स्मार्ट टेलिकमको सर्वेश जोशी पक्राउ

2.1k
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले समयमा नै नवीकरण गर्न नसकेको कारण इजाजतपत्र (लाइसेन्स)खारेजी गरिदिएको स्मार्ट टेलिकमको सर्वेश जोशी पक्राउ परेका छन । नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहेको स्मार्ट टेलिकम प्रालिको सम्पत्ति हिनामिना गरेको र सरकारलाई नोक्सानी पुर्‍याएको आरोपमा जोशी पक्राउ परेका हुन।

ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।

उनका अनुसार काठमाडौं महानगरपालिका वडा नं. २, खुर्सानीटार बस्ने ४५ वर्षीय जोशीलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सोमबार नियन्त्रणमा लिइएको हो ।

स्मार्ट टेलिकम प्रालिले २०७० वैशाख २ गते दूरसञ्चार सेवा सञ्चालनका लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो। तर, नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो।

अनुमतिपत्र रद्द भएपछि ‘दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९’ को नियम १८ अनुसार स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना, प्रणाली र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो।

प्राधिकरणले नियन्त्रणमा लिएको उक्त सम्पत्तिमाथि बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यले कार्य गरेको जोशीमाथि आरोप छ। सरकारी सम्पत्ति हिनामिना गरी ठगी र आपराधिक विश्वासघात गरेको देखिएकाले उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले उल्लेख गरेको छ। हाल जोशीलाई हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको पनिसीआईबीले जानकारी दिएको छ ।