
एजेन्सी । तेलले भरिएका दुईवटा चिनियाँ ट्यांकरहरू बुधबार हर्मुज जलयोजकबाट बाहिरिएका छन् ।
पानीजहाजहरूको आवागमन सम्बन्धी तथ्यांकले यो देखाएको हो । यसले अमेरिकी राष्ट्रपति र उनका उपराष्ट्रपतिको सकारात्मक टिप्पणीपछि इरानसँगको अमेरिका–इजरायल द्वन्द्व छिट्टै समाधान हुन सक्ने आशा जगाएको छ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले मंगलबार युद्ध धेरै छिट्टै समाप्त हुने बताएका छन् भने उपराष्ट्रपति जेडी भ्यान्सले शत्रुता अन्त्य गर्ने सम्झौताका बारेमा तेहरानसँगको वार्तामा प्रगति भइरहेको बताएका छन् ।
द्वन्द्व अन्त्यका लागि तेहरानबाट आएको नयाँ प्रस्तावपछि आफूले शत्रुता पुनः सुरु गर्ने योजनालाई रोकेको बताएको एक दिनपछि ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् ।
‘म आजै (आक्रमणको) निर्णय लिनुभन्दा मात्र एक घण्टा टाढा थिएँ,’ ट्रम्पले मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूलाई बताए ।
इरानका नेताहरू सम्झौताका लागि अनुनय गरिरहेका छन् भन्दै उनले कुनै सम्झौता नभएमा आगामी दिनमा अमेरिकाले नयाँ आक्रमण गर्ने चेतावनी दिए ।
अमेरिकाले झण्डै तीन महिनाअघि इजरायलसँग मिलेर सुरु गरेको युद्ध अन्त्य गर्न संघर्ष गरिरहेको छ । ट्रम्पले द्वन्द्वका क्रममा पटक–पटक तेहरानसँगको सम्झौता नजिक रहेको बताएका छन् र साथै सम्झौता नभए इरानमाथि ठूलो आक्रमण गर्ने धम्की पनि दिँदै आएका छन् ।
अमेरिकाका राष्ट्रपति हर्मुज जलयोजक पुनः खोल्ने सम्झौतामा पुग्नका लागि स्वदेशमा तीव्र राजनीतिक दबाबमा छन् जुन विश्वव्यापी तेल र अन्य सामग्री आपूर्तिका लागि एक प्रमुख मार्ग हो । पेट्रोलको मूल्य उच्च रहेको छ र नोभेम्बरमा हुने संसद्को चुनाव नजिकिँदै गर्दा ट्रम्पको लोकप्रियताको रेटिङ स्वाट्टै घटेको छ ।
यस द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिमा अहिलेसम्मकै खराब अवरोध पुर्याएको छ । यसले खाडीबाट सयौं ट्यांकरहरूलाई बाहिर निस्कन रोकेको छ र यस क्षेत्रका ऊर्जा र ढुवानी सुविधाहरूमा क्षति पुर्याएको छ ।
एलएसईजी र केपलरको तथ्यांक अनुसार, यस महिना खाडीबाट बाहिरिने इराकी कच्चा तेल बोकेका थोरै संख्याका सुपरट्यांकरहरूमध्ये दुईवटा चिनियाँ जहाजहरू झण्डै ४० लाख ब्यारल कच्चा तेल बोकेर साँघुरो जलयोजक हुँदै बाहिरिएका छन् ।
ह्वाइट हाउस र खाडी क्षेत्रबाट आएका सकारात्मक संकेतहरूका कारण तेलको मूल्यमा केही कमी आयो जहाँ ब्रेन्ट क्रुड प्रति ब्यारल ११०.१६ डलरसम्म झरेको थियो यद्यपि पछि यसले आफ्नो धेरैजसो गिरावटलाई पुनः प्राप्त गरेको छ ।
‘उनीहरू सम्झौता गर्न धेरै आतुर छन् । उनीहरू यसबाट थाकिसकेका छन् ।’
‘अमेरिकाको अडान दिनहुँ परिवर्तन भइरहेको अवस्थामा वाशिङटन र तेहरानले वास्तवमै साझा धारणा बनाएर शान्ति सम्झौता गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको भेउ पाउन लगानीकर्ताहरू उत्सुक छन्,’ फुजितोमी सिक्योरिटिजका विश्लेषक तोसिताका ताजावा भन्छन् ।
ह्वाइट हाउसको ब्रिफिङमा पत्रकारहरूसँग कुरा गर्दै भ्यान्सले विभाजित इरानी नेतृत्वसँग वार्ता गर्न कठिनाइ भइरहेको स्वीकार गरे । उनले भने, ‘टोलीको वार्ताको अडान के हो भन्ने कुरा कहिलेकाहीँ पूर्ण रूपमा स्पष्ट हुँदैन ।’ त्यसैले अमेरिकाले आफ्ना रेड लाइन्स स्पष्ट पार्ने प्रयास गरिरहेको छ ।
उनले ट्रम्पको नीतिको एउटा उद्देश्य यस क्षेत्रमा आणविक हतियारको होडबाजीलाई फैलनबाट रोक्नु रहेको पनि बताए ।
इरान विरुद्धको कुनै पनि कदमको अर्थ निर्णायक सैन्य प्रतिक्रियाको सामना गर्नु हो भन्ने महसुस गरेर ट्रम्पले आक्रमण रोकेका हुन्, इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजिजीले एक्समा भनेका छन् ।





प्रतिक्रिया