श्रममन्त्रीको सचिवालयमा कार्यरत मियाँ अपहरण मुद्दामा पक्राउ

140
Shares

सप्तरी । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवका सचिवालयमा कार्यरत मुस्तकिम मियाँ (आलम) अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारको गम्भीर आरोपमा पक्राउ परेका छन् ।

सप्तरीको महादेवा गाउँपालिका–१ स्थायी घर भई हाल राजविराज नगरपालिका–३ मा बस्दै आएका २७ वर्षीय मियाँलाई सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीले राजविराजबाट नियन्त्रणमा लिएको हो । उनी मन्त्री यादवको सचिवालयमा हलुका सवारी चालकको रूपमा कार्यरत थिए ।

के हो घटना ?

प्रहरीका अनुसार मियाँसहितको समूहले २०८२ फागुन १४ गते बिहान ८ बजे राजविराज नगरपालिका–३ हनुमान चोकबाट राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएका थिए । बा ९९ प ५७७५ नम्बरको मोटरसाइकलमा आएका मियाँ र अन्य तीन जनाले बन्दुक देखाएर चौधरीलाई अपहरण गरी राजविराज–८ स्थित हिमालय राइस मिल पछाडिको एकान्त स्थानमा पुर्‍याएका थिए ।

पीडितको जाहेरीअनुसार उक्त समूहले चौधरीलाई निर्घात कुटपिट गर्नुका साथै भुइँमा थुकेर चाट्न लगाउने जस्तो अमानवीय व्यवहार गरेका थिए । साथै, उनीहरूले चौधरीलाई नग्न बनाएर भिडियो खिचेको र साथमा रहेको २ तोला सुनको सिक्री, १ लाख ३० हजार रुपैयाँ नगद र मोबाइल समेत लुटेर फरार भएको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए । मियाँलाई सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । सप्तरी प्रहरीका अनुसार उनीविरुद्ध अपहरण वा शरीर बन्धक र अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।

मियाँलाई मन्त्री यादवले २०८२ चैत २७ गते आफ्नो सचिवालयमा नियुक्त गरेकी थिइन् । यसअघि नै दुईवटा अन्य मुद्दामा फरार सूचीमा रहेकै अवस्थामा उनलाई मन्त्रीले सचिवालयमा राखेकी थिइन् ।

उनीमाथि विद्युतीय अपराध (साइबर क्राइम) र अर्का एक युवकलाई नाङ्गै बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले खोजी गरिरहेको थियो। यस्तो आपराधिक पृष्ठभूमि भएका व्यक्तिलाई मन्त्रीको सचिवालयमा नियुक्ति दिएको विषयले समेत चर्चा पाएको छ।

प्रहरीले घटनामा संलग्न अन्य तीन जना फरार रहेको र उनीहरूको तीव्र खोजी भइरहेको जनाएको छ ।