सहरी क्षेत्रका औद्योगिक क्षेत्रलाई ‘हस्तकला ग्राम’ बनाउन सांसद रुकेश रञ्जितको प्रस्ताव

56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रुकेश रञ्जितले सहरी क्षेत्रभित्र रहेका औद्योगिक क्षेत्रहरूलाई ‘हस्तकला ग्राम’ को रूपमा विकास गर्न सरकारलाई सुझाव दिएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा बोल्दै सांसद रञ्जितले यस्तो उल्लेख गरेका हुन् ।

सहरीकरणसँगै सहरको केन्द्रमा पर्न गएका औद्योगिक क्षेत्रहरू प्रदूषणको मुख्य कारण बनेको र यसले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको उल्लेख गर्दै उनले ती क्षेत्रलाई स्थानीय सीप र मौलिक उत्पादन प्रवर्द्धनमा उपयोग गर्नुपर्नेमा जोड दिए।

‘सहरी क्षेत्रका औद्योगिक क्षेत्रलाई स्थानीय सीप, मौलिक उत्पादन र सांस्कृतिक प्रवर्द्धनका लागि उपयोग गरिनुपर्छ,’ सांसद रञ्जितले भने, ‘यसलाई व्यवस्थापन, उत्पादन र बजारीकरण गर्दै विश्वव्यापीकरणमा लैजाने गरी हस्तकला ग्रामको रूपमा विकास गर्ने योजना बजेटमा समावेश गर्न आवश्यक छ ।’

सांसद रञ्जितले वर्तमान सरकार ‘जेनजी’ आन्दोलनको बलमा स्थापना भएको उल्लेख गर्दै बजेटले सोही पुस्ताको म्यान्डेट र जिम्मेवारीलाई आत्मसाथ गर्ने बताए ।

बजेटले नागरिकको आशा र भरोसालाई सम्बोधन गर्ने र यसले विधिको शासन तथा प्रविधिमैत्री सुशासनको लाभ नागरिकसम्म पुर्‍याउनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

सम्बोधनका क्रममा सांसद रञ्जितले मौलिक एवं जीवन्त संस्कृतिको संरक्षणमा सरकार गम्भीर हुनुपर्ने बताए । विशेषगरी भक्तपुरको नवदुर्गा देवगणको नाच, देवगण जात्रा र जीवित देवी कुमारी जस्ता धरोहरहरूको संरक्षणको जिम्मेवारी सरकारकै भएको उनले बताए ।

‘हाम्रा जीवित धरोहरहरूको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरी अक्षय कोष वा सञ्चालनका लागि समयसापेक्ष बजेटको व्यवस्था गर्न र स्रोत परिचालन गर्न म आग्रह गर्दछु,’ उनले भने ।

सांसद रञ्जितले यसपटकको बजेट विगतको जस्तो ३०-३५ प्रतिशत मात्र काम हुने प्रकृतिको नहुने विश्वास व्यक्त गरे
‘यो सरकारको पहिलो बजेट आधार बजेटको रूपमा रहेको छ, जसले समृद्ध नेपालको आधारशिला तयार गर्नेछ । मलाई विश्वास छ, अर्थमन्त्रीज्यू मार्फत नेपाल सरकारले यसपालि शतप्रतिशत कार्यान्वयन हुने गरी बजेट पेश गर्नुहुनेछ।’