म संसदमा निदाएको होइन म्यासेज हेर्दै थिएँ: अर्थमन्त्री

168
Shares

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा आफू निदाएको भन्दै सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्यसको खण्डन गरेका छन् ।

मंगलबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले आफू निदाएको नभई मोबाइलमा आएका अर्जेन्ट म्यासेज हेरिरहेको दाबी गरे ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा मन्त्री वाग्ले टाउको निहुराएर बसिरहेको दृश्य सार्वजनिक भएपछि उनी निदाएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना र चर्चा भएको थियो ।

उक्त विषयमा स्पष्टीकरण दिँदै मन्त्री वाग्लेले भने, ‘अर्थमन्त्री निदायो भनेर एकदम भाइरल भएको छ । तर जे देखिन्छ, सधैँ त्यही यथार्थ नहुन पनि सक्छ भन्ने चेत यहाँहरूले पनि राखिदिनुहोला ।’

उनले राष्ट्रपतिको सम्मानका लागि फोन उठाएर हेर्नु शोभनीय नहुने भएकाले टेबुलमुनि फोन राखेर म्यासेज हेरेको बताए । ‘राष्ट्रपतिको अगाडि फोन उठाएर हेर्न शोभनीय नहुने भएकाले मैले यसरी टेबुलमुनि फोन राखेर म्यासेजहरू हेरिरहेको थिएँ,’ उनले थपे, ‘अर्थमन्त्री निदायो भनेर दशौँ लाखलाई आज रमिता भएको छ । त्यसैले जे देखिन्छ त्यो सही नहुन सक्छ, एकदम गम्भीर र दूरगामी निष्कर्षमा पुगिहाल्नुहोला ।’

संसदीय समितिको बैठकमा आफैँले प्रसङ्ग निकालेर मन्त्री वाग्लेले सामाजिक सञ्जालमा भइरहेको चर्चाप्रति असन्तुष्टि जनाउँदै वास्तविकता नबुझी टिप्पणी नगर्न आग्रह गरेका छन् ।