नेपाली सिनेमाको केन्द्रमा महिला: समाज, सशक्तिकरण र अर्थतन्त्र

1.1k
Shares

नेपाल एउटा बहुभाषीय, बहुसांस्कृतिक, बहुलैंगिक तथा ऐतिहासिक पहिचान बोकेको देश हो । नेपाली समाजमा विगतदेखि नै लिङ्गका आधारमा महिला र पुरुषलाई छुट्ट्याएर सामाजिक संरचना निर्माण गरिएको पाइन्छ । तर समयसँगै समाजमा लैङ्गिक विविधताको पहिचान विस्तार हुँदै गएको छ, र आजको अवस्थामा महिला, पुरुष तथा यौनिक अल्पसंख्यक समुदायलाई समेत समाजले लिङ्गिक संरचनाभित्र समेट्न थालेको देखिन्छ ।

ऐतिहासिक रूपमा हेर्दा, नेपालमा शिक्षा प्राप्त गर्ने अवसर मुख्यतः पुरुषहरूमा सीमित थियो । पछि क्रमशः उच्च तथा सम्पन्न वर्गका महिलाहरूले पनि शिक्षामा पहुँच पाउन थाले । समाजको चेतनास्तर वृद्धि, राजनीतिक परिवर्तन, शिक्षा नीतिको विस्तार तथा समावेशी अवधारणाको विकाससँगै अहिले शिक्षा सबै वर्ग र समुदायसम्म पुगेको छ ।

एक्काइसौं शताब्दीको वर्तमान समयमा, विशेषगरी २०८३ सालसम्म आइपुग्दा, नेपालका हरेक भाषा, धर्म, संस्कृति, जिल्ला, वडा, गाउँ तथा पालिकासम्म शिक्षाको पहुँच विस्तार भएको छ । आज महिला, पुरुष तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू समेत शिक्षाप्रति समान रूपमा आकर्षित र सचेत भएका छन् । शिक्षा अब कुनै एक वर्ग वा लिङ्गको विशेष अधिकार नभई समाजका सबै व्यक्तिको आधारभूत अधिकार र सशक्तिकरणको माध्यम बनेको छ ।

महिलाहरू तथा अन्य लैङ्गिक समुदाय शिक्षित हुँदै गएपछि आजको नेपाली समाजमा महिला सशक्तीकरण, आर्थिक सहभागिता र नेतृत्वजस्ता विषयहरू निकै अगाडि आएका छन् । यसले नेपाली महिलाहरूलाई विश्वस्तरमै चिनाउन सफल भएको छ । आज महिलाहरू केवल घरभित्र सीमित रहने पात्र होइनन्, उनीहरू राजनीति, शिक्षा, व्यवसाय, कला, सञ्चार, विज्ञानदेखि अर्थतन्त्रको अग्रपङ्क्तिसम्म आफ्नो उपस्थिति बलियो बनाइरहेका छन् । हाम्रो समाजमा धेरैलाई आफ्नी छोरी, बुहारी वा दिदीबहिनी सफल भएको मन पर्छ, तर त्यो सफलता घरको सम्पूर्ण जिम्मेवारी पूरा गरेपछि मात्रै स्वीकार गरिन्छ । महिलाले आफ्नो सपना पछ्याउनुअघि घर, परिवार र समाजको अपेक्षाको भारी बोकेर अघि बढ्नुपर्छ । यही दोहोरो जिम्मेवारीले महिलाको संघर्षलाई अझ कठिन बनाउँछ ।

महिलाहरू शिक्षित हुँदै अगाडि बढेसँगै उनीहरूले आफ्नो रुचि, क्षमता र पहिचानलाई पनि शिक्षामार्फत खोज्न थालेका छन् । यही परिवर्तनले आज नेपाली समाजमा मात्र होइन, नेपाली सिनेमामा पनि ठूलो प्रभाव पारेको छ । मैले यहाँ विशेष रूपमा उठाउन खोजेको विषय भनेको नेपाली सिनेमाको केन्द्रमा महिला, समाज, सशक्तीकरण र अर्थतन्त्र कसरी जोडिएका छन् भन्ने हो ।

नेपाली सिनेमाको विकासक्रमलाई हेर्दा, सुरुवाती समयमा महिलाहरूलाई प्रायः ‘आमा’, ‘छोरी’ वा सहायक पात्रका रूपमा मात्र प्रस्तुत गरिन्थ्यो । त्यसपछि विस्तारै उनीहरू ‘प्रेमिका’ वा ‘गर्लफ्रेन्ड’ को भूमिकामा सीमित भए । समयसँगै महिलाका नाममा फिल्म बन्न थाले, तर अहिले आएर महिलाहरू केवल पात्र मात्र होइनन्—उनीहरू नेपाली सिनेमाकै केन्द्र बनेका छन् ।

