ख्वप विश्वविद्यालय र वीर अस्पताल तत्काल बनाउन सांसद रञ्जितको माग

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रुकेश रञ्जितले भक्तपुरको पूर्वी क्षेत्रमा व्याप्त प्रदूषण नियन्त्रणका लागि मापदण्ड विपरीतका इँटा भट्टाहरू तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रञ्जितले भक्तपुरको वातावरणीय अवस्था र विकासका एजेन्डाहरूबारे सम्बन्धित मन्त्रालयहरूको ध्यानाकर्षण गराए ।

भक्तपुरको पूर्वी भेगमा अत्यधिक वायु प्रदूषण बढेको उल्लेख गर्दै उनले यसको मुख्य कारण अव्यवस्थित इँटा भट्टाहरू रहेको बताए ।

‘ती उद्योगहरूको नियमन गर्न र मापदण्ड विपरीत सञ्चालनमा रहेका इँटा भट्टाहरूलाई तुरुन्त र तत्काल बन्द गर्न म उद्योग र वातावरण मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद रञ्जितले भने ।

सांसद रञ्जितले भक्तपुरवासीको लामो समयदेखिको चाहनाका रूपमा रहेको ख्वप विश्वविद्यालयको स्थापना र सञ्चालनका लागि शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराए । साथै, भक्तपुरमा वीर अस्पतालको निर्माण प्रक्रिया अघि बढाउन उनले स्वास्थ्य मन्त्रालयसँग माग गरे ।

उनले यस वर्षको माध्यमिक शिक्षा परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गरेकोमा उनले सरकारको प्रशंसा गरे ।