
काठमाडौं । गत शनिबार (मे ९ मा) रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नाजी जर्मनी विरुद्धको विजय दिवसको अवसरमा युक्रेन युद्ध अन्त्यको नजिक पुग्न लागेको संकेत गरेका छन् । यसले विभिन्न अड्कलबाजीको लहर ल्याएको छ ।
चार वर्षदेखि चलिरहेको क्रूर युद्ध अन्त्य हुन लागेको पुटिनको घोषणाले केही प्रश्नहरू खडा गरेको छ । के पुटिन यसपटक युद्धविरामप्रति साँच्चै गम्भीर छन् ? के यो घोषणा रुसलाई समस्यामा पार्दै लगेको आर्थिक संकटको परिणाम हो ?
आक्रमणको सुरुवाती महिनाहरूपछि पहिलोपटक क्रेमलिनले आफ्नो पकड गुमाउँदै गएको देखिन्छ । सन् २०२५ को अन्त्यमा युक्रेनी सेनाले कुपियान्स्क पुनः कब्जा गरेपछि र जापोरिजा क्षेत्रमा रुसी सेनाले बेहोर्नुपरेको ठूलो असफलताले पुटिनलाई रणनीतिक धक्का दिएको छ ।
इन्स्टिच्युट फर द स्टडी अफ वारका विश्लेषकहरूका अनुसार, अप्रिल २०२६ मा झण्डै दुई वर्षपछि पहिलोपटक रुसले आफ्नो कब्जामा रहेको भूभागको ठूलो हिस्सा गुमाएको छ । त्यसैले पुटिनले युद्ध अन्त्यको कुरा गर्दा न्यायपूर्ण शान्तिको परिकल्पना गरिरहेका छैनन् । बरु, उनले मन्द गतिको विजय अब पूर्ण रूपमा रोकिएको यथार्थलाई स्वीकार गरिरहेका छन् ।
भूराजनीतिक रणनीतिकार वेलिना चाकारोभाले हालै गरेका विश्लेषणहरूमा यस युद्धविरामको कुरालाई ‘शीतयुद्ध २.०’ को लेन्सबाट हेर्नुपर्ने तर्क गरेकी छन् । उनको विचारमा पुटिनले समाधान खोजिरहेको नभई ‘रणनीतिक विश्राम’ खोजिरहेका छन् ।
युद्ध अन्त्य गर्नु भन्दा पनि यसलाई रोकेर रुसलाई फेरि संगठित हुन, हतियार जम्मा गर्न र पश्चिमा मुलुकहरूको राजनीतिक धैर्य कहिले सकिन्छ भनेर पर्खन समय दिनु यसको उद्देश्य भएको चाकारोभाको भनाइ छ ।
पुटिन एकातिर युद्धबाट थाकेका रुसी जनतालाई सान्त्वना दिइरहेका छन् भने अर्कोतिर इरानसँगको संकटमा अल्झिएको अमेरिकी प्रशासनलाई युक्रेन युद्ध अन्त्यको एउटा आशा देखाइरहेका छन्
उनका अनुसार, यस समयमा युद्धविराम गर्नु पुटिनका लागि अमेरिकासँगको सम्बन्धमा रणनीतिक सुधार गर्ने एउटा माध्यम पनि हो । विशेषगरी, ट्रम्प प्रशासनले आफ्नो लेनदेनमुखी शैलीको कूटनीतिलाई तीव्रता दिइरहेको बेलामा आफूलाई लचिलो देखाएर पुटिनले वाशिङटन र उसका युरोपेली सहयोगीहरूबीच दरार पैदा गर्न खोजिरहेका छन् । हतारमा गरिने शान्ति सम्झौताले पछि गएर रुसलाई झन् शक्तिशाली र हिंसात्मक रूपमा फर्किने बाटो खोल्ने धेरै युरोपेली देशहरूलाई डर छ ।
पुटिनका मुख्य मागहरू परिवर्तन भएका छैनन् । रुसका विदेश मामिला सल्लाहकार युरी उसाकोभले उल्लेख गरेझैं, कुनै पनि ठोस वार्ताका लागि युक्रेनी सेनाले डोनबास क्षेत्र पूर्ण रूपमा खाली गर्नुपर्ने शर्त राखिएको छ । युक्रेनका लागि यो असम्भव शर्त हो ।