आजको वर्तमान समयमा हामीले स्पष्ट रूपमा देखिरहेका छौँ कि महिलामुखी कथाहरूले नेपाली सिनेमालाई नयाँ दिशा दिइरहेका छन् हालै रिलिज भएका वा चर्चामा रहेका सिनेमाहरूमा पनि महिलाहरू नै कथाको केन्द्रमा छन्,’लालीबजार’मा स्वस्तिमा खड्का, ‘मालती मङ्गले’मा वर्षा राउत, ‘एक मुठ्ठी बादल’मा ऑंचल शर्मा र  ‘लाईफ ड्यामेज’मा सुरक्षा पन्तजस्ता कलाकारहरूको केन्द्रिय उपस्थिति देखिन्छ । त्यसैगरी भर्खर सार्वजनिक भएको ‘मास्टर्नी’को केन्द्रमा प्रियंका कार्की हुनु पनि यही परिवर्तनको संकेत हो ।

नेपाली सिनेमामा एउटा निर्देशकले निर्देशन गर्दाखेरि महिलापात्र आवश्यक छ भनेर सोच्नुहुन्छ होला । एउटा निर्माता (प्रोड्युसर) ले लगानी गर्दाखेरि ‘महिला केन्द्रमा भएको सिनेमा चल्छ, दर्शकले रुचाउँछन्’ भनेर विश्वास गर्नुहुन्छ होला । एउटा लेखकले कथा सिर्जना गर्दा कुनै निश्चित पात्रलाई मनमा राखेर ‘यो कथा यसैलाई सुहाउँछ’ भनेर लेख्नुहुन्छ होला । त्यस्तै, प्राविधिक टोलीले पनि कुनै पात्रलाई कसरी सुन्दर ढंगले प्रस्तुत गर्ने, कुन कोणबाट राम्रो क्लोजअप आउँछ भनेर सोचिरहेको हुन्छ तर यी सबैभन्दा पर गएर, अझ गहिरो रूपमा हेर्ने हो भने, सिनेमाको केन्द्रमा महिला हुनु केवल एउटा पात्रको उपस्थिति मात्र होइन । यसले समाजको दृष्टिकोण परिवर्तन गरिरहेको हुन्छ । जब महिलाका कथा, संघर्ष, सपना, निर्णय र अस्तित्वले पर्दामा स्थान पाउँछन्, तब समाजले महिलालाई हेर्ने दृष्टि पनि विस्तार हुँदै जान्छ ।

यसले महिला सशक्तीकरणलाई बलियो बनाउँछ, किनकि महिलाहरूले आफूलाई प्रतिनिधित्व गरिएको महसुस गर्न थाल्छन् । उनीहरू केवल अरूको कथामा सहायक पात्र होइनन्, आफ्नै कथाको केन्द्र बन्न थालेका छन् । अर्कोतर्फ, महिलामुखी सिनेमाले अर्थतन्त्रमा पनि गहिरो प्रभाव पारिरहेको छ । महिलाहरू अब अभिनयमा मात्र सीमित छैनन्; उनीहरू निर्माण, निर्देशन, लेखन, प्रचारप्रसार र बजार व्यवस्थापनसम्म सक्रिय रूपमा उपस्थित भइरहेका छन् । यसले नेपाली सिने उद्योगलाई नयाँ ऊर्जा दिएको छ । एउटा फिल्मको सुरुदेखि अन्त्यसम्म कथा बोकेर हिँड्ने, त्यसलाई दर्शकसम्म पुर्याउने र त्यसको भावनात्मक गहिराइलाई जीवित राख्ने जिम्मेवारी आज धेरै महिलाहरूले निभाइरहेका छन् ।

हामी दर्शकले पर्दामा हेर्ने सिनेमा बढीमा तीन वा चार घण्टाको हुन सक्छ, तर त्यो तीन घण्टाभित्र समेटिएको मेहनत भने महिनौँ र कहिलेकाहीँ वर्षौंको संघर्ष हुन्छ । आज कलाकारहरूले सामाजिक सञ्जालमार्फत आफ्नो सुटिङ, अभ्यास, थकान, यात्रा र निरन्तरको मेहनत दर्शकहरूसँग बाँडिरहेका हुन्छन् । त्यसैले आज दर्शकले केवल फिल्म मात्र होइन, त्यो फिल्मभित्रको संघर्ष र श्रमलाई पनि देख्न थालेका छन् । जब महिला आर्थिक रूपमा सक्षम हुन्छिन्, तब समाजले उनीलाई हेर्ने दृष्टि पनि बदलिन्छ । आज नेपाली सिनेमाका केन्द्रमा रहेका स्वस्तिमा खड्का, वर्षा राउत, आँचल शर्मा, सुरक्षा पन्त र प्रियंका कार्की जस्ता कलाकारहरू केवल अभिनेत्री मात्र होइनन्, उनीहरू छोरी हुन्, बुहारी हुन् र प्रियंका त आमा पनि हुन् । उनीहरूले आफ्नो व्यक्तिगत जीवन, परिवार र सामाजिक जिम्मेवारीसँगै आफ्नो करिअरलाई पनि अघि बढाइरहेका छन् ।

