तानी हुने र त्यसअघि ‘प्रि–मच्योर’ भुक्तानी हुने छैन ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले खिचेको तरलता मौज्दात १० खर्ब ५९ अर्ब ५ करोड रुपैयाँ पुगिसकेको छ । शुक्रबार पनि १ खर्ब रुपैयाँ बोलकबोल गर्न लागेको हो ।