यसले के संकेत गर्छ भने युद्धविरामको कुरा कूटनीति भन्दा बढी घरेलु र अन्तर्राष्ट्रिय सन्देश प्रवाहका लागि हो । पुटिन एकातिर युद्धबाट थाकेका रुसी जनतालाई सान्त्वना दिइरहेका छन् भने अर्कोतिर इरानसँगको संकटमा अल्झिएको अमेरिकी प्रशासनलाई युक्रेन युद्ध अन्त्यको एउटा आशा देखाइरहेका छन् ।
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले किभ भ्रमणका क्रममा चेतावनी दिएझैं रुसको युद्ध क्षमताभित्र देखिन थालेको गम्भीर कमजोरीहरूबाट विश्वको ध्यान हटाउनु यसको उद्देश्य हुन सक्छ ।
रुसका कमजोरीहरूमध्ये सबैभन्दा गहिरो आर्थिक कमजोरी हो । वर्षौंसम्म रुसी अर्थतन्त्रले उच्च ऊर्जा मूल्य र युद्धकालीन अर्थतन्त्रको सहारामा आफूलाई टिकाइराखेको थियो । तर, सन् २०२६ को वसन्तसम्म आइपुग्दा यसका संरचनात्मक दरारहरू लुकाउन नसकिने भएका छन् ।
इरान युद्धका कारण रुसी तेलको बिक्री बढेर केही फाइदा भइरहेको छ तर कमजोर अर्थतन्त्रलाई त्यसले पूर्ण भरथेग गर्न सकेको छैन । त्यससँगै युक्रेनले बाल्टिक क्षेत्रको प्रिमोर्स्क र उस्त–लुगा भन्ने ठाउँमा रहेका रुसी तेल निर्यात टर्मिनलहरूमा हालै गरेका लामो दुरीका क्षेप्यास्त्र र ड्रोन आक्रमणहरूले निर्यातको परिमाणमा भारी कटौती गरिदिएका छन् ।
युक्रेनका अनुसार, अप्रिल महिनामा उसले बमवर्षा गरेका १४ वटा तेल प्रशोधन केन्द्र वा टर्मिनलहरूमध्ये यी दुई पनि पर्छन् । कार्नेगी फाउन्डेसनका सर्गेई वाकुलेन्कोका अनुसार, यसले गर्दा रुसी कच्चा तेलको दैनिक निर्यात ५२ लाख ब्यारलबाट घटेर ३५ लाख ब्यारलमा झरेको छ ।
रक्षा क्षेत्रमा पैसाको खोलो बगाइएको भए पनि देशका अन्य भागहरूमा महँगीले जनतालाई पीडा दिइरहेको छ । खाद्यान्नको मुद्रास्फीति संकटको स्तरमा पुगेको छ । आलु र मख्खन जस्ता आधारभूत वस्तुहरूको मूल्य केही क्षेत्रमा दोब्बर वा तेब्बरले बढेको छ ।
ब्याजदर महिनौंदेखि २० प्रतिशतको हाराहारीमा छ जसले निजी लगानी र कर्जामा आधारित वृद्धिदरलाई पूर्ण रूपमा समाप्त पारिदिएको छ ।
श्रम बजारले त झन् देशले कसरी आफ्नो भविष्य आफैं खाइरहेको छ भन्ने स्पष्ट पार्छ । रुसले अहिले झण्डै ५० लाख दक्ष कामदारको अभाव झेलिरहेको छ । यो ठूलो संख्यामा गरिएको सैन्य परिचालन, बौद्धिक वर्गको पलायन र युद्धमा मारिएकाहरूको प्रत्यक्ष परिणाम हो ।
त्यसो त युद्ध सुरु भएदेखि युक्रेनको स्थिति पनि नाजुक नै छ । उसको जनसंख्या ४ करोडभन्दा बढीबाट घटेर करिब २ करोड ५० लाखमा झरेको जेलेन्स्की प्रशासनमा रहेर विगतमा काम गरेकी युलिया मेन्डलले अमेरिकी पत्रकार टकर कार्लसनसँगको अन्तर्वार्तामा बताएकी छन् ।
उनका अनुसार, करिब १ करोड १० लाख सेवानिवृत्त व्यक्तिहरू मासिक जम्मा ७५–१०० डलरको पेन्सनमा गुजारा गरिरहेका छन् । अर्थात्, युक्रेनले पनि युद्धबाट ठूलो नोक्सानी उठाइरहेको छ र विशाल जनसंख्याका गुमाउनुका साथै अर्थतन्त्रमा ठूलो क्षति बेहोरेको छ । पर्याप्त जनशक्ति नहुँदा युद्ध लम्ब्याइरहन युक्रेनलाई मुश्किल पर्दै गएको छ ।
