राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिँडेको घटनामा कांग्रेसले माग्यो प्रधानमन्त्री बालेनको जवाफ

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठकबाट बाहिरिएको घटनामा प्रधानमन्त्री बालेन शाहको जवाफ माग गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट बोल्दै कांग्रेस सांसद वासना थापाले प्रधानमन्त्रीको जवाफ माग गरेकी हुन्।

प्रधानमन्त्री साहले संवैधानिक संस्कार, संसदीय परम्परा विपरित गैरजिम्मेवार ढंगले राष्ट्रपति जस्तो गरिमामय पदको समेत अपमान हुनेगरी बैठक कक्षबाट बाहिरिएको घटना लोकतान्त्रिक संसदीय इतिहासमा नै विरलै घटने घटनाको रुपमा चित्रण गर्दै तत्सम्बन्धिमा तत्काल संसदमा जवाफ दिन माग गरिन् ।

‘लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो देखियो । राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू संसद्बाट बाहिरिनु यो केवल सामान्य दृश्य होइन,’ उनले भनिन् ।

संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायीत्व र सरकारको गम्भीरता हुनुपर्ने कुरा आफ्नो पार्टीलाई लागेको उनले सुनाइन् ।

‘यस विषयमा स्पष्ट जवाफ दिइयोस् । यस्ता घटनाको पुनरावृत्ति नहोस् । लोकतन्त्रमा पदभन्दा ठूलो कुरा मर्यादा र मर्यादाभन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जओस्,’ उनले भनिन्, ‘प्रतिपक्षी दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफको माग गर्दछु ।’