पक्कै पनि यो यात्रा सजिलो छैन । घर, समाज, काम, अपेक्षा र व्यक्तिगत संघर्षबीच आफूलाई निरन्तर प्रमाणित गर्दै अघि बढ्नु निकै कठिन कुरा हो । तर कठिनाइका बाबजुद पनि उनीहरू आफ्नो काममा निरन्तर लागिरहेका छन्, अगाडि बढिरहेका छन् ।

सायद आज यी महिला कलाकारहरू जहाँ पुग्नुभएको छ, त्यो यात्रा सुरुदेखि नै सजिलो थिएन । एक समय यस्तो पनि थियो, जहाँ महिला कलाकारहरूले आफ्ना पुरुष सहकर्मीसरह सम्मान, अवसर र पारिश्रमिक पाउँदैनथे । कला क्षेत्रमा महिलाको कामलाई कम आँक्ने प्रवृत्ति समाजमा गहिरो रूपमा रहेको थियो ।

तर आज समय बदलिएको छ । आज नेपाली महिला कलाकारहरू आफ्नो श्रम, क्षमता र सिर्जनाको मूल्य खुलेर माग्न सक्ने अवस्थामा पुग्नुभएको छ । उहाँहरू अब केवल ‘अरूको फिल्ममा अभिनय गर्ने कलाकार’ मात्र हुनुहुन्न । आज उहाँहरू भन्न सक्नुहुन्छ, ‘म आफ्नै सिनेमा बनाउँछु, आफ्नै कथा लेख्छु, आफ्नै निर्माण गर्छु र आफ्नै निर्देशन गर्छु ।’

यो परिवर्तन केवल व्यक्तिगत सफलताको कथा होइन; यो वर्षौंको संघर्ष, निरन्तर मेहनत र आत्मविश्वासको फल हो । हरेक घर, हरेक परिस्थिति र अनेक सामाजिक दबाबसँग जुध्दै महिलाहरू यहाँसम्म आइपुगेका छन् । त्यसैले यो यात्रा केवल कलाकारहरूको सफलता मात्र होइन, नेपाली महिलाहरूको सामूहिक उपलब्धि पनि हो । आज समाजले उहाँहरूको कामलाई मूल्याङ्कन गर्न थालेको छ । दूरदराजमा बसेर जीवनसँग संघर्ष गरिरहेका धेरै महिलाहरूले पर्दामा निभाइएका पात्रहरूमा आफ्नै कथा देखिरहेका छन् । उनीहरूले यी कलाकारहरूबाट प्रेरणा, आत्मविश्वास र अगाडि बढ्ने साहस लिइरहेका छन् ।

आज अग्रपङ्क्तिमा रहेका कलाकारहरू केवल सिनेमाका केन्द्रमा मात्र हुनुहुन्न; उहाँहरू समाज, महिला सशक्तीकरण र अर्थतन्त्रसँग पनि गहिरो रूपमा जोडिनुभएको छ । उहाँहरूको सफलताले दूरदराजमा बसेर दिनरात संघर्ष गरिरहेका महिलाहरूलाई पनि सपना देख्न सिकाइरहेको छ । नेपाली महिलाहरू अझ धेरै अन्तर्राष्ट्रिय मञ्चसम्म पुगून्, अझ धेरै सशक्त बनून्, र आफ्ना कथा आफैँ लेख्ने साहस राखून् भन्ने अपेक्षा र शुभकामना पनि यही यात्रासँग जोडिएको छ । आज नेपाली सिनेमाको केन्द्रमा महिला, समाज, सशक्तीकरण र अर्थतन्त्रको कुरा गरिरहँदा अहिलेका पुस्ताका कलाकारहरूको मात्र चर्चा गरेर पुग्दैन ।

भुवन चन्द, माला सिन्हा, लक्ष्मी गिरी, बसुन्धारा भुसाल, करिश्मा मानन्धर, झरना थापा, रेखा थापा र अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली कला र नेपाली महिला कलाकारको सौन्दर्य तथा अभिनयलाई चिनाउन सफल मनिषा कोइराला जस्ता व्यक्तित्वहरूको योगदान अत्यन्त महत्वपूर्ण छ । भुवन चन्द जस्ता अग्रज कलाकारहरूले आफ्नो संघर्ष, योगदान र यात्रामार्फत नेपाली सिनेमामा महिलाहरूलाई केन्द्रमा उभिने आधार तयार गर्नुभएको हो ।

आज महिलाहरू केवल भावनात्मक रूपमा मात्र होइन, आर्थिक रूपमा पनि सशक्त बन्दै गएका छन् । उनीहरूको हातमा अर्थतन्त्र जोडिएको छ । जब महिला र अर्थतन्त्र एकअर्कासँग जोडिन्छन्, तब महिलाको निर्णय क्षमता, आत्मविश्वास र सामाजिक सम्मान पनि बलियो बन्दै जान्छ । त्यसैले नेपाली सिनेमाको केन्द्रमा महिला हुनु केवल कला वा मनोरञ्जनको विषय मात्र होइन; यो समाजमा महिलाको बदलिँदो हैसियत, आर्थिक स्वतन्त्रता र सशक्त अस्तित्वको प्रतीक पनि हो ।

(लेखक खरेल सामाजिक विज्ञानकी अध्येता हुन् ।)