तर, रुसको पनि युद्ध अर्थतन्त्र अब आफ्नो अन्तिम सीमामा पुगेको छ । कुनै राज्यले आफ्नो बजेटको झण्डै आधा हिस्सा सेना र आन्तरिक सुरक्षामा खर्च गर्छ भने स्वास्थ्य र शिक्षालाई मात्र बेवास्ता गरिरहेको हुँदैन । उसले दीर्घकालीन युद्ध टिकाउन आवश्यक पर्ने औद्योगिक आधारलाई नै खोक्रो बनाइरहेको हुन्छ । यही ‘आर्थिक थकान’ नै पुटिनले ह्वाइट हाउसको मध्यस्थतामा युद्धविराम गर्न चाहेको मुख्य कारण हुनसक्छ ।
क्षेत्रीय बजेट तथ्यांकको विश्लेषणमा आधारित रही अर्थशास्त्री जेनिस क्लुजले बताएअनुसार, सन् २०२६ मा रुसी सेनामा भर्तीको स्तर घटेर दैनिक करिब ८०० देखि १ हजार (मासिक २४ हजारदेखि ३० हजार) मा झरेको छ । साथै, पुटिनलाई अनिवार्य भर्ती (मोबिलाइजेसन) गर्दा जन्मिने सामाजिक अशान्तिको राम्रै हेक्का छ ।
त्यसैले पुटिनलाई युद्धको मैदान र सरकारी ढुकुटी दुवैतर्फ भइरहेको रक्तस्राव रोक्न आवश्यक छ । नत्र उनले स्वीकार गरेझैं रुसको विकासको गति पूर्ण रूपमा ठप्प हुनेछ ।
वास्तवमा पुटिन यस्तो युद्धमा फसेका छन् जसलाई न रुसले जित्न सक्छ, न त युक्रेनले । यस अवस्थामा उनले मन्द गतिको विजयको साटो मन्द गतिको युद्धविराममा जोड दिएका हुन्
हालैको तीन दिने युद्धविराम विजय दिवस मनाउन र बन्दी साटासाट गर्नका लागि गरिएको थियो । त्यसले लामो समयको विश्राम कस्तो देखिन सक्छ भन्ने एउटा सानो झलक दियो । त्यो अत्यन्तै नाजुक सम्झौता थियो जुन प्राविधिक रूपमा मात्र लागू भयो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणहरू युद्धविरामकै बीचमा पनि जारी रहेको औंल्याए । रुसले पनि युक्रेनी पक्षबाट युद्धविरामका उल्लंघनहरू भएको बतायो । त्यसैले दुवै मुलुक युद्धविरामको मुडमा छैनन् ।
पुटिनले पूर्व जर्मन चान्सलर गेर्हार्ड श्रोडरलाई मध्यस्थकर्ताको रूपमा प्रस्ताव गरेका छन् । तर, यस प्रस्तावलाई ईयूले तुरुन्तै अस्वीकार गर्यो । श्रोडरले रुसका सरकारी तेल कम्पनीहरूमा काम गरी पुटिनको विश्वास जितेका थिए । उनको नाम लिएर पुटिनले अझै पनि पुरानै व्यापारिक सम्बन्धको बाटोबाट युद्ध अन्त्य गर्न खोजिरहेको संकेत दिएका छन् तर श्रोडरलाई युरोपेलीहरूले तटस्थ मध्यस्थकर्ता मानेका छैनन् ।
यस विश्लेषणमा ‘ट्रम्प फ्याक्टर’ लाई कम आँक्न मिल्दैन । बहालवाला अमेरिकी प्रशासनले विश्व मञ्चमा छिटो सफलता हासिल गर्न खोज्दा पुटिनका लागि एउटा अवसर सिर्जना भएको छ ।
क्रेमलिनले वाशिङटनलाई ‘जमिनको बदला शान्ति’ नै ठूलो युद्ध रोक्ने एक मात्र उपाय हो भनेर विश्वस्त पार्न सक्यो भने पुटिनले युद्धबाट जित्न नसकेको भूभाग वार्ताबाट प्राप्त गर्न सक्छन् ।
भेलिना चाकारोभाका अनुसार, यो एउटा ठूलो रणनीतिक संवादको हिस्सा हो जहाँ रुसलाई अमेरिका–चीन प्रतिस्पर्धामा एउटा गोटीको रूपमा प्रयोग गरिँदैछ । तर, यो व्यापारिक दृष्टिकोणले रुस–चीन साझेदारीको दीर्घकालीन महत्त्वाकांक्षालाई नजरअन्दाज गर्छ ।
