डब्लूडब्लूएन रोड रन २०२६ सम्पन्न, १ हजार महिलाको स्वास्थ्यका लागि १० किमि दौडिए सहभागी

231
Shares

काठमाडौं । महिनावारी स्वच्छता र स्वास्थ्य व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ ललितपुरमा ‘डब्लूडब्लूएन रोड रन २०२६: १ हजार महिलाका लागि १० किमि’ सफलतापूर्वक सम्पन्न भएको छ । वाइन टु वाटर नेपालद्वारा आयोजित यस १० किलोमिटर लामो दौड शनिबार बिहान ६:४५ बजे पाटन दरबार स्क्वायरबाट सुरु भएको थियो ।

ग्रामीण तथा विपन्न समुदायका महिलाहरूलाई सहयोग पुर्‍याउने लक्ष्य राखिएको यस कार्यक्रममा विभिन्न क्षेत्रका सयौं सहभागीहरूको उत्साहजनक उपस्थिति थियो । संकलित सहयोगबाट वाइन टु वाटर नेपालले कार्य गर्दै आएका १६ वटा समुदायका १,००० महिलाहरूलाई महिनावारी स्वच्छतासम्बन्धी सचेतना प्रदान गर्नुका साथै उनीहरूलाई प्याड वितरण गरिने आयोजकले जनाएको छ ।

महिनावारी स्वास्थ्य तथा सरसफाइ दिवस २०२६ को पूर्वसन्ध्यामा आयोजित यस दौड प्रतियोगिताले खेलकुदलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने प्रयास गरेको छ । कार्यक्रममा सहभागीहरूलाई उमेर र शारीरिक क्षमताका आधारमा ६ वटा विधामा विभाजन गरिएको थियो । जसमा १६ वर्षमुनि, १६–३५ वर्ष, ३५–५० वर्ष, ५० वर्षमाथि, प्रोफेशनल रनर र फरक क्षमता भएका व्यक्तिहरूको छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो ।

यस वर्षको कार्यक्रमको एउटा विशेष पक्ष भनेको ‘दौड र महिनावारी’ बीचको भावनात्मक सम्बन्धको सन्देश थियो । पहिलो पटक महिनावारी हुँदाको कौतुहलता र दौड सुरु गर्दाको उत्साह, तथा निरन्तरको दौडले ल्याउने थकान र महिनावारीको समयमा हुने शारीरिक-मानसिक असहजतालाई प्रतिकात्मक रूपमा जोड्दै समाजमा संवेदनशीलता जगाउने प्रयास गरिएको थियो ।

कार्यक्रमको समापनमा वाइन टु वाटर नेपालका राष्ट्रिय निर्देशक नीजन श्रेष्ठले जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, ट्राफिक प्रहरी, सञ्चारकर्मी, स्वयंसेवक र सहयोगी संस्थाहरूलाई विशेष धन्यवाद ज्ञापन गरे । उनले भने, ‘हाम्रो सानो प्रयासले १६ समुदायका १,००० महिलाको स्वास्थ्य र मर्यादामा ठूलो परिवर्तन ल्याउनेछ ।’

सन् २०१६ देखि नेपालमा सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा क्रियाशील वाइन टु वाटर नेपालले ग्रामीण समुदायमा जीवनस्तर सुधारका लागि विभिन्न आयआर्जन र स्वास्थ्य सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस दौडबाट संकलित रकम पूर्ण रूपमा महिलाहरूको महिनावारी स्वास्थ्य र शिक्षाका लागि प्रयोग गरिने संस्थाले स्पष्ट पारेको छ ।