
काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ ।
आन्तरिक बजारमा चिनीको मूल्य नियन्त्रण गर्न तथा पर्याप्त मौज्दात सुनिश्चित गर्ने उद्देश्यसहित भारत सरकारले आगामी ३० सेप्टेम्बर २०२६ सम्मका लागि चिनी निर्यात रोक्ने निर्णय गरेको हो ।
भारतीय विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले जारी गरेको सूचनाअनुसार कच्चा चिनी, सेतो चिनी तथा प्रशोधित चिनीको निर्यात नीतिलाई ‘प्रतिबन्धित’ श्रेणीमा राखिएको छ ।
तर, विशेष कोटा व्यवस्थाअन्तर्गत युरोपियन युनियन र अमेरिकातर्फ हुने निर्यात भने जारी रहने बताइएको छ ।
भारतले यसअघि उत्पादन घरेलु मागभन्दा बढी हुने अनुमानका आधारमा करिब १५ लाख ९० हजार मेट्रिक टन चिनी निर्यातको अनुमति दिएको थियो । तर, प्रमुख उखु उत्पादन राज्यहरूमा उत्पादन घट्नुका साथै एल निनोको असरले मनसुन प्रभावित हुन सक्ने चिन्ताका कारण लगातार दोस्रो वर्ष उत्पादनमा कमी आउन सक्ने आकलन गरिएको छ।
भारतले निर्यात प्रक्रियामा रहेका केही चिनी खेपलाई भने छुट दिने जनाएको छ। सूचनाअघि नै लोडिङ सुरु भएका, भन्सार प्रक्रिया पूरा गरिसकेका वा बन्दरगाह पुगिसकेका चिनीका खेप निर्यात गर्न पाइनेछ।
भारतको यो निर्णयपछि अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढेको छ। न्यूयोर्कमा कच्चा चिनीको फ्युचर्स मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने लन्डनमा सेतो चिनीको मूल्य करिब ३ प्रतिशतले उकालो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विश्लेषकहरूका अनुसार भारतबाट आपूर्ति घटेपछि ब्राजिल र थाइल्याण्डजस्ता प्रतिस्पर्धी निर्यातकर्ताले एसियाली तथा अफ्रिकी बजारमा लाभ लिन सक्नेछन् ।
निर्यात प्रतिबन्धको घोषणापछि विदेशी खरिदकर्तासँग सम्झौता गरिसकेका व्यापारी तथा चिनी उद्योगहरू अन्योलमा परेका छन्। भारतीय चिनी कम्पनीहरूको सेयर मूल्यसमेत घटेको बताइएको छ ।
चिनीको निर्यातमा भारतले गरेको प्रतिवन्धको असर नेपालको बजारमा पनि देखा पर्नेछ । नेपालले अपुग हुँदै आएको करिब एक लाखदेखि डेढ लाख मेट्रिक टन चिनी भारतबाट निर्यात गर्दैआएको थियो ।









प्रतिक्रिया