
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले नै दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभामा बिहीवार भएको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले सरकार प्रमुखले आफ्नै नीति तथा कार्यक्रममाथिको बहस नसुन्नु संसदको मर्यादा र संसदीय परम्परा विपरित भएको बताए ।
प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूको धारणा प्रत्यक्ष नसुने पनि सांसदहरुले उठाएको प्रश्नको जवाफ भने दिनुपर्ने उनको भनाइ छ ।
यदी प्रधानमन्त्री उत्तर दिन पनि उपस्थित नभएमा श्रम संस्कृति पार्टीले संसद बहिस्कार गर्ने चेतावनी दिए । प्रधानमन्त्रीको अनुपस्थितिमाथि व्यंग्य गर्दै राईले आफ्नो बिहेमा अरूलाई बेहुला पठाएर नहुने बताए । ‘सामाजिक परम्परा छ नी, आफ्नो बिहेमा अरुलाई बेहुला पठाएर हुँदैन,’ उनले भने, ‘त्यसो भएको हुनाले उत्तर दिन उहाँ आफै आउनुपर्छ । अब यो काग कराईरहन्छ, पिनास सुकिरहन्छ भन्ने हिसावले हामी संसदलाई चलाउन सक्दैनौँ ।’
उनले देश विकास गर्न गफले मात्रै नहुने बताए । सरकार लगायत सबैले आफ्नो कर्तव्य पुरा गर्नुपर्नेमा उनको जोड दिए ।









प्रतिक्रिया