पोखराको अमरसिंहचौरमा विहानै चल्यो डोजर, ५२ टहरा भत्काइए

98
Shares

पोखरा । पोखरा महानगरपालिका–१२ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा रहेका टहराहरू मंगलबार बिहान डोजर प्रयोग गरी हटाइएको छ ।

पृथ्वी राजमार्गसँग जोडिएको करिब ६ रोपनी क्षेत्रफलमा रहेका ५२ वटा टहराहरू सहरी सौन्दर्यीकरण अभियानअन्तर्गत हटाइएका हुन्।

विसं २०३५ सालदेखि सञ्चालनमा रहेका ती टहराहरू हटाउन विद्यालयले पटक-पटक आग्रह गर्दै आएको थियो । कतिपय व्यवसायीले आफैं टहरा हटाए पनि बाँकी संरचना महानगरले डोजर लगाएर हटाएको हो ।

पोखराको मुख्य प्रवेशद्वारमै रहेका यी संरचनाले सहरको कुरुपता बढाएको ठहर गर्दै यो कदम चालिएको हो । नगर प्रमुख धनराज आचार्यले यस अभियानमा सहयोग पुर्‍याएकोमा व्यवसायीहरूलाई धन्यवाद दिएका छन् । विद्यालय प्रशासन र व्यवसायीबिच भविष्यमा नयाँ भवन बनेमा पुरानै व्यवसायीलाई प्राथमिकता दिने अनौपचारिक सहमति भएको छ ।