
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इटलीकी समकक्षी जर्जिया मेलोनीलाई मेलोडी चकलेट उपहार दिएपछि दलाल स्ट्रिटमा अझै पनि मेलोडी गुञ्जिरहेको छ । तर यसपटक सेयर बजारलाई गीतको शब्द थाहा नहुन सक्छ ।
यो कि त अत्यन्तै अज्ञानी कदम हो वा भव्य रूपमा बुद्धिमान । दलाल स्ट्रिटले फेरि त्यस्तै गरिरहेको छ ।
मोदीले मेलोनीलाई मेलोडी टफी उपहार दिएको भोलिपल्ट लगानीकर्ताहरू पार्ले इन्डस्ट्रिजको सेयर खरिद गर्न तँछाडमछाड गरेका छन् । त्यस कम्पनीको मेलोडी टफीसँग कुनै सम्बन्ध छैन ।
मेलोनीले प्रधानमन्त्री मोदी र प्रख्यात मेलोडी सन्दर्भ समेटिएको भाइरल भिडियो पोस्ट गरेपछि बुधबारदेखि यो अन्योल सुरु भएको हो । साना लगानीकर्ताहरूले उक्त चर्चित टफी बनाउने कम्पनी खोज्न हतार गरे । तर, त्यहाँ एउटा समस्या थियो ।
वास्तविक उत्पादक कम्पनी पार्ले प्रोडक्ट्स सूचीकृत नभएको निजी कम्पनी हो । यसको सेयर स्टक मार्केटमा किन्न पाइँदैन ।
त्यसैले, धेरै लगानीकर्ताहरूले उस्तै नाम भएको अर्को कम्पनी वा भनौं गलत कम्पनी पार्ले इन्डस्ट्रिज रोजे ।
र यो उन्माद त्यतिमै रोकिएन ।
बिहीबार पनि पार्ले इन्डस्ट्रिजको सेयर झण्डै ५ प्रतिशतले बढेर ५.५१ भारु पुग्यो । न कुनै ठूलो अर्डर आएको थियो, न आम्दानीमा कुनै सुखद आश्चर्य थियो, न त कुनै व्यवसाय विस्तार वा कर्पोरेट घोषणा नै भएको थियो । केवल एउटा भाइरल रिल, एक परिचित नाम, र सबैको ध्यान त्यसतर्फ मोडिनु नै यसको कारण थियो ।
अब ठूलो प्रश्न यो उब्जिएको छः के यो अझै पनि अन्योल नै हो वा यो एक खेल बनेको छ ?
बुधबारको वृद्धि गलत पहिचानका कारण सुरु भएको हुन सक्ने बजार विश्लेषकहरू बताउँछन् । तर, बिहीबारको चालले अर्कै कुराको संकेत गर्छ । अर्थात्, मोमेन्टम ट्रेडिङ आफैंमा फस्टाउँदैछ ।
यसको सिद्धान्त सरल छ । व्यापारीहरूले भाइरल भएको स्टक पत्ता लगाउँछन् । उनीहरूले कारोबारको मात्रा बढाउँछन् ।
मूल्य अझै बढ्ने आशामा अरू पनि त्यसमा हाम फाल्छन् । कुनै विन्दुमा पुगेपछि सुरुमा किन्नेहरू नाफा लिएर बाहिरिन्छन् भने ढिलो प्रवेश गर्नेहरू बजार सेलाएपछि घाटामा पर्छन् ।
एएमएफआई दर्ता प्राप्त म्युचुअल फन्ड वितरक अभिषेक भिलवारियाले मेलोडी–पार्लेको यो वृद्धि भेडाचाल प्रवृत्तिले तर्कलाई उछिनेको उत्कृष्ट उदाहरण भएको बताए ।









प्रतिक्रिया