प्रधानमन्त्रीलाई एमालेको प्रश्नः लोकतन्त्र छाडेर बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो ?

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले संसद र संविधानको अवमूल्यन गरेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा फरक अभ्यास गर्न खोजेको हो कि भन्ने प्रश्न उठेको बताए । उनले संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराए ।

वर्तमान सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा कुनै वैकल्पिक ‘तन्त्र’ विकास गर्न खोजेको हो ? उनको प्रश्न छ ।

प्रधानमन्त्रीले लोकतन्त्रभन्दा ‘बालेनतन्त्र’ विकास गर्न खोजेको उनको आरोप छ ।

‘संविधानले नेपालको शासकीय स्वरुप बहुलबादमा बहुदलिय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतान्त्रत्मक संसदीय शासनप्रणाली हुनेछ भनेको छ । यहाँ एउटा प्रश्न जबरजस्त उठिरहेको छ, अहिलेको सरकारले कुन चाँही शासन प्रणालीलाई अबलम्बन गरिरहेको छ ? संविधानमा व्यवस्था भएबमोजिमको शासन व्यवस्थालाई अवलम्बन गरिरहेको हो की अरु कुनै शासन प्रणाली, अरु कुनै तन्त्र विकास गरिरहेको हो ?,’ उनले भने, ‘बजारमा एउटा कुरा छ, प्रधानमन्त्रीले लोकतन्त्रलाई भन्दा पनि बालेनतन्त्रको विकास गर्न खोज्नुभएको हो की ? भन्ने आम जिज्ञासा बढिरहेको छ । यो किन भने उहाँले पटक पटक संसदलाई उपेक्षा गर्नुभएको छ । पटक पटक संसदको हुर्मत लिने, अपमान गर्ने काम गर्नुभएको छ ।’