
काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थित गराउनका लागि मिति र समय तोक्ने अधिकार आफूसँग नभएको स्पष्ट पारेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै अवरोध गरेपछि सभामुखले यस्तो स्पष्टीकरण दिएका हुन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीलाई अनिवार्य उपस्थित गराउन विपक्षी दलका सांसदहरूले रुलिङको माग गरेका थिए । जवाफमा सभामुख अर्यालले कुनै पनि सांसद वा प्रधानमन्त्रीको कार्यतालिका सोध्ने वा तोक्ने कानुनी आधार आफूसँग नभएको बताए ।
सभामुख अर्यालले भने, ‘माननीय सदस्यहरूले प्रधानमन्त्री आउने सुनिश्चितता खोज्नुभएको छ । तर, प्रधानमन्त्री मात्र होइन, कुनै पनि माननीय सदस्य भोलिको सदनमा आउन सक्नुहुन्छ वा सक्नुहुन्न भनेर आजै कार्यतालिका सोध्न सक्ने कुनै आधार र अधिकार मसँग छैन ।’
बैठकमा नेपाली कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएपछि दोस्रो बैठक समेत प्रभावित भएको थियो । विपक्षीको अवरोधका बीच सभामुख अर्यालले आजको बैठक सुचारु गर्न आग्रह गर्दै प्रधानमन्त्रीसँग संवाद गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘आजको सभा सकिएपछि म सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्नेछु,’ सभामुखले सदनलाई जानकारी गराउँदै भने, ‘जवाफ दिने क्रममा प्रधानमन्त्रीज्यूको अवस्था के छ र उहाँ आउन सक्नुहुन्छ कि हुन्न भन्ने विषयमा छलफल गरेर भोलि कार्यव्यवस्था परामर्श समितिको बैठकमा कुरा राख्नेछु ।’
सभामुखले छलफलका लागि समय माग गरे तापनि कांग्रेस सांसदहरूले अवरोध जारी राखेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री आफैँ उपस्थित भएर नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान राख्दै आएका छन् ।









प्रतिक्रिया