एनभिडियाले तीन महिनामा कमायो ८१.६ अर्ब डलर, तैपनि लगानीकर्ता छैनन् खुशी

91
Shares

एजेन्सी । चिप क्षेत्रको दिग्गज कम्पनी एनभिडियाले फेरि अर्को कीर्तिमानी त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । त्यसमा बिक्री र नाफा अपेक्षा गरेभन्दा बढी देखिएको छ ।

यसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को लहरमा कुनै सुस्तता नआएको संकेत गर्छ ।

एनभिडिया एआई पूर्वाधारको मुख्य खेलाडी हो जसले ओपनएआई र मेटा जस्ता प्रमुख एआई मोडल विकासकर्ताहरूलाई चिप्स उपलब्ध गराउँछ । त्यसैले यसको नतिजालाई विश्वभर नजिकबाट नियालिन्छ ।

कम्पनीले पहिलो त्रैमासिक राजस्व अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले बढेर ८१.६ अर्ब डलर पुगेको जानकारी दिएको छ भने खुद आम्दानी तीन गुणाभन्दा बढीले बढेर ५८.३ अर्ब डलर पुगेको छ ।

तर, आफ्टर–आवर कारोबारमा कम्पनीको सेयर मूल्य १.६ प्रतिशतले घटेको छ । विश्लेषकहरूका अनुसार, लगानीकर्ताहरू एनभिडियाको उत्कृष्ट नतिजामा अभ्यस्त भइसकेका छन् र कम्पनीले भविष्यमा बढ्दो प्रतिस्पर्धाको सामना गर्नुपर्ने हुनसक्ने चिन्ता पनि देखिएको छ ।

एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी हो । यसको सेयर बजार मूल्य करिब ५३ खर्ब डलर रहेको छ ।

आफ्नो पछिल्लो नतिजामा कम्पनीले डेटा सेन्टर डिभिजनमा भएको बलियो वृद्धिका कारण बिक्री बढेको बताएको छ ।

यस दशकको अन्त्यसम्ममा एआई पूर्वाधारमा हुने खर्च प्रतिवर्ष ३० खर्ब डलरदेखि ४० खर्ब डलरको बीचमा हुने अनुमान कम्पनीले गरेको छ ।

‘माग अत्यधिक रूपमा बढेको छ,’ प्रमुख कार्यकारी जेन्सेन ह्वाङले एक कन्फरेन्स कलमा विश्लेषकहरूलाई भने, ‘कारण सरल छः एजेन्टिक एआईको युग सुरु भएको छ ।’

तर, विस्तारित कारोबारमा यसको सेयर मूल्य घट्यो जसलाई अमेरिकी भेन्चर क्यापिटल फर्म सिट्रिन भेन्चर पार्टनर्सकी प्रबन्ध साझेदार रुथ फक्स–ब्लेडरले ल अफ लार्ज नम्बर्सको परिणाम भनेकी छन् ।

उनले बीबीसीसँग भनिन्, ‘एनभिडियाले एस एन्ड पी ५०० को ८ प्रतिशत हिस्सा ओगटेको छ । एनभिडियाले उत्कृष्ट तथ्यांकहरू प्रस्तुत गरे पनि यो तीव्र वृद्धि निरन्तर रहन्छ भन्ने विश्वास भएन भने लगानीकर्ताहरू धेरै उत्साहित हुन गाह्रो हुन्छ ।’

‘तर, यो केवल लगानीकर्ताहरूले अझ बढी वृद्धि खोजिरहेका छन् भन्ने कुरा हो जसले गर्दा सुरुवाती चरणमै सेयर बिक्रीको संकेत देखिएको छ ।’

इन्टरएक्टिभ इन्भेस्टरकी लगानी प्रमुख भिक्टोरिया स्कलरले कम्पनीका लागि यो एक बलियो त्रैमासिक भए पनि ‘एआई क्षेत्रको नेतृत्वदायी यस कम्पनीका लागि अपेक्षाको सीमा निकै माथि छ जसले अविश्वसनीय रूपमा प्रभावशाली नतिजाहरू दिने बानी बसालेको छ’ भन्ने कुरामा सहमति जनाइन् ।

उनले थपिन्, ‘साथै, आम्दानीको रिपोर्ट आउनुअघि नै सेयर मूल्य बढिसकेकाले लगानीकर्ताहरूले हल्लामा किन्ने र तथ्य बाहिर आएपछि बेच्ने प्रवृत्ति अपनाए ।’

‘डेटा सेन्टरको परिदृश्य बदलिँदै जाँदा र ठूला प्रविधि कम्पनीहरूले आफ्नै चिप्स विकास गर्न थालेकाले प्रतिस्पर्धाको बढ्दो खतराप्रति एनभिडियाका लगानीकर्ताहरूमा केही चिन्ताहरू देखिएका छन् ।’