
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) माथि देखिएका विभिन्न अनियमितताका उजुरी र छानबिनका क्रममा आवश्यक सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले कडा कदम चालेको छ ।
मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत क्यानलाई अन्तिम पटक चेतावनीयुक्त स्पष्टीकरण सोध्दै चित्तबुझ्दो जवाफ नआए निलम्बनसम्मको कारबाही गर्ने संकेत दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०८१ मंसिर र फागुनमा दर्ता भएका उजुरीहरूका सम्बन्धमा मन्त्रालयले सचिव र मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको थियो । तर, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को खण्ड (च) र (ङ) बमोजिम संस्थाको स्रेस्ता र अभिलेख जाँचबुझ गर्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि क्यानले ती विवरणहरू उपलब्ध नगराएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा जारी पत्र अनुसार, अख्तियारको पत्र बमोजिम सोधिएका प्रश्नको जवाफ र आवश्यक कागजातहरू उपलब्ध नगराउँदा फाइल अनिर्णित अवस्थामा रहेको र छानबिन प्रक्रियामा अवरोध पुगेको देखिएको छ । यसरी कानुनी प्रावधानको पालना नगरेको भन्दै खेलकुद विकास ऐनको दफा २९ बमोजिम क्यानलाई किन कारबाही वा निलम्बन नगर्ने भनी अन्तिम मौका स्वरूप स्पष्टीकरण माग गरिएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट अगाडि बढाइएको यो प्रक्रियाले नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यानलाई दबाबमा पारेको छ । यदि क्यानले मन्त्रालयले मागेको विवरण र स्पष्टीकरण समयमै बुझाउन नसकेमा ऐनको प्रावधान अनुसार संघ नै निलम्बनमा पर्न सक्ने जोखिम बढेको छ ।









प्रतिक्रिया