युक्रेनमा रुसलाई ‘जित्न’ वा ‘सम्झौता गर्न’ दिइयो भने रुस लामो समयसम्म नेटोका लागि झन् ठूलो खतरा बनेर रहनेछ । नेटो खतरामा पर्नु वा नपर्नुले ट्रम्पलाई कुनै फरक पर्दैन तर युरोपेलीहरूका लागि यो अस्तित्वकै सवाल हो । युरोपेलीहरूले अन्ततोगत्वा युक्रेनलाई आफ्नो भूभाग गुमेको यथार्थ स्वीकार गर्नका लागि फकाउनुको विकल्प छैन किनकि युक्रेनले त्यो सबै भूभाग फिर्ता पाउने खासै सम्भावना छैन । त्यो कुरा जर्मनीका चान्सलर फ्रेडरिक मर्जले गत अप्रिलमै स्वीकार गर्दै शान्ति सम्झौता हुँदा युक्रेनसँग भूभाग नरहने भनिसकेका छन् ।
त्यसो त मैदानको सैन्य यथार्थले पनि पुटिनको युद्ध अन्त्यप्रतिको रुचिलाई स्पष्ट पार्छ । युद्ध पाँचौं वर्षमा प्रवेश गर्दै गर्दा युक्रेनले ड्रोन प्रविधि र रुसको ऊर्जा पूर्वाधारमा गरिरहेको लामो दूरीको प्रहारले मस्कोको संख्यात्मक र गोलाबारुदको फाइदालाई विस्तारै कमजोर बनाउँदै लगेको छ ।
पुटिन आफ्नो आर्थिक अस्तित्व बचाउन गम्भीर छन्, तर उनी युक्रेनलाई आफ्नो नियन्त्रणमा राख्न पनि उत्तिकै गम्भीर छन् । यो दुईवटा सत्यलाई नबुझी गरिने कुनै पनि शान्ति सम्झौता अर्को आक्रमणको तयारी मात्र हुनेछ
रुसी तेल प्रशोधन केन्द्र र हवाई अड्डाहरूमा भएका हमलाहरूले युद्धलाई रुसको सम्भ्रान्त वर्गको घरदैलोसम्म पुर्याइदिएको छ र त्यसलाई राजनीतिक रूपमा सम्हाल्न गाह्रो हुँदै गएको छ । पुटिन अहिले यस्तो बाटो खोजिरहेका छन् जसलाई उनी जीत जस्तो देखाउन चाहन्छन् किनकि सुस्त गतिको युद्धका लागि युक्रेन पनि समर्थ छ ।
त्यसोभए पुटिन युद्ध अन्त्य गर्नका लागि गम्भीर छन् ? आर्थिक कारणले गर्दा उनी गम्भीर दबाबमा रहेको स्पष्ट छ । उनको भनाइले स्थायी शान्तिको बाटो खोल्छ त ? त्यसमा चाहिँ शंका छ किनकि उनले राखेका मागहरू युक्रेनले मान्ने सम्भावना छैन ।
वास्तवमा पुटिन यस्तो युद्धमा फसेका छन् जसलाई न रुसले जित्न सक्छ, न त युक्रेनले । यस अवस्थामा उनले मन्द गतिको विजयको साटो मन्द गतिको युद्धविराममा जोड दिएका हुन् ।
पुटिनले अहिले शान्तिको भाषा प्रयोग गरेर समय किन्न खोजिरहेको देखिन्छ । उनी पश्चिमा देशहरूको एकता कहिले टुट्छ, अमेरिकाको ध्यान कहिले प्रशान्त क्षेत्रतिर केन्द्रित हुन्छ र रुसले नियन्त्रणमा लिएको भूभागलाई पश्चिमले कहिले बाध्य भएर मान्यता दिन्छ भनेर पर्खिरहेका छन् ।
आर्थिक संकट र नयाँ भर्ती हुने सैनिकहरूको अभावले पुटिनलाई आफ्नो बोली बदल्न बाध्य पारेको भए पनि उनको मूल लक्ष्य अझै पनि परिवर्तन भएको छैन । हालको युद्धविरामको चर्चा आवश्यकताको उपज हो, विचारधाराको परिवर्तन होइन ।
पुटिन आफ्नो आर्थिक अस्तित्व बचाउन गम्भीर छन्, तर उनी युक्रेनलाई आफ्नो नियन्त्रणमा राख्न पनि उत्तिकै गम्भीर छन् । यो दुईवटा सत्यलाई नबुझी गरिने कुनै पनि शान्ति सम्झौता अर्को आक्रमणको तयारी मात्र हुनेछ ।





प्रतिक्रिया