
काठमाडौं। विश्व ट्रेड युनियन महासंघ (डब्लुएफटीयु) ले कर्मचारीहरूको ट्रेड युनियनको अधिकार कटौती र संस्था खारेजप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघका महासचिव पाम्बिस किरित्सिसले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै ध्यानाकर्षण पत्र पठाएका छन् ।
किरित्सिसले पठाएको पत्रमा, आगामी कानुनमार्फत सार्वजनिक क्षेत्रका कर्मचारीहरूको ट्रेड युनियन अधिकार खारेज गर्ने वा सीमित गर्ने प्रयास भइरहेको सूचनाप्रति महासंघले चिन्ता व्यक्त गरेको उल्लेख छ।
महासंघले संगठित हुने, ट्रेड युनियनमा आबद्ध हुने र सामूहिक सौदाबाजी गर्न पाउने अधिकार श्रमिकहरूको मौलिक सिद्धान्त भएको र यसलाई पूर्ण रूपमा सम्मान गरिनुपर्ने कुरामा जोड दिएको छ ।
पत्रमा भनिएको छ, ‘यी अधिकारहरूलाई कुण्ठित गर्ने कुनै पनि प्रयासले श्रमिकहरूको स्वतन्त्रताको प्रत्यक्ष उल्लंघन गर्नेछ र स्थापित श्रम सम्बन्धलाई कमजोर बनाउनेछ।’
संस्थाले निजामती कर्मचारी, शिक्षक र सार्वजनिक संस्थाका कामदार लगायत सबै सार्वजनिक क्षेत्रका कर्मचारीहरूको ट्रेड युनियन अधिकारको पूर्ण संरक्षण र सम्मान गर्न माग गरेको छ। श्रमिकहरूलाई असर गर्ने कुनै पनि नीति तर्जुमा गर्दा ट्रेड युनियनहरूसँग वास्तविक संवाद र सहमतिका आधारमा गरिनुपर्ने महासंघको अडान छ।
महासंघले नेपालका श्रमिक वर्ग र त्यहाँका सम्बद्ध संस्थाहरूले आफ्नो अधिकार रक्षाका लागि गरिरहेको संघर्षमा ऐक्यबद्धता प्रकट गरेको छ। मौलिक स्वतन्त्रताको रक्षाका लागि भइरहेको आन्दोलनमा आफूहरूको पूर्ण साथ रहने महासंघले स्पष्ट पारेको छ।
ग्रिसको एथेन्समा मुख्यालय रहेको यो अन्तर्राष्ट्रिय संगठनले नेपाल सरकारलाई लोकतान्त्रिक मूल्य र मान्यता अनुसार श्रमिकका हकहितको रक्षा गर्न आग्रह गरेको छ। यो संस्था विश्वभरका १३४ देशका ११ करोडभन्दा बढी श्रमिकहरूको प्रतिनिधित्व गर्ने महासंघ हो ।










प्रतिक्रिया